काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड फेरि खुद नोक्सानीमा गएको छ । अघिल्लो त्रैमास अर्थात दोस्रो चैमाससम्म ६७ लाख ३५ हजार रुपैयाँ खुद नाफा गर्न सफल यो कम्पनी तेस्रो त्रैमाससम्म भने ८१ लाख ४१ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको हो । गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा भने यस वर्ष सोही अवधिसम्म कम्पनीको खुद नोक्सानी कम रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी १ करोड १४ लाख ९७ हजार रुपैयाँभन्दा बढी खुुद नोक्सानीमा रहेको थियो ।
विद्युत विक्री आम्दानी बढे पनि वित्तीय खर्च बढ्दा कम्पनीको नाफामा प्रभाव परेको हो । गत वर्ष २ करोड ९१ लाख रुपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष २ करोड ९९ लाख रुपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको हो । गत वर्ष ७२ लाख ३४ हजार रुपैयाँ रहेको वित्तीय खर्च यस वर्ष भने ७८ लाख ९१ हजार रुपैयाँ रहेको छ । गत वर्ष कर्मचारी खर्च नभएको कम्पनीको यस वर्ष ३४ लाख रुपैयाँभन्दा बढी भएको छ ।
२ अर्ब ४६ करोड ७१ लाख रुपैयाँभन्दा बढी चुक्तापूँजी रहेको कम्पनीको अदर इक्विटी भने ८ करोड ६७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । अल्पकालीन कर्जा ८ करोड ४० लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको दीर्घकालीन कर्जा ४८ करोड १८ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक २५ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९६ रुपैयाँ ४२ पैसा छ ।