साधारण फिल्म हलमा समेत मुस्किलले छिर्छन् अचेलका पुस्ता । उनीहरूका लागि मल्टीप्लेक्स हलको सुविधासमेत अपुग छ । बहुआयामिक दृष्टिकोणबाट सुविधासम्पन्न फिल्म हलमा पनि युवापुस्ताको कुनै न कुनै कमेण्ट हुन्छ नै । क्लियर पिक्चर, गुणात्मक साउण्ड सिष्टम आरामदायी कुर्ची, स्वच्छ सफा हलका तथा आरामदायी सजावट नभएका हल छिर्दा नाक खुम्च्याउनेको कमी छैन । सँगै खाना, शपिङजस्ता अन्य मनोरञ्जन पनि युवाको रोजाइ हो ।
जलेश्वरस्थित खुला चौरमा जेनेरेटरको चर्को कानै खाने आवाजबीच श्यामश्वेत पर्दामा प्रोजेक्टरमार्फत पहिलोपटक आमा फिल्म हेरेको कथा सुनाउँदा जनकपुर निवासी ६५ वर्षीया अरुण मियाँ दङ्ग देखिन्थे । उनी फिल्म हेराइको पहिलो अनुभव सुनाउन आतुर थिए । ‘यहाँ चलचित्र देखाइन्छ’ लेखिएको पर्दा टाँगिएपछि गाउँभर नै हल्लाखल्ला मच्चिन्थ्यो,’ उनी सम्झन्छन् । घर कुर्ने बाध्यताले आलोपालो गरेर मात्र परिवारका व्यक्ति फिल्म हेर्न जान्थे भन्दा कथा सुने जस्तो लाग्न सक्छ । उनी भन्छन्, ‘अहिलेजस्तो शहर–शहरमा सुविधसम्पन्न हल त्यतिबेला कहाँ पाउनु ?’
बुटवल रामनगरका भीमसेन थापाको ३० वर्षअघि फिल्म हेर्दाको अनुभव पनि उत्तिकै रोचक छ । उनी भन्छन्, ‘फिल्म हेरेर फर्केपछि नुहाउनुपर्ने ।’ त्यतिबेला फिल्म हेरेर घर फर्किनेले उडुस ल्याउँछन् भन्थे । त्यसैले हलबाट फर्केर पहिला नुहाउन जानुपर्ने उनले सुनाए । साथीहरूसँग बुटवलबाट करीब ३३ किलोमिटर टाढा भारतको नौतुनामा रहेको ‘जयहिन्द टाकिज’मा फिल्म हेर्दा उनले यस्तै अनुभव सँगालेका छन् । ‘त्यतिबेला फिल्मको टिकट थियो भारतीय ५ रुपैयाँ, हल भने निकै फोहर हुन्थ्यो,’ उनले भने । त्यतिबेला नेपालमा ३ देखि ५ ओटा मात्र फिल्म हल थिए ।
अहिले अवस्था त्यस्तो छैन । साधारण फिल्म हलमा समेत मुस्किलले छिर्छन् अचेलका पुस्ता । उनीहरूका लागि मल्टीप्लेक्स हलको सुविधासमेत अपुग छ । बहुआयामिक दृष्टिकोणबाट सुविधासम्पन्न फिल्म हलमा पनि युवापुस्ताको कुनै न कुनै कमेण्ट हुन्छ नै । क्लियर पिक्चर, गुणात्मक साउण्ड सिष्टम आरामदायी कुर्ची, स्वच्छ सफा हलका तथा आरामदायी सजावट नभएका हल छिर्दा नाक खुम्च्याउनेको कमी छैन । सँगै खाना, शपिङजस्ता अन्य मनोरञ्जन पनि युवाको रोजाइ हो ।
दर्शकका कुरा
आफु लाई मनपर्ने हिरो हिरोइनका फिल्म त्यो पनि पहिलो दिन पहिलो शो हेर्नुको छुट्टै मज्जा हुने कुलेश्वरका सौरभ चापागाईं बताउँछन् । फुर्सदमा साथीभाइसँग क्यूएफएक्स, बिग सिनेमालगायत मल्टीप्लेक्स सिनेमा हलतिर हानिने गरेको उनले बताए । एकै दिन लगातार फरकफरक फिल्म हेर्न चाहानेका लागि यी हल उपयुक्त छन् । उनी भन्छन्, ‘तिनका लागि त यी हल वरदान नै सावित भएका छन् । एकपछि अर्को फिल्मको मज्जा । न कतै भौतारिनुपर्ने, न त जाममा कुर्नुपर्ने । एउटै स्थानमा विभिन्न फिल्म हेर्न पाइने भएकाले पनि पछिल्लो समय युवापुस्ता त्यसतर्फ आकर्षित भएका हुन् । ‘हो अन्य हलका तुलनामा केही महँगो भए पनि सेवा राम्रै दिएका छन्,’ उनले भने । बालकुमारीका प्रजेश महर्जन पनि घर नजिकैको फिल्म हल छाडेर नियमित मल्टीप्लेक्स हलतिर हानिन्छन् । मल्टीप्लेक्समा अनलाइन टिकट बुकिङको सुविधाका कारण टिकट काट्ने झन्झट नभएको उनले बताए । ‘योजना बनायो बुकिङ गर्यो अनि समयमा गएर आरामले मनोरञ्जन लियो,’ उनले भने । यसो गर्दा समयको बचत हुने नै भयो साथै कुनै समस्याविना मज्जाले मनोरञ्जन पनि पाइन्छ ।
व्यवसायीको भनाइ
दर्शकले विभिन्नखाले सुविधाका साथै फिल्मको मनोरञ्जन लिऊन् भनेर गुणस्तरीय सिनेमा र हलको अवधारणासहित क्वेष्ट इण्टरटेनमेण्ट प्रालि सञ्चालनमा ल्याएको अध्यक्ष नकिम उद्दीनले बताए । आफ्ना फिल्म हलमा आवाज प्रणाली, पर्दामा हेर्ने कोण, हल सजावट आदि सुविधाका कारण दर्शकले अत्यधिक रुचाएको र उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको उनले जानकारी दिए । हाल सबै वर्गका दर्शक हलमा चलचित्र हेर्न आउने गरेको उनले सुनाए । त्यसैले आफ्ना सोचले सफलता पाएकामा उनलाई हौसला प्रदान भएको देखिन्छ । यही सफलताका कारण निकट भविष्यमा ललितपुरको विशाल बजारमा पनि नयाँ सिनेमाहल निर्माणको तयारी गरेको उनले जानकारी दिए । त्यहाँ तीनओटा हल बनाइने उनले बताए ।
चलचित्र विकास बोर्डका निर्माण अधिकृत हरिसिंह रैखोला पनि नयाँ सोचका साथ विकास भएका यस्ता हलले गुणस्तरका साथै उत्कृष्ट सेवासमेत प्रदान गरेको बताए । यसले नेपाली दर्शकका लागि फिल्म हेर्ने नयाँ स्वादको अनुभव दिएको उनको अनुभव छ । हिन्दीलगायत अन्य अन्तरराष्ट्रिय चलचित्रका तुलनामा नेपाली फिल्म भने मल्टीप्लेक्समा लामो समय टिक्न नसकेको उनले बताए । कम लगानीका नेपाली चलचित्रको तुलना अन्तरराष्ट्रिय चलचित्रसँग गर्न नमिल्ने उनको तर्क छ ।
मल्टीप्लेक्स नै किन ?
आवाज तथा दृश्यको उत्कृष्ट संयोजनमा विशेष ध्यान दिई क्यूएफएक्स, एफक्यूबजस्ता मल्टीप्लेक्सले हलमा उत्कृष्ट गुणस्तर पस्कन उत्कृष्ट प्रविधि जडान गरेका छन् । ध्वनि, दृश्य, हलको डिजाइनलगायत पक्षमा यिनीहरू अन्तरराष्ट्रियस्तरका छन् । यसका साथै दर्शकको सुविधाका साथै मनोरञ्जनका लागि उचित वातावरणको समेत व्यवस्था गरेको देखिन्छ । समयसमयमा रमाइलो तथा कामको व्यस्तता फिल्मको संसारमा भुलाउन चाहने दर्शकलाई यसैका कारण केहि बढी तिर्नुपरे पनि उचित प्रतिफल पाएको अनुभूति हुने गरेको छ । ‘पैसा हुँदै त हो मनोरञ्जन गर्ने, नहुँदा के को मनोरञ्जन,’ महर्जन भन्छन् । लगानीको उचित प्रतिफल पाइन्छ भने अलिक बढी खर्च भए पनि खासै फरक नपर्ने दर्शकको भनाइ छ । तर, खर्चको उचित प्रतिफल भने पाउनुपर्ने उनले बताए । काठमाडौंमा एउटा फिल्म हेरेको १ सय रुपैयाँ तिर्नुलाई सामान्य मानिन्छ । मल्टीप्लेक्स सिनेमा हलमा एउटा चलचित्र हेर्नका लागि २ सय देखि ४ सय ५० रुपैयाँसम्म तिर्नुपर्दछ ।
दर्शकहरू पनि विस्तारै फिल्मका लागि मल्टीप्लेक्सतिर आकर्षित हुन थालेका देखिन्छन् । यसले उपलब्ध गराउने रोमाञ्चक अनुभूति, आवाज तथा दृश्यको गुणस्तर, हलको डिजाइन तथा आरामदायी वातावरण यसका कारण हुन् । यस्ता मल्टीप्लेक्समा दर्शकले चलचित्रको मात्र नभई खाना, शपिङ, खेलजस्ता विविध मनोरञ्जन पनि लिन सकिन्छ । यसले पनि मल्टीप्लेक्सको लोकप्रियतामा नयाँ आयाम थपेको छ । दर्शकको यही आकर्षणका कारण नेपालमा मल्टीप्लेक्स हलको सङ्ख्या बढ्दो छ । क्यूएफएक्स, बिग सिनेमा आदिको सूचीमा चाबहिलस्थित केएल टावरमा खुलेको ‘एफक्यूब सिनेमा’ पनि थपिएको छ । यस्ता हल सञ्चालनमा रू. ५ करोडभन्दा बढी लगानी भएको क्वेष्टका अध्यक्षले जानकारी दिए । दर्शकले फिल्म हेर्दा कुनै तनाबविना पूर्ण सन्तुष्टिको अनुभूति पाऊन् भनेरै यस्ता फिल्म हलको अवधारणा ल्याइएको बताइन्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.