काठमाडौं । नेपाल र चीनबीच राँगाभैंसीको प्रशोधित मासु (थर्मल्ली प्रोसेस्ड बफेलो मिट) चीन निर्यात गर्न बनाइएको प्रोटोकलमा हस्ताक्षर भएपछि त्यस्तो मासु चीन निर्यात गर्ने बाटो खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणको क्रममा मंगलवार दुई देशबीच थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको हो ।
कृषि मन्त्रालयका अनुसार थर्मल्ली प्रोसेस्ड मिट भनेको तातो पानीमा निश्चित तापक्रममा तताएर खोरेतलगायत रोगको भाइरसलाई निष्क्रिय गराइएको मासु हो । चीनले तोकेको मापदण्ड पूरा गरेर उत्पादन भएको मासु नेपाली व्यवसायीले चीन निर्यात गर्ने मन्त्रालयले बताएको छ ।
अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल गतवर्ष चीन भ्रमणमा जाँदा नेपालबाट यस्तो मासु आयात गर्न चीनले स्वीकृति प्रक्रिया तीव्र पार्ने बताएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तपेन्द्र बोहराले निर्यात गर्ने कुरा पहिलेदेखि नै प्रक्रियामा रहे पनि अहिले प्रधानमन्त्रीको भ्रमणका क्रममा सहमति भएको बताए । उनका अनुसार प्रोटोकलमा उल्लेख भएको प्रावधानअन्तर्गत रहेर नेपाली उद्योगी व्यवसायीले चीनमा थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात गर्न पाउनेछन् । यद्यपि, सहमति भएको औपचारिक पत्र भने मन्त्रालयले प्राप्त गरिसकेको छैन ।
गत असार २० गते बसेको मन्त्रिपरिषद् बैठकले चीनमा कुक्ड बफेलो मिट (तताएर प्रशोधन गरिएको राँगाभैंसीको मासु) निर्यात गर्नेसम्बन्धी सम्झौतापत्र स्वीकृत गरेको थियो । त्यसलगत्तै मन्त्रिपरिषद् बैठकले चीनमा कुक्ड बफेलो मिट निर्यात गर्ने सम्बन्धमा नेपाल सहमत रहेको विषयसहित तयार पारिएको सम्झौतापत्र स्वीकृत गरेको थियो । तर, दुई मुलुकबीच प्रोटोकलमा हस्ताक्षर हुन बाँकी थियो । अहिले सोही प्रोटोकलमा हस्ताक्षर भएको बोहोराले जानकारी दिए ।
नेपालले राँगाभैंसीको मासु निर्यात गर्ने सहमति गरे पनि नेपालमा पछिल्लो समय राँगाभैंसीको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले नेपालमा राँगाभैंसीको संख्या घट्दै गएको देखाएको हो । कृषि गणना २०५८ मा नेपालमा राँगाभैंसीको संख्या ३४ लाख ७७ हजार रहेकोमा २०७८ मा आइपुग्दा यो घटेर २९ लाख २३ हजार कायम भएको छ ।
पछिल्लो समय पशुपालनको लागत बढ्दै जानु, बजार सुनिश्चितताको कमी, सहुलियत कर्जामा किसानको पहुँच नपुग्नु, आफ्नो उत्पादनको समयमै भुक्तानी नपाउनुलगायत कारणले पशुपालनबाट पलायन हुने किसानको संख्या बढ्दै गएको मन्त्रालयले बताएको छ । यही बेला नेपालको पशुपालन क्षेत्रमा लगानी गर्न केही निजीक्षेत्र र चिनियाँ कम्पनीले समेत इच्छा देखाएको मन्त्रालयको भनाइ छ ।