काठमाडौं । नेपाल र चीनबीच बेल्ट एवं रोड सहकार्य (बीआरआई)को फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा रहेका बेला आज बेइजिङमा आयोजित एक कार्यक्रममा दुवै देशका अधिकारीहरूले उक्त फ्रेमवर्कमा हस्ताक्षर गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त फ्रेमवर्कमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका हुन् ।
प्रधानमन्त्री ओली अहिले चीनको औपचारिक चार दिने भ्रमणमा हुनुहुन्छ । उहाँ गत सोमवार बिहान ११ः१६ बजे हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट चीन प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री ओली चीन भ्रमणमै रहँदा यसअघि गत मंगलवार दुवै देशबीच ९ बुँदे सहमति र समझदारी भएको थियो । उक्त सहमति र समझदारीमा बीआरआईसम्बन्धी समझदारी भएको थिएन ।
नेपालले अनुदान मात्र लिने गरी बीआरआईसम्बन्धी विषयमा प्रस्ताव गरेकाले त्यसमा समझदारी भएको थिएन । चीनले अनुदानमात्र लिने प्रस्तावमा असन्तुष्टि जनाएको बुझिएको छ ।