काठमाडौं । मुलुकमा चाडपर्व सकिएसँगै पूर्वाधार निर्माणको गति अघि बढ्छ । यही बेला सिमेन्ट उत्पादकहरूले सिमेन्टको भाउ संयुक्त रूपमा बढाएका छन् । यसले निर्माण क्षेत्र प्रभावित हुने निर्माण व्यवसायी बताउँछन् ।
करीब १ अर्ब रुपैयाँ गतवर्ष २०८०/८१ कै भुक्तानी नपाएका निर्माण व्यवसायीसमेत रहेका शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्माले सिमेन्टको मूल्यमा ‘सिन्डिकेट’ भएको दाबी गरे । सरकार यो विषयमा चुप लागेर बस्दा छड उत्पादकले पनि मूल्य बढाउन सक्ने सम्भावना रहेको भन्दै उनले सिमेन्ट उद्योगीले गरेको सिन्डिकेट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।
‘अहिले डण्डीको मूल्य बढेको छैन, यद्यपि सिमेन्टमा बढेको अस्वाभाविक मूल्य घटाउन सरकारले कदम नचाले उनीहरूले पनि बढाउने सम्भावना हुनेछ,’ शर्माले भने ।
मङ्सिरको शुरूदेखि नै प्mयाक्ट्री मूल्य प्रतिबोरा (५० केजी) ४४०–४५० रुपैयाँमा अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) सिमेन्ट खरीद गरिएकोमा अहिले प्रतिबोरा ६३० रुपैयाँसम्म पुगेको शर्माले बताए । ‘यही अवधिमै दुईपटक गरेर प्रतिबोरामा १५० रुपैयाँ बढाइएको छ,’ शर्माले भने, ‘यद्यपि डण्डी उत्पादकहरूले प्रतिकिलो २ रुपैयाँसम्म बढाएका छन्, सरकार चुप लागेर बसेमा डण्डी उद्योगले पनि मूल्य बढाउनेछन् ।’ सिमेन्ट उद्योगीहरूले १५ दिनमै प्रतिबोरा १५० रुपैयाँ बढाएको शर्मा बताउँछन् ।
छोटो अवधिमै ३० प्रतिशतले मूल्य बढाउन कार्टेलिङ गरेर उत्पादन घटाउने काम भएको उनको दाबी छ । उत्पादन कम भए मूल्य उच्च हुन्छ भनेर कार्टेलिङ गरिएको शर्मा बताउँछन् । ‘तर, सरकारले कहिले पनि निर्माण क्षेत्रलाई गम्भीर रूपमा लिएकै छैन । एकातिर सरकारले काम गरेको भुक्तानी नदिने, अर्कातिर बजारमा सिमेन्टको मूल्य बढ्दा पनि सरकार मूकदर्शक भएर बसिदिँदा निर्माण क्षेत्र थप हतोत्साहित भएको छ,’ उनले भने । अधिकांश सिमेन्ट उद्योग सञ्चालकहरूले सिमेन्टको मूल्य बढाएको स्वीकारे ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारूले पूर्वाधार निर्माणको सिजन बढेको हुँदा सिमेन्टको मूल्य बढेको जानकारी दिए । ‘अधिकांश सिमेन्ट उद्योगले सिमेन्टको मूल्य बढाएका छन्,’ मारूले भने, ‘योभन्दा अघिल्ला महीनाहरूमा धेरै नै घाटामा सिमेन्ट विक्री गरिएको थियो, कतिसम्म भने लागतभन्दा नै कममा विक्री गरिएको थियो ।’ कतिपय सिमेन्ट उद्योगले मासिक करोडौं घाटा बेहोरेर विक्री गरेको तर अहिले निर्माणको सिजन शुरू भएर माग बढेको हुँदा सिमेन्टको मूल्य बढेको उनको भनाइ छ ।
यता सिमेन्ट उद्योगले मूल्य बढाए पनि कतिपय फलामे छड उत्पादकले तत्काल मूल्य बढाउने योजना नरहेको बताएका छन् । यद्यपि बजारमा फलामे छडको मूल्य पनि प्रतिकिलो २ देखि ५ रुपैयाँसम्म बढेको देखिएको छ ।
पञ्चकन्या ग्रूपका कार्यकारी निर्देशक उज्वलकुमार श्रेष्ठ पञ्चकन्या स्टीलले हरेक महीनाको १ गते मूल्य सार्वजनिक गर्ने गरेको बताउँछन् । मङ्सिरमा पञ्चकन्या स्टीलको मूल्य प्रतिकिलो २ रुपैयाँले घटेको छ ।
‘कच्चा पदार्थको मूल्य बढ्दै जाँदा मात्रै हामीले स्टीलको मुल्य बढाउने गर्छाैं,’ श्रेष्ठले भने, ‘अरूले मूल्य बढाउँदा बढाउने र घटाउँदा घटाउनेभन्दा हाम्रो आप्mनै मूल्य दर छ ।’ बजारको खपत निकै कम रहेको र धेरैजस्तो उद्योग घाटामै सञ्चालन भइरहेका छड व्यवसायीको भनाइ छ ।
श्रेष्ठका अनुसार नेपालमा औसतमा कोरोना महामारीअघिका वर्षमा वार्षिक १२ लाखदेखि १४ लाख टन डण्डी खपत हुन्थ्यो । कोभिड शुरू भएदेखिका वर्षमा क्रमशः यो परिमाण घटेर सन् २०२१ मा वार्षिक ११ लाख टन, सन् २०२२ मा वार्षिक १० लाख टन र सन् २०२३ मा ९ लाख टनमा खुम्चिएको छ । सन् २०२४ को अवस्था कस्तो हुन्छ हेर्न बाँकी रहेको श्रेष्ठको भनाइ छ ।
सरकारले निर्माण क्षेत्रमा लगानीका साथै भुक्तानी दिन सकेको छैन, जुन सरकार आपैmले स्वीकार गरेको छ । ‘पञ्चकन्याले हरेक महीनाको १ गते आफ्ना डिलरहरूलाई आप्mनै मूल्यसूची पठाउने गरेको छ,’ श्रेष्ठले भने, ‘यद्यपि डण्डीको मूल्य बढाउने वा घटाउने आधार देखिँदैन । अन्योल नै देखिन्छ, किनभने बजार अन्योलमा छ । जस्तै प्रतिकेजी ७२ रुपैयाँ विक्री भएको डण्डी त्यसको एक सातामै प्रतिकेजी ७५ रुपैयाँ पनि पुग्ने गरेको देखिन्छ भने कहिले ८० रुपैयाँमा पनि विक्री भएको देखिन्छ ।’
अहिले पञ्चकन्या स्टील प्रतिकिलो ९४ रुपैयाँमा विक्री भइरहेको उनको भनाइ छ । प्राइम बिलेटबाट पञ्चकन्या स्टील/डण्डी बनाइएको हुँदा यसको मूल्य बढी भएको उनको दाबी छ ।
मङ्सिरमा केही माग बढेको र निर्माण क्षेत्रका गतिविधि बढेकोले केही आशालाग्दो अवस्था देखिएको भन्दै उनले यो महीनामा समग्र माग १५ देखि २० प्रतिशत बढेको जानकारी दिए ।
नेपालमा स्टील तथा फलामे छड उत्पादन गर्ने कम्पनी ३१ ओटा छन् । तीमध्ये २४/२५ ओटा मात्रै सञ्चालनमा रहेको व्यवसायी बताउँछन् ।
अम्बे ब्रान्डमा स्टील उत्पादन गर्दै आएको अम्बे ग्रूपका अध्यक्ष हरि न्यौपानेले माग नै कम भएको अवस्थामा फलामे छडको मूल्य बढाउने कुनै योजना नभएको बताए । ‘पहिला प्रतिकिलो ९५ रुपैयाँमा विक्री हुने स्टील अहिले ८० रुपैयाँमा पनि मुश्किलले विक्री हुन थालेको छ,’ न्यौपानेले भने, ‘अर्काेतर्फ बजारमा माग नै छैन भने उधारो पनि उठेको छैन । सरकारले विकासमा खर्च पनि गर्न सकेको छैन, घर/भवन निर्माण पनि सुस्त छ ।’