काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा घटेको छ । गत आवमा कम्पनीले रू. १ करोड ७८ लाख नोक्सानीमा रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १ करोड ५३ लाखमा झरेको हो ।
हालसम्ममा कम्पनीले विद्युत उत्पादन शुरु गरेको छैन । कम्पनीको चुक्ता पूँजी रू. ६ अर्ब ८४ करोड छ । जगेडा कोष रू. ३५ करोड १३ लाख ऋणात्मक छ । गत आवको पहिलो त्रैमासमा पनि कम्पनी रू. ३० करोड ३४ लाख नोक्सानीमा थियो ।
कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी ९० पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ८७ पैसा छ । यस कम्पनीद्वारा रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ र २ टिमुरेको सिमानामा हुँदै बहने भोटेकासी नदीको पानी उपयोग गरेर १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण भइरहेको कम्पनीले वित्तीय विवरणमार्फत जानकारी गराएको छ ।
आयोजनाको निर्माणको हालको समष्टिगत भौतिक प्रगति ९७ प्रतिशत रहेको कम्पनीले जानकारी दिएको छ ।