काठमाडौं । नेपालको धितोपत्र बजारमा व्यापारिक समूह अन्तर्गत सूचीकृत साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आम लगानीकर्ताको विश्वास जितेको कम्पनीको रूपमा परिचित छ । सबल वित्तीय अवस्था र लाभांशको वितरणले पाएको निरन्तरताका कारण कम्पनीको शेयरप्रति लगानीकर्ताको सधैं आकर्षण रहेको छ ।
पछिल्लो दश आर्थिक वर्षमा कम्पनीले निरन्तर लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०६७/६८ देखि नै लाभांश वितरण गरेको कम्पनीले अधिकतम ४५ प्रतिशतसम्म लाभांश वितरण गरेको तथ्यांक छ । लाभांश वितरण गर्न शुरू गरेको वर्ष नै कम्पनीले ४५ प्रतिशत लाभांश वितरण गरेको थियो, जसमध्ये ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश रहेको थियो । आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म कम्पनीले समान ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । तीन आर्थिक वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
पछिल्ला वर्षमा भने कम्पनीको लाभांश घटेको छ । विगतका वर्षमा २० प्रतिशतभन्दा माथि नै लाभांश वितरण गर्दै आएको कम्पनीले पछिल्ला तीन वर्षमा २० प्रतिशतभन्दा कम लाभांश वितरण गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट भने १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट भने कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यी तीन वर्ष लाभांश तुलनात्मक कम भए पनि कोरोना महामारी र यसले अर्थतन्त्रमा पारेको प्रभावलाई ध्यानमा राख्दा उक्त लाभांशलाई स्वाभाविक मान्नुपर्ने लगानीकर्ता बताउँछन् । लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठले कोरोना महामारीका बेला समेत कम्पनीले लगानीकर्ताको हात खाली नबनाएको स्मरण गरे ।
यस वर्ष लाभांश बढ्ने अपेक्षा
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को लाभांश प्रस्ताव गर्न बाँकी छ । कम्पनीले यस वर्ष विगत तीन वर्षको तुलनामा बढी लाभांश वितरण गर्ने आशा लगानीकर्ताले गरेका छन् । लगानीकर्ता श्रेष्ठले यस वर्ष गतवर्षको तुलनामा बढी लाभांश प्रस्ताव गर्ने विश्वास व्यक्त गरे । गत आर्थिक वर्षमा कम्पनीको नाफा पनि तुलनात्मक रूपमा वढेको सन्दर्भमा उनले यस्तो अपेक्षा गरेका हुन् । पछिल्ला तीन आर्थिक वर्षमा २० प्रतिशतभन्दा कम लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष २०७७/७८ को भन्दा २०७८/७९ मा र २०७८/७९ को भन्दा २०७९/८० मा लाभांश दर बढाएकाले पनि यस वर्ष बढी लाभांश प्रस्ताव गरिने आशा लगानीकर्ताको छ ।
एक कित्ताकै ६ हजारभन्दा बढी शेयरमूल्य
नेपालको धितोपत्र दोस्रो बजारमा व्यापारिक समूह अन्तर्गत दुई कम्पनी मात्र सूचीकृत छन्– साल्ट ट्रेडिङ कर्पोरेशन र विशाल बजार कम्पनी । यो समूहमा साल्ट टे्रडिङको शेयरमूल्य बढी छ । शेयर कारोबारका हिसाबले पनि कर्पोरेशन अग्र स्थानमा देखिन्छ । लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था र कम्पनीले वितरण गर्ने प्रतिफलसँगै बजारमूल्यमा हुने उतारचढाव हेरेर लगानी गर्दछन् । यी आधारमा साल्ट ट्रेडिङ कर्पोरेशन विशाल बजार कम्पनीको तुलनामा शेयरमूल्यका हिसाबले अघि देखिन्छ । व्यापारिक समूह अन्तर्गतका यी दुई कम्पनीको तुलना गर्दा विशाल बजार कम्पनीको शेयरमूल्य भदौ २५ गतेको कारोबारलाई आधार मान्दा प्रतिकित्ता ४ हजार ४३८ रुपैयाँ छ भने साल्ट टे्रडिङको ६ हजार ८५ रुपैयाँ छ ।
दोस्रो बजारमा विशाल बजारको ४ लाख ९१ हजार ४०० कित्ता र साल्ट ट्रेडिङ कर्पोरेशनको ३२ लाख ७ हजार १७१ कित्ता शेयर सूचीकृत छ । गत आर्थिक वर्ष २०८०/८१ मा साल्ट ट्रेडिङको ३ अर्ब ५५ करोड ७० लाख रुपैयाँभन्दा बढीको ६ लाख ९४ हजार २१४ कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ । गत आर्थिक वर्षमा कम्पनीको शेयरमूल्य अधिकतम ५ हजार ९०० रुपैयाँ र न्यूनतम मूल्य ४ हजार २१० रुपैयाँसम्म कायम भएको नेप्सेको तथ्यांक छ । गत असार मसान्तमा १५ अर्ब ७३ करोड ११ लाख रुपैयाँ रहेको कम्पनीको कुल बजार पूँजीकरण पछिल्लो समय बढेर भदौ २५ गते १९ अर्ब ५१ करोड ५६ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । गत असार मसान्तमा कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता ४ हजार ९०५ रुपैयाँ थियो । असार मसान्तपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १८० रुपैयाँ बढेको छ ।
एक वर्षमा ८ करोड ४२ लाख आयकर व्यवस्था अगाडिको नाफा
कम्पनीको आयकर व्यवस्था अगाडिको नाफा पनि बढेको छ । गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८ करोड ४२ लाख रुपैयाँभन्दा बढी आयकर व्यवस्था अगाडिको नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँ आयकर व्यवस्था अगाडिको नाफा गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले वस्तु विक्रीबाट १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो भने वस्तु विक्री खर्च १२ अर्ब २६ करोड २७ लाख रुपैयाँभन्दा बढी भएको छ ।