काठमाडौं । रिलायबल नेपाल लाइफको सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयरको लकइन माघ मसान्तमा सकिने भएको छ ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर २५ गते निर्देशन जारी गर्दै सामूहिक लगानी कोषहरूले खरीद गरेको धितोपत्र सार्वजनिक निष्कासनको मितिले ६ महीना पूरा नभएसम्म विक्री गर्न नपाउने व्यवस्था गरेको हो । कात्तिकदेखि लागू हुने गरिएको उक्त व्यवस्था कार्यान्वयन गर्दै रिलायबल नेपाल लाइफले ३ लाख ११ हजार १४१ कित्ता शेयर लकइनमा राखेको थियो । लकइन समाप्त हुनुभन्दा एक महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्थाबमोजिम कम्पनीले सूचना जारी गरेको हो ।
लकइन अवधि समाप्त भएपछि सामूहिक लगानीकोषले उक्त शेयर कारोबार गर्न सक्नेछन् । यस कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को लाभांश प्रस्ताव गरेको छ । पुस २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४ अर्बको आधारमा १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले पहिलो पटक लाभांश वितरण गर्न लागेको हो ।