साल्ट ट्रेडिङ कर्पोरेशनको स्थापना किन, कसरी भयो ?
तत्कालीन राजा महेन्द्रको पूर्वाञ्चल भ्रमणका क्रममा त्यहाँका स्थानीयसँग प्रत्यक्ष संवाद गर्दा नून खान नपाएको जाहेरी भयो । नून खान नपाएको जाहेरी स्थानीयले सुनाएपछि राजा महेन्द्र त्यहाँबाट काठमाडौं फर्केर नूनको कम्पनी खडा गर्नेतिर लागे । तत्कालीन वाणिज्य विभागका निर्देशक गेहेन्द्रदेव पाठकको अध्यक्षतामा नूनको कारोबार गर्ने ठूलठूला ९ व्यापारीहरूलाई समेटेर एउटा समिति बनाई कम्पनी खोलियो, जसमा नूनको व्यापारमा संलग्न मुस्ताङदेखि कृष्णनगर, नेपालगञ्जका व्यापारी थिए । उनीहरूले नै नूनको आयातदेखि भण्डारण गर्ने काम गर्थे । तिनीहरू सबैलाई अनिवार्य शेयरधनी बनाएर २०२० भदौ २७ मा कम्पनी स्थापना गरियो ।
नेपालको भौगोलिक विकटता, यातायात साधन अभाव र आफ्नै स्रोतको नून नभएको अवस्थामा नूनको कारोबार निकै जटिल थियो । सहजै उपलब्ध नहुने, गुणस्तरीय नरहने, मूल्यमा एकरूपता नहुने अवस्थामा कण्ठरोग (गलगाँड) नियन्त्रणका लागि आयोडिनयुक्त नून सर्वसाधारणलाई उपलब्ध गराउन अनिवार्य थियो । तर, आयोडिनयुक्त नून वितरण एकदमै जटिल थियो । जटितलासँगै जुध्दै कर्पोरेशन आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सफल भयो ।
साल्ट ट्रेडिङले व्यापार विविधीकरण कसरी गरिरहेको छ ?
नूनको कारोबारमा सफल भएपछि देशमा अरू के के कारोबार सञ्चालन गर्न सकिन्छ भनेर शेयरधनीबीच छलफल भयो । कर्पोरेशनले वाणिज्य विभागमा कार्यरत हेमबहादुर मल्ललाई कर्मचारीका रूपमा पायो । उनको सोचअनुसार कम्पनी अघि बढ्दै गयो । उनकै अग्रसरतामा साल्ट ट्रेडिङको कारोबार विविधीकरण शुरू भएको हो । देशमा मैदा उद्योग नै थिएनन् । मल्लकै सोचमा पाउरोटी उद्योगका लागि हेटौंडामा मैदा उत्पादन गर्ने खाद्य उद्योग लिमिटेड स्थापना भयो । २०२९ सालमा एउटा मैदा मिल खोल्यौं । त्यो समयमा मैदा मिल नै थिएन । भारतको कोलकाताबाट मैदा मगाएर पाउरोटी बनाइन्थ्यो । स्वदेशमै मैदाको आवश्यकतालाई हेरेर मैदा मिल सञ्चालनमा ल्यायौं ।
मैदा मिलले शुरूका दिनमा सफल कारोबार गरिरहेका बेला सरकारले अचानक कर असुली गर्न थाल्यो । कर छली गर्न हामीले सकेनौं, तर बाहिरका उत्पादकहरूबाट कर छली भयो । त्यसपछि हाम्रो प्रतिस्पर्धी क्षमता कमजोर भयो । कर छली रोक्न हामीले भन्दै आए पनि सरकारले अहिलेसम्म रोक्न सकेको छैन ।
त्यसपछि मुलुकमा घिउ कारखानाको आवश्यकता देखेर खोल्यौं । त्यो कारखाना पनि अहिले बन्द छ । राज्यको कर नीतिका कारण यो उद्योग बन्द भएको हो । यसले स्वदेशी उद्योगबाट विभिन्न वस्तुमा आत्मनिर्भर बन्ने र मुलुकमा उद्योगधन्दा फस्टाउने वातावरण पनि बन्दै गयो । ऊबेला पैसा घरमा राख्ने चलन थियो । हामीले त्यस्तो रकमलाई पूँजी निर्माणमा सदुपयोग गर्ने नीति ल्यायौं । त्यस्तै विभिन्न वित्तीय संस्थाको प्रवद्र्धकका रूपमा लगानी गर्न शुरू गर्यौं, जसअनुसार नेशनल फाइनान्स र सगरमाथा इन्स्योरेन्समा पनि लगानी गर्यौं ।
खाना पकाउने एलपी ग्यासको कारोबार थाल्यौं । यसको विक्री वितरण अत्यन्त पारदर्शी बन्दै गएको छ । यसमा समेत साल्ट ट्रेडिङले सफलता पाउँदै गएको छ । केही वर्षअघि नाकाबन्दी हुँदा ग्यास विक्री गर्ने अरू उद्योगले गलत मनसायबाट अनधिकृत रूपमा पैसा आर्जन गरेको पनि सुनियो । तर, हामी पारदर्शी रूपमा आम उपभोक्ताको समस्या समाधान गर्नेतर्फ तल्लीन रह्यौं । यसले जनमानसमा ‘एसटीसी’ ग्यास राम्रो छ है भन्ने सन्देश गएको छ । चिनी आयात गर्न पनि सरकारकै स्वीकृतिमा शुरू भएको हो । चिनी समेत सहुलियतमा हामीले बेचिरहेका छौं ।
बजार भाउ नियन्त्रणमा यो संस्थानले कस्तो भूमिका निर्वाह गरेको छ ?
भूकम्प, कोभिड महामारीको समय थियो । बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गराई मनपरी चलेका बेला संस्थाले जनताको घरदैलोमा गएर सर्वसुलभ मूल्यमा त्यस्ता वस्तु उपलब्ध गराएको थियो, जसकारण बजार भाउ नियन्त्रणमा यो संस्थानको भूमिका दरिलो रहेको त्यसैबाट पुष्टि हुन्छ । त्यस्तै, चाडपर्वका अवसरमा साल्ट ट्रेडिङले सहुलियत पसल खोलेर सुपथ मूल्यमा विभिन्न सामग्री विक्री वितरण गर्दै आएको छ । वर्षभर सहुलियतमा विक्री गर्न संस्थानको एक्लो निर्णयले सक्दैन । त्यो निर्णय गर्ने निकाय हामी नभएर सरकार हो । तैपनि चाडपर्वमा सरकारले दिएको जिम्मेवारीअनुसार संस्थाले सुपथ मूल्यका पसल सञ्चालन गरेर वस्तुको विक्रीवितरण गर्दै आएको छ ।
अहिलेसम्म सरकारले हामीलाई जुन जुन समयमा वितरण गर्न भनेको छ, हामीले त्यसै कार्यादेशलाई कार्यान्वयन गरेका छौं । साल्ट ट्रेडिङलाई जसरी काम गर भनेर सरकारले आदेश दिन्छ, हामी सोहीअनुरूप काम गर्दै आएका छौं । त्यसैबाट उपभोक्ताको अधिकतम हितलाई केन्द्रमा राखेका छौं । हाम्रो कामबाट उपभोक्ता पनि लाभान्वित भएका छन् । सरकारले महँगी नियन्त्रणमा हस्तक्षेपकारी निकायका रूपमा यसलाई दरिलो तवरले उभ्याउँछ भने हामी काम गर्न तयार छौं ।
व्यावसायिक कारोबारको अवस्था कस्तो छ ?
साल्ट ट्रेडिङ कर्पोरेशनले गुणस्तरीय खाद्य वस्तु, रासायनिक मल तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था आमउपभोक्तालाई विक्रीवितरण गर्दै आएको छ । यसरी सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ । यसको व्यावसायिक अवस्था पनि राम्रो हुँदै गएको छ ।
दुई आर्थिक वर्षको मात्रै हेर्ने हो भने करीब ४० प्रतिशतले कारोबार बढेको छ । २०७९/८० मा ८ अर्ब ७७ करोड रुपैयाँको कारोबार गरेको संस्थाले २०८०/८१ मा १३ अर्ब ३५ करोड रुपैयाँको कारोबार गरेको थियो । आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब १७ करोड रुपैयाँको कारोबार गरेको थियो । यसले के देखाउँछ भने पछिल्ला वर्षमा साल्ट ट्रेडिङ कर्पोरेशनले गर्ने कारोबार बढ्दो छ । आम उपभोक्ताको सेवामा लाग्दा संस्था व्यापारमा सफल भएको मात्र छैन, सार्वजनिक संस्थानमध्ये नाफा आर्जन गर्न सक्ने संस्थाको रूपमा स्थापित भएको छ । गुणस्तरीय सेवाका कारण पनि संस्थाको कारोबार बढ्दै गएको मेरो बुझाइ छ ।
सेवा प्रवाह कसरी गरिरहनु भएको छ ?
केन्द्रीय कार्यालय कालीमाटी, प्रदेश कार्यालय काठमाडौं, वीरगञ्ज, भैरहवा, विराटनगर, बाँके, कैलाली, पोखराबाट सेवा प्रवाह गरिरहेका छौं भने यस संस्थाका शाखा कार्यालय, उपशाखा कार्यालय र डिपो कार्यालयबाट पनि सेवा प्रवाह भइरहेको छ ।
आपूर्ति तथा विक्रीवितरणबाहेक कर्पोरेशनले थप के काम गरिरहेको छ ?
आपूर्ति र विक्रीवितरणबाहेक सामाजिक उत्तरदायित्व अन्तर्गत यो संस्थाले दर्जनौं उल्लेख्य काम गरिरहेको छ । उत्कृष्ट काम गरेर समाजमा नाम कमाएका कुशल व्यवस्थापकलाई साल्ट टे्रडिङको प्रयोजनामा २ लाख रुपैयाँ राशीको पुरस्कारले प्रत्येक वर्ष सम्मान गरिँदै आएको छ । उद्योग, वाणिज्य, प्रशासन, व्यवस्थापन, समाजसेवा, जनसरोकार, जनस्वास्थ्य, सार्वजनिक वितरण प्रणाली, आम उपभोक्तालाई सरोकार भएका क्षेत्रबाट मुलुकको उन्नति, आमजनताको हितमा योगदान पुर्याउने व्यक्ति, संघसंस्थालाई प्रदान गरिने उक्त राशिको यो पुरस्कार यो क्षेत्रमा अहिलेसम्मकै ठूलो हो, जसबाट केदारभक्त माथेमा, दमननाथ ढुंगाना, कुलमान घिसिङ, डा. सन्दुक रुइतजस्ता प्रख्यात व्यक्ति सम्मानित हुनुभएको छ ।
यस संस्थामा कार्यरत अधिकृतस्तरमा रहेर उल्लेख्य सेवा प्रदान गर्ने एक जना कर्मचारी तथा त्यसभन्दा तल्लो तहमा रहेर उत्कृष्ट सेवा प्रदान गर्ने एक जना कर्मचारीलाई ‘हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार’ समेत हरेक वर्ष दिने गरिएको छ । त्यस्तै, पूर्वअध्यक्ष, सञ्चालकहरूको स्मृतिमा अन्य दर्जनौं पुरस्कार समेत रहेका छन् । राम्रो कार्य गर्ने व्यक्तिलाई सम्मान गर्न पाउँदा साल्ट ट्रेडिङले गौरवान्वित महसूस गर्दछ ।