काठमाडौ। घर होस् या कार्यालय, अहिलेको समयमा स्मार्ट डिभाइसविना कोही पनि चल्न नसक्ने अवस्था छ । तर यस्ता डिभाइस कसरी चलिरहेका छन् भन्ने भन्ने हामीमध्ये धेरैलाई थाहा हुँदैन । कम्प्युटर होस् या मोबाइल, यस्ता डिभाइसमा प्रयोग गरिने हरेक डिजिटल डेटा लामो समयसम्म सुरक्षित राख्न स्टोरेजको आवश्यकता पर्छ । यस्ता डिभाइसमा निश्चित क्षमता मात्र हुने गर्छ । तर डेटा भने धेरै हुन सक्छन् । यस्ता डेटा आफैले सुरक्षित राख्न खर्चिलो समेत हुने गर्दछ । यस्तो अवस्थामा क्लाउड जस्ता स्टोरेज प्लेटफर्म सहज विकल्प हुन सक्छ ।
क्लाउड स्टोरेज कम्प्युटर डेटा स्टोरेज गर्ने एउटा तरीका वा उपाय हो । यसमा डिजिटल डेटालाई अफ–साइट अर्थात् फोन वा डिभाइसमा नभएर अर्कै स्थानमा रहेको सर्भरमा स्टोर गरिन्छ । यस्ता सर्भर राख्ने र रेखदेख गर्ने सेवाप्रदायक तेस्रो पक्षको रूपमा हुन्छ, जसले आफ्नो विशेष ढाँचामा संग्रहित डेटा होस्ट गर्ने, व्यवस्थापन गर्ने र सुरक्षित राख्ने गर्छन् ।
यस्ता सेवा दिने प्लेटफर्म धेरै हुन सक्छन् । तर यस्ता स्टोरेज सबै सुरक्षित हुन्छन् भन्ने हुँदैन । हाम्रा अति महत्त्वपूर्ण डेटाहरू अन्य व्यक्ति वा ह्याकरको पहुँचमा पुग्ने जोखिम पनि त्यत्तिकै रहन्छ । आफ्ना डेटालाई आवश्यकता अनुसार भविष्यमा प्रयोग गर्न ती डेटा सुरक्षित राख्न जरुरी हुन्छ । क्लाउड डेटा सुरक्षा भनेको क्लाउडमा राखिने डेटालाई ह्याकर लगायत कसैको पनि अनधिकृत पहुँचबाट सुरक्षित राख्न अपनाइने उपाय हो ।
क्लाउडमा डेटा सुरक्षाका उपाय
- आफ्नो आवश्यकता र भविष्यमा बढ्न सक्ने डेटाको भ्योलुम अनुसार भरपर्दो र गुणस्तरीय सेवा दिन सक्ने क्लाउड सेवा प्रदायक मात्र छानौं ।
- क्लाउडमा राखिने डेटालाई इन्क्रिप्ट हुने सुनिश्चित गरौं ।
- क्लाउड सेवा प्रदायकबाट डेटाको नियमित रूपमा ब्याकअप हुने सुनिश्चित गरौं । साथै महत्त्वपूर्ण डेटाको ‘ब्याकअप लोकल्ली’ पनि राख्ने गरौं ।
- क्लाउड सेवा प्रदायकले डेटामा अनधिकृत पहुँचबाट बचाउन के कस्ता सुरक्षा व्यवस्था अपनाएको छ, सो विषयमा जानकारी राखौं ।
- क्लाउड सेवा प्रदायकको तर्फबाट सुरक्षा सम्बन्धी सबै मापदण्ड अपनाए पनि क्लाउड प्रयोगकर्ताको कमजोरीले गर्दा डेटा उल्लंघन/चुहावट हुन सक्छ । त्यसैले आफ्नो उपकरण (कम्प्युटर/ल्यापटप/मोबाइल डिभाइस आदि)मा अन्तिम बिन्दु सुरक्षा, वास्तविक अपरेटिङ एन्टि–भाइरस/एन्टिमालवेयर आदिको प्रयोग गरौं ।
- क्लाउड सेवाको प्रयोगकर्ता सम्झौताहरू, पोलिसीहरू राम्रोसँग पढेर डेटाको सुरक्षा सुनिश्चित गरौं ।
- सुरक्षित डेटा स्थानान्तरणका लागि एसएसएल प्रमाणपत्र तथा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग गरौं ।
- आफूले प्रयोग गर्ने क्लाउड सेवाको गोपनीयता सेटिङलाई ठीकसँग कन्फिगर गरौं । साथै रिकभरी विकल्प समेत जानी राखौं ।
- क्लाउड सेवाको पासवर्ड बलियो राख्ने गरौं । दोहोरो प्रमाणीकरण सुविधा सक्रिय राखेर प्रयोग गरौं ।
- सकेसम्म व्यक्तिगत संवेदनशील विवरण क्लाउडमा नराखौं ।
- क्लाउड सेवा प्रयोग गर्दा सकेसम्म फ्री वाइफाई प्रयोग नगरौं ।
- सम्बन्धित व्यक्तिका लागि नियमित रूपमा क्लाउड डेटा सुरक्षा तथा साइबर सुरक्षा सम्बन्धी तालीम प्रदान गरौं ।
- सम्बन्धित संघसंस्थाले डेटा सुरक्षा नीति तर्जुमा गरी सोको कार्यान्वयन गरौं ।
- क्लाउडमा राखिएका डेटा अरूलाई शेयर गर्दा पहुँच सुविधाको प्रयोग गरौं ।
- क्लाउड सेवा प्रदायक परिवर्तन वा डेटा माइग्रेसन गर्दा डेटा डिलिट भए/नभएको सुनिश्चित गरौं ।
- नेपाल दूरसञ्चार प्राधिकरण लगायत सरकारी सुरक्षा निकायले समय समयमा जारी गर्ने सूचना तथा एड्भाइजरी पढ्ने गरौं ।