आयातको तुलनामा नेपालको चीनतर्फ निर्यातमा तात्त्विक सुधार आउन सकेको छैन । नेपालको चीनतर्फको व्यापार खाडल पनि भीमकायी रूपमा फराकिलो हुन पुगेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ मा नेपालको चीनसँगको निर्यात आयात अनुपात १ः११५ रहनुले नेपालको चीनतर्फको निर्यात नीतिमा आमूल परिवर्तन हुनुपर्ने देखिन्छ । नेपालको उत्पादन क्षमता र अभ्यास तथा चीनको आयातको प्रवृत्ति, श्रमबजार र उपभोक्ता संस्कृति समेतलाई दृष्टिगत गर्दा चीनतर्फको निर्यातमा तात्त्विक सुधार ल्याउन देहायका आयामहरूलाई मनन गरी उचित रणनीति बनाउन आवश्यक देखिन्छ ।
नेपालको चीनतर्फ परम्परागत निर्यात दुई देशबीचको व्यापारको अटुट र स्थायी आयामका रूपमा रहँदै आएको छ । विभिन्न उतारचढाव र विकासक्रम हुँदाहुँदै पनि चीनतर्फको निर्यातलाई एउटा निश्चित विन्दुमुनि आउन नदिन नेपालका यस्ता वस्तुको ठूलो भूमिका रहेको छ ।
तसर्थ नेपालको चीनलक्षित निर्यातको पहिलो आयाममा परम्परागत रूपमा निर्यात भइरहेका वस्तु पर्छन् । ती वस्तुको बजार पनि छ, नेपाली निर्यातकर्ताको चिनियाँ व्यापारीसँग अटुट सम्बन्ध पनि छ ।
धार्मिक, आध्यात्मिक र परम्परागत विश्वासका कारण यी वस्तुको चिनियाँ बजार पनि अकण्टक जस्तै रहेको छ । यस्ता विशेषतायुक्त वस्तुहरूमा मूर्ति, वनजन्य, बहुमूल्य काठ, जडीबुटी, हातेकागज, धार्मिक प्रयोजनका सामग्रीहरू, धूप, दीप, पूजाका भाँडाकुँडा, थान्का, चित्रलगायत परम्परागत हस्तकलाका सामानहरू पर्छन् ।
चिनियाँ उद्योगको पृष्ठयोजनको रूपमा नेपाली वस्तुहरूको निर्यात नेपालको चीनतर्फको निर्यातको दोस्रो आयामका रूपमा रहेको छ । विशेष गरी वनजन्य र कृषिजन्य कच्चापदार्थहरू चीनको कच्चापदार्थ आयातको प्रमुख अंशका रूपमा रहेको छ ।
नेपालको उत्पादन क्षमता र चिनियाँ बजारको मागलाई आधार मान्दा वनजन्य काठ र काठका उत्पादनहरू तथा कागजको कच्चापदार्थका रूपमा रहेको पल्प चीनतर्फको निर्यात सम्भावना उच्च रहेका कच्चापदार्थका रूपमा रहेका छन् । यस्तै कृषिजन्य उत्पादनतर्फ छालाको निर्यात गर्ने सम्भावना अधिक रहेको छ । चीन सरकारको सहयोगमा स्थापित भृकुटी पेपर एन्ड पल्प उद्योग तथा बाँसबारी छाला तथा जुत्ता कारखानाको अव्यक्त उद्देश्यमा नेपाललाई कागज र जुत्तामा आत्मनिर्भर बनाउने र बाँकी रहेको पल्प र छाला चीनमा निर्यात गर्ने रहेकोे सन्दर्भ अझै पनि असान्दर्भिक भइसकेको छैन ।
सीमावर्ती माला शहरमार्फत हुने निर्यात नेपालको चीनतर्फको निर्यातको तेस्रो आयामका रूपमा रहेको छ । सीमा क्षेत्रमा व्यापारिक केन्द्रहरू स्थापना गर्ने र ती व्यापारिक केन्द्रहरूलाई छिमेकी मुलुकसँग आर्थिक सम्बन्ध स्थापना गर्ने सम्पर्क विन्दुका रूपमा विकास गर्ने चीनको घोषित नीति रहेको छ ।
चीनको राजमार्ग नम्बर २१९ (जो नेपालको समानान्तर रूपमा निर्माण भएको छ) मा पुष्पमाला जसरी सानासाना शहरहरू स्थापना हुने क्रममा रहेका छन् । ती केन्द्र दुई पक्षीय रूपमा विकास हुने सम्भावना रहेको छ । चीनमा स्थापित र स्थापना हुने क्रममा रहेका ती शहरहरूका समानान्तरमा नेपालपट्टि पनि शहरहरू स्थापना गरी चीनका नागरिकको आवतजावतको व्यवस्था गर्न सकेको खण्डमा यी शहर मध्यस्थ व्यापारका केन्द्रका रूपमा विकास हुने सम्भावना रहेको देखिन्छ ।
श्रमप्रधान वस्तु चीनतर्पmको निर्यातको चौथो आयामका रूपमा रहेको छ । चीन सस्तो श्रमयुक्त मुलुकबाट मध्यमस्तरको श्रमयुक्त मुलुकमा रूपान्तरण भएको छ । कुनै पनि मुलुक अल्पविकसितबाट विकासशील देशमा रूपान्तरण हुँदा ज्यालामा पनि सोही अनुपातमा वृद्धि हुने गर्छ । यस अवस्थामा चीनमा भन्दा नेपालमा सस्तो श्रम उपलब्ध छ ।
चाइनाब्रिफ डटकमका अनुसार चीनमा औसत ज्यालादर २ हजार ५ सय ९० चिनियाँ युआन (रू. ४८ हजार) रहेको छ जबकि नेपालको औसत ज्यालादर केवल रू. १७ हजार ३ सय मात्र रहेको छ । यस अवस्थामा श्रमिकको उत्पादकत्वमा वृद्धि गर्न सकेको खण्डमा श्रमप्रधान उत्पादनका लागि चीन उपयुक्त बजार हुने सम्भावना रहेको छ । वर्तमान समयमा चीनतर्फ वृद्धि भइरहेको ऊनी गलैंचाको निर्यात यसको उदाहरण हो । यस अवस्थामा श्रममा आधारित उत्पादनहरू जस्तै कार्पेट, तयारी पोशाकहरू चीनमा निर्यात गर्न सकिने सम्भावना रहेको छ ।
चीनको आयात र नेपालको निर्यात अन्तरसम्बन्ध नेपालको चीनतर्फको निर्यातको पाँचौं आयामका रूपमा रहेको छ । आम रूपमा नेपाल र चीनको व्यापारलाई आयात निर्यातका रूपमा चित्रण गर्ने र नेपालको एचएस वर्गीकरणमा छ अंकीय वर्गीकरणको बाहुल्य रहेको छ ।
यस सन्दर्भमा चीनतर्फ खासमा कुन कुन वस्तु निर्यात भएको छ भन्ने विषयमा चरम अन्योलको वातावरण विद्यमान रहेको छ । यस्तै नेपालले निर्यात गरिरहेका वस्तुहरू चीनले विश्वबाट कति मात्रामा आयात गर्छ र उक्त आयातमा नेपालको अंश कति रहेछ भन्ने विषय पनि सर्वत्र चासोको विषय रहेको छ । यिनै अन्योल र चासोलाई सम्बोधन गर्न यहाँ तथ्यांकसहित सम्भावनाहरूलाई प्रस्तुत गरिएका छन् ।
चीनले मूल्यमा थोरै भए तापनि करीब ८७ प्रकारका विभिन्न वस्तु नेपालबाट आयात गर्ने गर्छ जसको अंश नेपालको चीनतर्फको निर्यातमा नगन्य रहेको छ । तर, ती वस्तु चीनले शेष विश्वबाट ठूलो परिमाणमा आयात गर्दै आएको छ ।
ती वस्तुहरूमा विशेष गरी दक्षिणीकाठ, हातेकागज, बाँसका कुर्सी, खुकुरी, अगरबत्ती, तामाका कुकर, जनावरका कार्भिङ, हेई चिया, काठका मूर्ति, भान्सामा प्रयोग हुने काठ, घण्टी, कन्दमुल, आलुमिनियमका भान्साका सामान, सेन्थेटिक कपडा, कपडाका अन्य उत्पादनहरू, सिट्रोनेलाको सारतेल, तामाका अन्य उत्पादनहरू, चटाइ/गुन्द्री, संगीतका सामानहरू, तन्ना, बेड कभर, क्रिसमस सामान, सूतीका कपडा, पात्रो, बास्केट, चोप/खोटो, सिसाका मूर्ति, प्राकृतिक रेशानिर्मित धागो र कपडा, फलामका भान्साका सामान, थान्का, मूर्ति र पुरातात्त्विक उत्पादनहरू, बोडिङ कपडा, ऊन, गहना, भ्याकुम फ्लास्क, टेबुल सिसा, काठका फर्निचर, प्लास्टिकका मूर्ति, सिटीसी चिया, रंग, टोपी, अम्लजातीय सारतेल, औषधीय बिरूवाहरू चीनले नेपाल र विश्वबाट आयात गर्दै आएको छ ।
कीटनाशक औषधीय बिरुवा, झिटीगुण्टाका सामानहरू, जालीदार कपडा, भोड्का, क्यासियाको सारतेल, ऊनी फेल्ट, तयारी पोशाक, कर्क स्क्रु, खेलौना, ट्वाइन, रूद्राक्ष, कृत्रिम मानव अंग, ढुंगा, सेन्थेटिक यार्न, खाद्य उद्योगका सहउत्पादन, प्लास्टिकका टेबलपोश, छाला, अन्य काठका सामान, रबरका सामान, विग्स, ओलोङ चिया, अन्य कागज, जल, पुदिनाको सारतेल, अत्तर, एन्टीसेरा, छालाका उत्पादन, कच्चाकाठ, बहुमूल्य पत्थर, ह्विस्की, ढुंगा, फलामका रड, बियर, प्लास्टिकका बोतल, शृंगारात्मक बत्ती, जुत्ता, इकमर्शबाट भएको व्यापारिक वस्तुहरू, प्लास्टिकका सामानहरू, कपास, बिजुलीका स्वीच, मेशिनरी भल्भ, तयारी खाद्यवस्तु चीनले नेपालबाट सानो परिमाण र विश्वबाट ठूलो परिमाणमा आयात गर्दै आएको छ ।
एकचोटि चिनियाँ बजारमा प्रवेश पाइसकेका वस्तुहरूलाई मूल्य, गुण, परिमाण, आपूर्ति समय, प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न सकेको खण्डमा यी वस्तुहरूको करीब ५० अर्ब अमेरिकी डलर बराबरको बजारको सानो अंश मात्र नेपालले उपयोग गर्न सकेको खण्डमा यो नेपालका लागि वरदान सावित हुने निश्चित छ ।
नेपालले चीनमा निर्यात गर्दै आएका एन्टीसेरा, तयारी पोशाक, छालाका उत्पादनहरू, तयारी खाद्य उत्पादन, जुत्ता, प्लान्टिकका सामानको चीनको आयात मात्र १ अर्ब अमेरिकी डलरभन्दा माथि रहेको छ ।
चीनको आयात बजारमा १० प्रतिशतभन्दा बढी अंश ओगट्ने नेपाली वस्तुहरूमा दक्षिणीकाठ, हातेकागज, बाँसका कुर्सी, खुकुरी तरबार, रेशमका कार्पेट, धातुका मूर्ति र ऊनी कार्पेट रहेका छन् । यी वस्तुहरूको चीनको शतप्रतिशत बजार लिन सकेको खण्डमा यी ५ ओटा वस्तुहरूको निर्यात मात्र रू. ७ अर्ब ४५ करोड पुग्ने देखिन्छ ।
यस्तै गरी चीनको आयात बजारमा १ देखि ८ प्रतिशतसम्मको अंश भएका नेपालबाट निर्यात हुने वस्तुहरूमा बाल्केट, अगरबत्ती, तामाका कुकर, जनावरका कार्भिङ सामान, हेई चिया, काठका मूर्ति, भान्सामा प्रयोग हुने काठका सामग्री, घण्टी, कन्दमूल, अन्य कपडाका कार्पेट, आलुमिनियमका भान्साका सामान, सेन्थेटिक कपडा, कपडाका अन्य उत्पादनहरू र सिटोनेलाको सारतेल रहेका छन् । यी वस्तुको चीनको कुल आयात रू. ४७ अर्ब बजार रहेको छ ।
चीनको तयारी पोशाकको आयातमा नेपालको अंश करीब शून्य दशमललव शून्य ५ प्रतिशत मात्र रहेको छ जबकि चीनको तयारी पोशाकको कुल आयात रू. ८५७ अर्ब रहेको छ । यत्रो विशाल बजारमा नेपालको निर्यात भने रू. ४१ करोड मात्र रहेको छ ।
यस्तै नेपालको विशेष क्षमता रहेको थान्का, मूर्ति र चित्र (एचएसकोड भाग ९७ अन्तर्गतका हस्तकलाका सामान पर्छन्)को चीनको आयात रू. ३० अर्ब बराबर रहेको छ जबकि उक्त आयातमा नेपालको अंश करीब शून्य दशमलव १५ प्रतिशत मात्र रहेको छ ।
अर्को उदाहरणका लागि विग्स (नक्कली कपाल, चुल्ठो, दाह्री, जुँगा, आँखीभौं, परेला आदि) लाई लिन सकिन्छ । चीनले सन् २०२३ मा रू. २६ अर्ब बराबरको विग्स आयात गरेको छ । यस सम्भावनालाई नेपालले उपयोग गर्न सक्ने देखिन्छ ।
तिलस्मी खालका उत्पादनहरू चीनतर्पmको निर्यातको छैटौं आयातका रूपमा रहेको देखिन्छ । चीन तिलस्मी खालका उत्पादनहरूको आकर्षक बजार हो । यस्ता तिलस्मी वस्तुहरूमा रहेको आकर्षणका कारण नै नेपालबाट बोधिचित्त आकर्षक मूल्यमा चीनमा निर्यात हुन सकेको हो ।
चिनियाँ समाजमा व्याप्त विश्वासको गहन अध्ययन गरी यस्ता खालका वस्तुहरू उत्पादन गरी चीनमा निर्यात गर्न सकिने ठूलो सम्भावना रहेको छ । यस्तो कयौं अन्य वस्तु छन् जसको चिनियाँ बजारमा ठूलो माग रहेको छ । यस क्षेत्रमा व्याप्त बजारलाई उपयोग गर्ने गरी नेपालले आफ्नो सक्रियता वृद्धि गर्नु आवश्यक देखिन्छ ।
उपर्युक्त आयामलार्ई दृष्टिगत गरी चीनसँग सघन व्यापार वार्ता र समझदारी, नेपालमा उत्पादनको वातावरण सृजना, पूर्वाधारमा सुधार र नेपाली वस्तुको मूल्य, गुणस्तर, परिमाण र आपूर्ति समयजन्य प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न उत्प्रेरणात्मक औद्योगिकीकरणतर्फ पहलकदमी लिन आवश्यक छ ।
(लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।)