काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले गत वर्षको तुलनामा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो ।
गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी २७ करोड ८८ लाख ८४ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।