भविष्यमा हुने घटनालाई आधार बनाएर कुनै पनि पक्षबीच हुने करार सांयोगिक करार हो । यस्तो करारमा उल्लिखित कनै पनि सम्बद्ध घटना भएमा वा नभएमा मात्र करारीय दायित्व उत्पन्न हुन्छ । यस्तो करार वर्तमान समयमा हुनुका साथै तत्कालैदेखि पक्षहरूबीच कानूनी सम्बन्ध स्थापित हुन्छ । तर, यसबाट उत्पन्न हुने दायित्व भने भविष्यमा हुने अनिश्चित घटनामा आधारित हुन्छ । त्यस्तो सम्बद्ध अनिश्चित भावी घटना भए वा नभएमा ती पक्षले सो करारीय दायित्व पूरा गर्नुपर्छ । घटना हुने वा नहुने कुरा नै मुख्य शर्त भएकाले सो शर्त पूरा भएमा वा नभएमा मात्र दायित्व सृजना हुन्छ । शर्त राखेर गरिने भएकाले यसलाई शर्तात्मक करारका रूपमा पनि लिइन्छ । विशेष प्रकृतिका रूपमा रहेको यस्तो करारमा करारीय दायित्व उत्पन्न हुन शर्त समावेश भएकै हुनुपर्छ । बीमा कम्पनीसँग गरिएको करार, सांयोगिक करारको राम्रो उदाहरण हो ।
सांयोगिक करार संयोगमा आधारित हुने तर त्यस्तो अवस्थामा घटना असम्भव भएका कारण घटना नहुने भएकाले सम्झौता नै शून्य हुन्छ ।
करार ऐन २०२३ मा यससम्बन्धी व्यवस्था थिएन । करार ऐन, २०२३ लाई खारेज गर्ने गरी आएको करार ऐन २०५६ को दफा १२ मा विशेष करारका रूपमा यस्तो व्यवस्था सर्वप्रथम समेटिएको थियो भने हालको मुलुकी देवानी संहिता २०७४ को दफा ५१३ मा यससम्बन्धी विषय उल्लेख छ । त्यस्तो करारबाट कसरी दायित्व सृजना हुने वा नहुने र बदर हुने सम्बन्धमा संहिताले स्पष्ट व्यवस्था गरेको छ ।
भारतीय करार ऐन १८७२ को दफा ३१ अनुसार, ‘समपाश्र्विक कुनै घटना भएमा वा नभएमा कुनै कुरा गर्ने वा नगर्ने सम्बन्धमा गरिएको करारलाई सांयोगिक करार भनिन्छ ।’ यसबाट के बुझिन्छ भने करारसँग सम्बद्ध वा करारमा उल्लेख भएको घटनाको प्रकृतिसँग मेल खाने खालको कुनै काम गर्ने वा नगर्ने सम्बन्धमा गरिएको करार नै सांयोगिक करार हो ।
मुलुकी देवानी संहिता २०७४ को दफा ५१३ मा यससम्बन्धी व्यवस्था गरिएको छ । दफा ५१३ : सांयोगिक करार : (१) भविष्यमा कुनै घटना भएमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो घटना नभएसम्म त्यस्तो करारबाट कुनै दायित्व सृजना हुने छैन । (२) भविष्यमा कुनै व्यक्तिले कुनै खास काम गरेमा करार भएको मानिने गरी करार भएकोमा त्यस्तो व्यक्तिले त्यस्तो काम नगर्ने वा गर्न नसक्ने गरी कुनै काम कारबाही गरेमा त्यस्तो करारबाट कुनै दायित्व सृजना हुनेछैन । (३) भविष्यमा कुनै अनिश्चित घटना नभएमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो घटना हुन असम्भव भएपछि मात्र त्यस्तो करारबमोजिमको दायित्व सृजना हुनेछ । (४) भविष्यमा कुनै निश्चित समयभित्र कुनै घटना भएमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यसरी निर्धारित समयभित्रै वा निर्धारित समय समाप्त भएपछि त्यस्तो घटना हुन असम्भव भएपछि त्यस्तो करार बदर भएको मानिनेछ । (५) भविष्यमा कुनै घटना कुनै खास समयभित्र नभएमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो समयभित्र त्यस्तो घटना नभएमा वा त्यस्तो समयभित्र त्यस्तो घटना नहुने निश्चित भएमा त्यस्तो करारबमोजिमको दायित्व सृजना हुनेछ । उपर्युक्त व्यवस्थाअनुसार गरिएको करारबमोजिम भविष्यमा कुनै घटना भएमा या नभएमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो घटना भएमा वा नभएसम्म त्यस्तो करारबाट कुनै दायित्व सृजना हुँदैन । भविष्यमा कुनै व्यक्तिले कुनै खास काम गरेमा करार भएको मानिने गरी करार भएकोमा त्यस्तो व्यक्तिले त्यस्तो काम नगर्ने वा गर्न नसक्ने गरी कुनै काम कारबाही गरेमा त्यस्तो करारबाट पनि कुनै दायित्व सृजना हुँदैन ।
यसैगरी भविष्यमा कुनै अनिश्चित घटना नभएमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो घटना हुन असम्भव भएपछि मात्र त्यस्तो करारबमोजिमको दायित्व सृजना हुन्छ । भविष्यमा कुनै घटना कुनै खास समयभित्र नभएमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यस्तो समयभित्र त्यस्तो घटना नहुने वा सो समयभित्र त्यस्तो घटना नहुने निश्चित भएमा त्यस्तो करारबमोजिमको दायित्व सृजना हुन्छ । यसबाट के स्पष्ट हुन्छ भने यस्तो खालको करारमा (१) करारबमोजिम गर्नुपर्ने काम सांयोगिक हुनुपर्ने र (२) त्यस्तो संयोग अनिश्चित हुनुपर्ने हुन्छ । यदि घटना निश्चित भएमा त्यसलाई सांयोगिक करार मानिँदैन ।
भविष्यमा कुनै निश्चित समयभित्र कुनै घटना भएमा कुनै काम गर्ने वा नगर्ने गरी करार भएकोमा त्यसरी निर्धारित समयभित्रै वा निर्धारित समय समाप्त भएपछि सो घटना हुनु असम्भव भएपछि भने त्यस्तो करार बदर हुन्छ ।
यसका विशेषता
समपाश्र्विक वा सम्बद्ध घटना : यो करारसँग सम्बद्ध छुट्टै र स्वतन्त्र घटना हो । सो घटना हुने र नहुने कुराले करारीय दायित्व उत्पन्न हुने र नहुने कुरालाई निर्धारण गर्छ । शर्तको रूपमा रहेको घटना नै करारको दायित्वको प्रमुख निर्णायक तत्त्व हो । यस्तो सम्बद्ध घटनाको अभावमा करारको निर्माण सम्भव हुँदैन ।
परिपालना भावी घटनामा आधारित : सांयोगिक करार गर्ने कार्य वर्तमान अवस्थामा भए पनि यसको परिपालना भावी घटनामा निर्भर रहन्छ । करारका शर्तहरूका रूपमा यसले पक्षहरूको बीचमा कानूनी सम्बन्ध स्थापित गरेको हुन्छ । तर, परिपालना भावी घटना भएपछि मात्र सम्भव हुन्छ ।
अनिश्चित घटना : करारको परिपालना निर्धारण गर्ने भावी घटना हुने वा नहुने कुरा गर्दाको समयमा अनिश्चित हुन्छ । यदि त्यस्तो घटना निश्चित भएमा त्यस्तो करार सांयोगिक मानिँदैन ।
घटना कबुलकर्ताको इच्छामा निर्भर नहुने : करारीय दायित्व अनिश्चित भावी घटनामा निर्भर रहने हुन्छ । त्यस्तो भावी घटना हुने वा नहुने कुरा कबुलकर्ताको इच्छामा वा
नियन्त्रणमा हुँदैन ।
सांयोगिक करारका सम्बन्धमा अन्य व्यक्तिको भावी आचरण वा व्यवहारमा आधारित भई करार गरिएको छ र त्यस्तो तेस्रो व्यक्तिको आचरण वा व्यवहारबाट सो घटना असम्भव भएमा करार शून्य हुन्छ । भविष्यमा कुनै अनिश्चित घटना नभएमा करारको दायित्व उत्पन्न हुने गरी पक्षहरूका बीच करार भएको छ भने सो घटना नहुने निश्चित हुनासाथ करारको दायित्व सृजना हुन्छ ।
निश्चित समय किटानी गरी गरेको करारमा उक्त समयभित्र दायित्व उत्पन्न हुने गरी करार भएकोमा सो समयभित्र उल्लिखित घटना नभएसम्म करारको दायित्व सृजना हुँदैन । निर्धारित समयभित्र त्यस्तो घटना नभएमा वा हुन असम्भव भएमा करार शून्य हुन्छ । यसै गरी सामान्य करार जस्तै यो करार पनि परिपालना गर्न अर्थात् पूरा गर्न सकिने र सम्भव घटनामा आधारित हुनुपर्छ । यस्तो करार असम्भव घटनामा आधारित भएमा त्यस्तो सम्झौता प्रारम्भदेखि नै शून्य हुन्छ । सांयोगिक करार संयोगमा आधारित हुने तर त्यस्तो अवस्थामा घटना असम्भव भएका कारण घटना नहुने भएकाले सम्झौता नै शून्य हुन्छ । यसरी विशेष करारका रूपमा मान्यता पाएको सांयोगिक करारका सम्बन्धमा मुलुकी देवानी संहिताले स्पष्ट व्यवस्था गरेको छ ।
लेखक अधिवक्ता हुन् ।