काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । फागुन ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत १५ गते काठमाडौं भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स् क्लबमा बिहान ११ बजे सभा गर्ने तयारी गरेको छ । कम्पनीले ऋण सुविधा लिने कार्यलाई पनि छलफल गरी पारित गर्नेछ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितको लागि जम्मा गरेको राहत रकमलाई पनि सभाले अनुमोदन गर्नेछ ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले दिएको छ ।
बुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।