रेनकोट वर्षात्को कवच
असार २२, काठमाडौं (अस)। वर्षको शुरू भएदेखि काठमाडौंका सडकपेटीमा रेनकोट विक्रीका लागि राख्नेको सङ्ख्या बाक्लो देखिन थालेको छ । मौसमी व्यापार गर्ने फुटपाथका व्यापारीहरू अहिले रेनकोट तथा छाताको विक्रीमा व्यस्त छन् । त्यस्तै, विभिन्न शोरूम तथा पसलमा पनि रेनकोट खरीद गर्ने मानिसहरूको सङ्ख्या बढेको छ । 'रेनकोट विक्री हुने सिजन भनेकै वर्षायाम हो,' भद्रकाली स्पोर्ट्सका सञ्चालक बीके सापकोटाले भने । अहिले विशेषगरी मोटरसाइकल चालक र विद्यार्थीहरूले रेनकोट खरीद गर्ने उनले बताए ।भद्रकाली स्पोर्ट्समा अहिले दैनिक २५ देखि ३० ओटासम्म रेनकोट विक्री हुन्छ । यहाँ जापान, चीन ताइवानलगायत देशबाट रेनकोटको कपडा आयात गरिन्छ । यसरी ल्याइएका कपडाबाट विभिन्न साइजका रेनकोट तयार पारिन्छ । यहाँ विभिन्न रङमा सिङ्गल हेड, डबल हेड, टुपिसलगायत रेनकोटहरू उपलब्ध छन् । यस्ता रेनकोट ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा खरीद गर्न सकिने सञ्चालक सापकोटाले बताए ।
वर्षत्मा मोटरसाइकल चालकहरूका लागि रेनकोट अनिवार्य सुरक्षाकवचका रूपमा विकसित हुन थालेको छ । 'गतवर्ष४ लाख रुपैयाँबराबरको रेनकोट विक्री भएको थियो,' खिचापोखरी स्थित सीटी रेडिमेटका विक्रेता राम न्यौपानेले भने, 'यस वर्ष६ लाख रुपैयाँबराबरको रेनकोट विक्री गर्ने लक्ष्य राखेका छौं ।' मोटरसाइकल प्रयोयगकर्ताहरूको सङ्ख्या बढेकाले पनि रेनकोटको व्यवसायमा वृद्धि भएको उनको विचार छ । सीटी रेडिमेटमा चीनबाट आयातित विभिन्न डिजाइनका रेनकोट उपलब्ध छन् । यहाँबाट दैनिक १२ देखि १५ ओटा रेनकोट विक्री हुने गरेको छ । यस्ता रेनकोटको मूल्य ६ सयदेखि २ हजार ५० रुपैयाँसम्म पर्ने उनले बताए । सीटीबाट टुपिस तथा टु हेड रेनकोटको व्यापार बढी हुने गरेको छ ।
भद्रकाली स्थित पाठक रेडिमेड सेण्टरका सञ्चालक राजु पाठक यो वर्षरेनकोट व्यवसाय उत्साहजनक रहेको बताउँछन् । यहाँ ३ सय ५० देखि ७ सय रुपैयाँसम्मका रेनकोट उपलब्ध छ । पाठकका अनुसार यो वर्षयहाँ दैनिक १० ओटा रेनकोट विक्री हुने गरेको छ । त्यस्तै, खिचापोखरी स्थित सापकोटा शपिङ सेण्टरमा चीन, कोरिया तथा नेपालमा बनेका रेनकोट उपलब्ध छन् । सापकोटा शपिङका विक्रेता शिव न्यौपाने नेपालमा बन्ने रेनकोट महँगो हुने हुदाँ आयातित रेनकोटको विक्री बढी हुने गरेको बताउँछन् । सापकोटा शपिङ सेण्टरमा उपलब्ध यस्ता रेनकोट ४ सयदेखि २ हजार ६ सय रुपैयाँसम्ममा खरीद गर्न सकिन्छ । मोटरसाइकलको बढ्दो चापसँगै रेनकोटको प्रयोगमा वृद्धि भएको सेण्टरले जानकारी दिएको छ । यहाँबाट दैनिक करीब १२ ओटासम्म रेनकोट विक्री हुने गरेको छ ।
रोयल्टीबारे अन्तरक्रिया
असार २२, काठमाडौं (अस) । नेपाल रोयल्टी सङ्कलन समाजले सङ्गीत क्षेत्रको रोयल्टीबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । बुधवार राजधानीमा सम्पन्न कार्यक्रममा सङ्गीत क्षेत्रको प्रतिलिपि अधिकार, रोयल्टी सङ्कलन र विद्युतीय सञ्चारमाध्यमको भूमिकाबारे चर्चा भएको थियो । कार्यक्रममा सङ्गीत क्षेत्रका स्रष्टाहरू र काठमाडौं उपत्यकाका रेडियोका प्रतिनिधिहरू सहभागी भएका थिए ।कार्यक्रममा वरिष्ठ गीतकार कालीप्रसाद रिजालले नेपालमा सङ्गीत क्षेत्रमात्र प्रतिलिपि र रोयल्टीका समस्याबाट आक्रान्त नरहेको बताए । 'प्रतिलिपिको उल्लङ्घन र रोयल्टीको समस्या सङ्गीत क्षेत्रसँगै सञ्चार, साहित्यलगायत क्षेत्रमा पनि उत्तिकै छन् । त्यसैले सबैको सहकार्यबाट मात्र यी समस्या हल गर्न सकिन्छ,’ रिजालले भने । नेपालमा यी कुरा भर्खरै उठिरहेकाले पनि यी मुद्दाको व्यवस्थापनमा विस्तारै कार्य भइरहेको र सबै पक्षले आफ्नो जिम्मेवारी बोध गरे समस्या समाधानमा ठूलो चुनौती नहुने रिजालले बताए ।
समाजले नेपालमा सङ्गीतको व्यापक प्रयोग भइरहेको तर, स्रष्टाहरूले कुनै प्रकारको नैतिक, आर्थिक अधिकार उपयोग गर्न नपाइरहेको स्थितिमा कार्यक्रम आयोजना गरेको जानकारी दियो । प्रतिलिपि अधिकारले व्यवस्था गरेको र अन्तरराष्ट्रिय प्रचलनमा रहेका अधिकारसमेत उपयोग गर्न नपाएको र सोको व्यवस्था गर्न/गराउन, रोयल्टी सङ्कलन र वितरण व्यवस्थाका लागि पूर्वाधार तयार पार्न तथा व्यावहारिक सहमति जुटाउन पनि अन्तरक्रिया आयोजना गरिएको समाजले बताएको छ । कार्यक्रममा रेडियो र टेलिभिजनको पनि प्रतिलिपि अधिकारको व्याख्या गरिएको थियो । स्रष्टा र सञ्चारमाध्यमको सम्बन्ध सुमधुर बनाएर अधिकारका लागि कार्य गर्नुपर्ने चर्चा गर्दै कार्यक्रममा रोयल्टी रकम वितरण स्पष्ट र पारदर्शी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
कैलालीको मनहरा गाउँ वैकल्पिक ऊर्जाक्षेत्र
असार २२, अत्तरिया । कैलालीको गेटा-३ मनहरा गाउँलाई वैकल्पिक ऊर्जाक्षेत्र घोषणा गरिएको छ । गाउँमा रहेका ४५ घरधुरीमध्ये ३८ घरमा वायोग्यास जडान भएपछि ऐर्श्वर्य महिला सामुदायिक वन उपभोक्ता समूहले गाउँलाई वैकल्पिक ऊर्जाक्षेत्र घोषणा गरेको हो । सो गाउँका ३८ घरधुरीमा डब्ल्यूटीएलसीपी ताल कार्यक्रमको सहयोगमा वायोग्यास जडान गरिएको हो । सामुदायिक वन समन्वय समिति मोहना कैलालीका अध्यक्ष राजबहादुर ऐरले भने, 'वायोग्यास जडानसँगै गाउँ प्रदूषणरहित भएको र वन संरक्षणमा समेत टेवा पुगेको छ ।’घरमा वायोग्यास जडानपछि धँुवाको बीचमा रही खाना पकाउने झन्झटबाट उनीहरू मुक्त भएका छन् । घरमा वायोग्यास जडानसँगै अधिकांश गाउँलेले घरमा भैंसीसमेत पालेका छन् । भैंसीबाट एकातिर वायोग्यासका लागि चाहिने गोबर प्राप्त गरेका छन् भने अर्कोतर्फ दूध बेचेर राम्रो आम्दानी गर्न थालेको स्थानीयको भनाइ छ । ४५ घरधुरीमध्ये बाँकी रहेका घरमा तत्काल गोबरग्यास जडान गरिने कार्यक्रम छ । रासस
आईक्यानको एकदिने कार्यशाला
असार २२, काठमाडौं (अस) । नेपाल चाटड एकाउण्टेन्स सङ्घ (आईक्यान)ले गत शनिवार एकदिने कार्यशालाको आयोजना गर्यो । ८९ औं अन्तरराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित सो कार्यशाला 'सहकारीको अवधारणा, लेखा प्रणाली तथा लेखापरीक्षण' विषयकमा केन्द्रीत भएको सङ्घका महासचिव परमानन्द अधिकारीले बताए । सङ्घका अध्यक्ष पराक्रम शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यशालामा सहकारी विभागका रजिष्ट्रार सुदर्शनप्रसाद ढकालले सहकारीको अवधारणाका सम्बन्धमा प्रकाश पारेका थिए । सोही विभागका उपरजिष्ट्रार गोपीकृष्ण निरौलाले 'सहकारीको सैद्धान्तिक अवधारणा' र सहकारी प्रशिक्षण केन्द्रका निमित्त प्राचार्य नारायणप्रसाद ज्ञवालीले 'सहकारीको लेखाप्रणाली र ऐन नियमहरू' विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै, उक्त अवसरमा सङ्घका पूर्व अध्यक्ष कुमार सिंहले 'सहकारीको लेखा परीक्षण' विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
साना किसानको दशौं वार्षिकोत्सव सम्पन्न
साना किसान विकास बैङ्क लिमिटेडको दशौं वार्षिकोत्सव तथा पुस्तक विमोचन समारोह सम्पन्न भएको छ । बुधवार सम्पन्न उक्त समारोहको उद्घाटन उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले गरे । उक्त अवसरमा अर्थमन्त्रीले 'लघुवित्त र साना किसान' पुस्तकको विमोचनसमेत गरे । कार्यक्रममा दुई साना किसानहरूले आफ्नो सफलताको कथा प्रस्तुत गरेका थिए । समारोहमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले बैङ्कको गतिविधिबारे प्रकाश पारेका थिए ।
होण्डाको टि्वष्टर सेलिब्रेटिङ
होण्डा ब्राण्डको सीबी टि्वष्टर मोटरसाइकलले यस वर्ष भारतमा आयोजित विभिन्न अटो अवार्डस कार्यक्रममा अवार्ड जित्न सफल भएको छ । अवार्ड जितेको उपलक्ष्यमा नेपालका लागि होण्डको आधिकारिक विक्रेता स्याकार कम्पनीले 'सेलिब्रेटिङ टि्वष्टर' अफर ल्याएको छ । यस योजनाअन्तर्गत उक्त बाइकको खरीदमा ७ हजार रुपैयाँ छूटको व्यवस्था गरिएको कम्पनीले बताएको छ । उक्त मोटरसाइकलले 'एनडीटीभी कार एण्ड बाइक अवार्ड २०११', 'ब्लूर्म्बर्ग अटोकार अवार्ड २०११' लगायत अवार्ड जित्न सफल भएको विक्रेता कम्पनीले जानकारी दिएको छ । त्यस्तै, 'बाइक इण्डिया अवार्ड २०११' मा उक्त बाइकले 'बाइक अफ द इअर'को अवार्ड हात पारेको उसले बताएको छ । उक्त सीबी टि्वष्टर मोटरसाइकल आकर्षक, बलियो, सुरक्षित तथा उचित मूल्यमा प्राप्त गर्न सकिने कम्पनीले दाबी गरेको छ ।
इजरायल राजदूतावासको पत्रकार सम्मेलन
अफ्ना विविध कार्यक्रम तथा गतिविधिका बारेमा जानकारी दिन इजाराय राजदूतावासले बुधवार एक पत्रकार सम्मेलनको अयोजना गर्यो । उक्त कार्यक्रममा इजरायलले नेपालमा गरेका विभिन्न कार्यक्रम तथा आयोजनाहरूको बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा राजदूतावास परिसरमा भेजिटेबल फार्मिङ गार्डेनको निर्माण गरिएको, धादिङमा प्रदर्शन कृषि फार्मको सञ्चालन गरिएकोलगायत जानकारी दिइएको थियो । उक्त अवसरमा कार्यबाहक इजरायली राजदूत एडम लेभेनेले आगामी वर्षपनि नेपालमा विभिन्न आर्थिक तथा सामाजिक कार्य गर्ने जानकारी दिए ।
दमौलीमा यामाहाको टेष्ट राइड
नेपालका लागि यामाहाको आधिकारिक विक्रेता मोरङ अटो वर्क्सले दमौलीमा 'यामाहा टेष्ट राइड' कार्यक्रम आयोजना गर्यो । बुधवार आयोजित कार्यक्रममा ५० जनाले यामाहाका मोटरसाइकलको टेष्ट राइड गरेको दमौलीस्थित मोर्डन मोटरसाइकल अटो वर्क्सका सञ्चालक वसन्त गिरिले बताए । कम्पनीले हालै बजारमा ल्याएको 'एसजेडआर' र 'एसजेडएक्स' मोडलको मोटरसाइकलको बजार प्रवर्द्धन तथा ग्राहकका गुनासो बुझ्नका लागि कार्यक्रम गरिएको यामाहाको गण्डकी अञ्चलस्थित डिलर विश्वकर्मा अटो वर्क्स पोखराका सेल्स म्यानेजर राजकुमार प्रधानले बताए । यसअघि छिमेकी जिल्ला गोरखा र लमजुङमा समेत यस्तो कार्यक्रम सम्पन्न भैसकेको छ । कार्यक्रममा सहभागी अधिकांश ग्राहकले दुवै मोडलको मोटरसाइकल रुचाएको प्रधानले बताए ।
कृति अवार्ड प्रायोजन गर्दै एस ट्राभल
नेपाल विज्ञापन सङ्घले आयोजना गर्दै आएको कृति अवार्डको सातौं संस्करणको मनोनयन यही असार २४देखि शुरू हुने भएको छ । निकट भविष्यमै सञ्चालन गरिने सातौं संस्करणको अवार्डलाई एस ट्राभल डट कमले प्रायोजन गर्ने भएको छ । उक्त अवार्डमा विभिन्न २४ विधालाई पुरस्कृत गरिनेछ । विज्ञापनको अङ्गका रूपमा रहेका कलाकारलाई सम्मान गर्ने उद्देश्यले यसपाली 'बेष्ट टीभीसी मेल मोडल' तथा 'बेष्ट टीभीसी फिमेल मोडल' विधा पनि थप गरिएको सङ्घले बताएको छ । यादव खरेलको संयोजकत्वमा बनेको पाँच सदस्यीय स्वतन्त्र समतिले अवार्डका लागि पाँच उत्कृष्ट र विजयी सृजनाको छनौट गर्ने बताइएको छ ।
सिभिलको शाखा धादिङबेँशीमा
सिभिल बैङ्क लिमिटेडले धादिङको धादिङबेँशीमा शाखा स्थापना गरेको छ । बुधवार आयोजित एक समारोहबीच बैङ्कका अध्यक्ष इच्छाराज तामाङले उक्त शाखाको उद्घाटन गरे । काठमाडौं उपत्यकाबाहिर बैङ्कको यो दोस्रो शाखा हो । यसअघि बैङ्कले सिन्धुपाल्चोकको बाह्रबीसेमा शाखा स्थापना गरेको थियो ।बैङ्कले उक्त शाखाबाट विशेषगरी कृषि क्षेत्रमा लगानी गर्ने बताएको छ । त्यस्तै, त्यस क्षेत्रको सम्भावित जलविद्युत् आयोजनाका लागि पनि बैङ्कले विशेष सुविधा पुर्याउने सिभिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । त्यस्तै, साना तथा मझौला उद्योग, कृषि तथा पशुपालनलगायत क्षेत्रमा पनि शाखाले अत्याधुनिक बैङ्किङ सेवा प्रदान गर्ने उनले बताए । बैङ्कले हालै 'सिभिल बैङ्क आमाबुबा मुद्दती खाता' र 'सिभिल बैङ्क बोनाञ्जा मुद्दती खाता' गरी दुई नयाँ मुद्दती योजना ल्याएको छ ।
एनटीसीको बिल भुक्तानी किष्टबाट
किष्ट बैङ्कबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको मोबाइल बिल भुक्तानी गर्न सकिने भएको छ । बैङ्क र कम्पनीबीच आइतवार भएको सम्झौताअनुसार यस्तो सुविधाको व्यवस्था गरिएको हो । उक्त सम्झौताअनुसार किष्ट बैङ्कका सम्पूर्ण शाखा तथा बैङ्किङ सेवा स्थानमार्फत एनटीसीको मोबाइल, पीएसटीएन तथा एडीएसएलको बिल भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौतामा बैङ्कका नायव महाप्रबन्धक बालनसिंह र्घर्ती र टेलिकमका तर्फबाट सूचना प्रविधि निर्देशक शिवभूषण लालले हस्ताक्षर गरे ।
पर्यावरणमा सहयोग
यसैबीच किष्ट बैङ्कले आगामी साउन १५ गतेदेखि विश्व साइकल यात्रामा निस्कन लागेका मनोक्रान्ति अभियानका राजेन्द्र सापकोटा र रूपक खड्कालाई ल्यापटप प्रदान गरेको छ । योग, ध्यान र समाधिको प्रचारप्रसार गर्ने तथा आन्तरिक र बाह्य पर्यावरणको संरक्षण गरौं भन्ने नारासहित विश्व साइकल यात्रामा निस्कन लागेका यात्रीद्वयलाई संयुक्त रूपमा रू. ४० हजार रुपैयाँबराबरको एक थान मिनी ल्यापटप उपलब्ध गराएको बैङ्कले बताएको छ । एक कार्यक्रमबीच बैङ्कका कार्यकारी प्रमुख कमलप्रसाद ज्ञवालीले उक्त सहयोग हस्तान्तर गरे । बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरिएको उनले बताए । जलवायु परिवर्तन तथा तापक्रम वृद्धिको असर न्यूनीकरणलगायत मानव कल्याणका विषयमा जनचेतना जगाउने उद्देश्यसहित साइकल यात्रीद्वयले यसअघि ७५ ओटै जिल्लाको पैदल यात्रा तथा साइकलको माध्यमबाट सार्क राष्ट्रको भ्रमण सम्पन्न गरिसकेका छन् ।
इण्टरनेशनल डेभलपमेण्टको शेयर विक्री प्रबन्धकमा कोष र एनसीएम
इण्टरनेशनल डेभलपमेण्ट बैङ्क लिमिटेडले साधारण शेयरको निष्कासन तथा विक्री प्रबन्धकमा एनसीएम मर्चेण्ट बैङ्किङ लिमिटेड र नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । यस सम्बन्धमा बैङ्क र ती संस्थाबीच बुधवार त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा बैङ्कका प्रमुख कार्यकारी अधिकृत राजाराम खड्का, नागरिक लगानी कोषका कार्यकारी निर्देशक ऋषिराम गौतम तथा एनसीएम मर्चेण्टका प्रबन्ध सञ्चालक विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । राष्ट्रियस्तरको 'ख' वर्गको उक्त बैङ्कले १९ करोड २० लाख रुपैयाँबराबरको १९ करोड २० लाख कित्ता साधारण शेयर निष्कासन गर्दैछ । २०६७ चैत्र मसान्तसम्म १४ ओटा शाखा सञ्चालनमा रहेको इण्टरनेशनल डेभलपमेण्ट बैङ्कले रू. ३ अर्ब ८१ करोड निक्षेप सङ्कलन तथा रू.३ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ ।
प्रडक्ट प्रोफाइल
घमौराको उपचार 'आइकन’ पाउडर
यदि तपाइं गर्मीमा घमौराबाट हैरान हुनुभएको छ भने तपाईंको समस्याको समाधान 'आइकन' पाउडर हुन सक्छ । आइकन घमौरा प्रतिरोधात्मक पाउडर हो । 'गर्मीयाममा हुने घमौराबाट जोगिनका लागि आइकन पाउडर बढी उपयोगी हुन्छ,' रवीन ट्रेडर्सका सुपर डिष्टिब्युटस रमेश घिमिरेले भने, 'यसमा भएका विभिन्न प्राकृतिक जडीबुटीले घमौरा तथा एलर्जीलाई निर्मूल पार्दछ ।'एक साताअघि नेपाल भित्रिएको आइकन पाउडरलाई रवीन ट्रेडर्सले बजारमा ल्याएको हो । रवीन ट्रेडस नेपालका लागि आइकन पाउडरको आधिकारिक विक्रेता हो । गर्मीयामलाई लक्षित गर्दै उक्त पाउडर नेपाली बजारमा ल्याइएको कम्पनीले बताएको छ । आइकन मलेसियाको ब्राण्ड हो । यो घमौरा निको पार्ने सुगन्धयुक्त पाउडर हो । 'सुगन्ध दिने तथा घमौरा पनि निको पार्ने हुँदा आइकन पाउडर अझ बढी उपयोगी हुन्छ,' घिमिरेले भने । हाल बजारमा ७५ ग्रामदेखि ५ सय ग्रामसम्म तौल भएका आइकन पाउडर उपलब्ध छन् । बजारमा उपलब्ध यस्ता पाउडरहरू गुणस्तरअनुसार उचित मूल्यमा खरीद- विक्री गर्न सकिने उनको दाबी छ । हाल आइकन पाउडर नेपालभर उपलब्ध रहेको रवीन ट्रेडसले बताएको छ ।
कलेज प्रोफाइल
मेगा कलेजको मुख्य नारा
'न्यूनतम शुल्क र गुणस्तरीय शिक्षा'
यसै वर्षदेखि सञ्चालनमा आएको नेपाल मेगा कलेजले विद्यार्थीलाई अन्य कलेजसँगको प्रतिस्पर्धी सुविधा दिएको बताएको छ । अहिले कक्षा ११ का लागि फर्म वितरण र प्रवेशिका परीक्षा भइरहेको कलेजका अध्यक्ष प्राडा होमनाथ भट्टराईले जानकारी दिए । कलेजले दुईओटा प्रवेश परीक्षा लिइसकेको बताएको छ । स्थापनाको पहिलो वर्षभएकाले केही दिनको फरकमा तीन /चारओटा प्रवेश परीक्षा लिन लागिएको उनले बताए ।न्यूनतम शुल्क र गुणस्तरीय शिक्षा भन्ने नारासहित सञ्चालनमा आएको मेगा कलेज शैक्षिक क्षेत्रमा राम्रो पहिचान बनाएका र अनुभवी शिक्षकहरूको समूहद्वारा स्थापना भएको निजी कलेज हो ।
मेगा कलेजले विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायका कक्षाहरू सञ्चालन गर्ने भएको छ । पहिलो शैक्षिक सत्रमा १ हजार विद्यार्थी भर्ना गर्ने लक्ष्य रहेको भट्टराईको भनाइ छ ।कलेजले प्रतिभाशाली र एसएलसीमा राम्रो प्रतिशत ल्याउने विद्यार्थीलाइ विशेष छूट दिने निर्णय गरेको छ । त्यसमा पनि निजी र सामुदायिक विद्यालयबाट आउने विद्यार्थीलाई फरकफरक छूट दिइने भट्टराई बताउँछन् । कलेजले सामुदायिक विद्यालयबाट ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई नि:शुल्क भर्ना तथा अन्य शुल्कमा समेत छूट दिने भएको छ । यसबाहेक कर्णाली अञ्चलबाट राम्रो अङ्क प्राप्त गरी आउने विद्यार्थीलाई विषेश छूटमा अध्यापन गराउने उनको भनाइ छ ।
कलेजले विद्यार्थीलाई अन्य कलेजसँगको प्रतिस्पर्धी सुविधा दिएको छ । यहाँ विद्यार्थीको हाजिरका लागि फिङ्गर प्रिण्ट्सको व्यवस्था गरिएको छ । विज्ञान विषय अध्ययनका लागि व्यवस्थित प्रयोगशाला, ई-लाइब्रेरी र हरेक कक्षामा सीसी क्यामरासमेत जडान गरिएको छ । किताबमा भएका कुरालाई पढाउने मात्र नभएर सङ्गीत, कला, साहित्य, खेलकुद, नाटकजस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको प्रतिभामा निखार ल्याउने कलेजको उद्देश्य रहेको खनाल बताउँछन् ।मेगा कलेजले केही वर्षभित्रमा 'स्टुडेण्ट एक्सचेञ्ज' प्रोग्राम ल्याउने योजना बनाएको छ, जसअर्न्तगत उत्कृष्ट विद्यार्थीहरूलाई विदेशका विभिन्न कलेजहरूमा केही समयका लागि पढ्न पठाउने व्यवस्था मिलाइने कलेजका प्रमुख कार्यकारी अधिकृत गोपाल खनालले जानकारी दिए । स्टुडेण्ट एक्सचेञ्ज प्रोग्रामअन्तर्गत वर्षको तीनपटकसम्म विभिन्न सङ्कायबाट उत्कृष्ट १० विद्यार्थी छनौट गरेर निश्चित समयका लागि विदेश पढ्न पठाइने खनालले बताए ।
Admin 2011-07-07