वाशिङटन डीसी (अमेरिका) । बहुराष्ट्रिय अमेरिकी अनलाइन रिटेलर अमेजनले आफ्ना उपभोक्तालाई सामान डेलिभर गर्न मानवरहित विमान (ड्रोन) परीक्षण गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी जेफ बेजोसले बताएअनुसार यसका लागि ‘अक्टोकोक्टर्स’ नामक मानवरहित विमान प्रयोग गरिनेछ । यसले ३० मिनेटभित्र उपभोक्तालाई २ दशमलव ३ किलोग्रामसम्मका सामग्री डेलिभरी गर्न सक्ने छ । तर, यो सेवा सञ्चालन हुन अझ ५ वर्ष लाग्ने पनि उनले बताए । अमेरिकाको सङ्घीय उड्डयन प्रशासन (एफएए)ले मानवरहित विमान नागरिक प्रयोजनका लागि उपयुक्त हुनेबारे अनुमति दिन बाँकी भएकाले सेवा शुरू हुन ढिलो हुने बताइएको छ । ‘यसको माध्यमबाट हाम्रो सामान डेलभरी हुने समय आधा बच्नुका साथै पाँच पाउण्डसम्मको सामान डेलिभरी गर्न सक्छौं,’ बेजोसले सीबीएस टेलिभिजनको एक कार्यक्रममा भने । ‘प्राइम एयर’को संज्ञा दिइने यो कार्यक्रम कम्पनीको व्यापार विस्तारको प्रोत्साहनमा प्रभावकारी हुने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा एफएएले प्रहरी तथा सरकारी संस्थामा मानवरहित विमान प्रयोगको १ हजार ४ सय अनुमति जारी गरिसकेको छ । एफएएले सन् २०१५ सम्म सेवा सञ्चालनको अनुमति दिने अनुमान गरिएको छ । एजेन्सी
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.