काठमाडौं । सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न सरकारी निकायले बोलपत्र आह्वान गर्दा स्वदेशी वस्तु नै किन्नुपर्ने प्रावधान राख्नुपर्ने भएको छ ।
गत मङ्सिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्नेसम्बन्धी निर्देशिका २०८१’ पारित गरेको थियो । उक्त निर्देशिकामा सरकारी निकायले विभिन्न वस्तु किन्दा स्वदेशी नै किन्नुपर्ने प्रावधान छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा सरकारले उक्त निर्देशिका पारित गरेको हो ।
सार्वजनिक खरीद नियमावली २०६४ मा १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु खरीद गर्न सकिने व्यवस्था छ । उक्त नियमावलीमा स्वदेशी वस्तु खरीद गर्न अनिवार्य नगरिए पनि नयाँ निर्देशिकामा नेपाली वस्तु खरीद गर्नुपर्ने प्रावधान राखिएको छ ।
निर्देशिका पारित भएसँगै सरकारले चाँडै नै सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने तयारी गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीले बताए । उनका अनुसार सरकारी निकायले सामान खरीदका लागि बोलपत्र आह्वान गर्दा नै स्वदेशी वस्तु किन्नुपर्ने प्रावधान राख्नेछन् । सरकारले निर्देशिका पारित गरे पनि राजपत्रमा सूचना निकालेपछि मात्रै कार्यान्वयन हुने उनले जानकारी दिए । सूचना कहिले निकाल्ने भन्ने विषय टुंगो लागेको छैन ।
सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट उत्पादित पोशाक प्रयोग गर्नुपर्ने, सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रम, गोष्ठी वा सेमिनारमा आवश्यक पर्ने वस्तुको प्रयोग गर्दा उपलब्ध भएसम्म स्वदेशी प्रयोग गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्नेसम्बन्धी निर्देशिका २०७१’ मन्त्रिपरिषद्को बैठकले २०७२ वैशाखमा स्वीकृत गरेको थियो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकारी निकायले स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने भएपछि स्वदेशी उत्पादनको प्रवर्द्धन हुने बताए ।
‘कुनै पनि मुलुकको सबैभन्दा ठूलो क्रेता भनेको सरकार नै हो । त्यस कारण उसले आफू मातहतका सबै कार्यालयमा स्वदेशी उत्पादन प्रयोग गर्दा स्वदेशी वस्तुको माग र खपत वृद्धि हुन्छ, जसले गर्दा आन्तरिक उद्योगहरूले आफ्नो उत्पादन बढाउँछन् र रोजगारी वृद्धिमा सहयोग पुग्छ । साथै राज्यको कर संकलन पनि बढ्छ । सरकारको यो निर्णय नेपाली उद्योगीका लागि ठूलो अवसर हो,’ उनले आर्थिक अभियानसँग भने । परिसंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग २०७८ असार १० गते साझेदारीपत्रमा हस्ताक्षर गरी ‘मेक इन नेपाल स्वदेशी’ अभियानसमेत सञ्चालन गरिरहेको छ ।
निर्देशिकामा उल्लेख भएअनुसार स्वदेशी वस्तुको सूचीमा स्टेशनरी, कार्यालय सामान, छपाइसम्बन्धी वस्तुका सामग्री, तयारी पोशाकसँग सम्बद्ध वस्तु र कोसेली तथा उपहार सामग्री, फर्निचर, फर्निसिङ, सरसफाइ, फ्लोरिकल्चर तथा साजसज्जाका वस्तु वा सामग्री रहेका छन् । निर्माण सामग्री, कृषि तथा पशुजन्य उत्पादन र खाद्य तथा पेय पदार्थ पनि यसमा समेटिएको छ ।
स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको अधिकतम उपभोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सृजना, आयात व्यवस्था तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्न र सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सो निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याउन लागिएको मन्त्रालयले बताएको छ ।
सरकारी निकायले किन्नैपर्ने स्वदेशी वस्तुको सूची
स्टेशनरी, कार्यालय सामान, छपाइसम्बन्धी वस्तु वा सामग्री
१. नेपाली हाते कागज तथा कागजबाट निर्मित वस्तु वा सामग्री ।
२. ब्राउन पेपर, पेन्सिल, डटपेन, नेपाली खाम, नोटबुक, रजिस्टर, टिस्यु पेपर, डायरी, कापी, चक, बोर्ड मार्कर, फाइल, फाइल बाँध्ने कपडा, तुनालगायतका वस्तु वा सामग्री ।
३. विभिन्न गोष्ठी, सेमिनार, कार्यक्रममा आवश्यक पर्ने वस्तु (ब्याग, दोसल्ला, सल, जस्ता सामग्री ।
४. रेनकोट ।
तयारी पोशाकसँग सम्बद्ध वस्तु र कोसेली तथा उपहार सामग्री
(१) अल्लो, केतकी, बाँस, केराको रेसालगायत अन्य प्राकृतिक रेसा जस्ता स्थानीय कच्चा पदार्थबाट निर्मित कपडा ।
(२) ऊनबाट निर्मित विभिन्न प्रकारका वस्तु वा सामग्री ।
(३) ढाका तथा ढाकाजन्य सामान ।
(४) पस्मिनाका उत्पादन ।
(५) जुटबाट निर्मित सामान
(६) सार्वजनिक निकायका कर्मचारी तथा पदाधिकारीलाई तोकिएको पोशाक तथा टोपी, जुत्ता, पेटीलगायत सामान ।
(७) सभा वा सम्मेलनमा प्रयोग हुने झोला, ब्याग, ब्याच तथा अन्य सामान ।
(८) परम्परागत हस्तकला, काष्ठकला, मूर्तिकला, चित्रकला तथा प्रस्तरका वस्तु वा सामग्री ।
(९) गुडिया, खेलौना, पुतलीजस्ता सामान ।
(१०) छालाबाट तयार गरिएका सामान ।
फर्निचर, फर्निसिङ, सरसफाइ, फ्लोरिकल्चर तथा साजसज्जाका वस्तु वा सामग्री
(१) काठबाट निर्मित फर्निचर, प्लाइउड, बेत तथा बाँसबाट निर्मित सामान, अम्रिसो तथा निगालोबाट तयार भएका सामान ।
(२) गलैंचा, कार्पेट (बुनेको वा नबुनेको), तौलिया, तन्ना, पर्दा, मेट्रेस, इपिइ रोल, पटेर, फोम, सिरानीलगायत अन्य फर्निसिङका सामान ।
(३) टेबुलपोस वा म्याट, गमला, टी–म्याट, मैनबत्ती, अगरबत्ती, दुनाटपरी लगायत अन्य साजसज्जा तथा प्रयोगका सामान ।
(४) सरसफाइमा प्रयोग हुने झोल तथा केमिकल (ट्वाइलेट, बाथरुम तथा झ्याल, ढोका क्लिनर), फिनेल, साबुन (झोलसहित), सर्फ, स्याम्पु, रुमस्प्रे, झाडु, कुचोलगायत सरसफाइमा प्रयोग हुने सामान ।
(५) डस्टबिन, बाटा, बाल्टी, मग ।
(६) ट्वाइलेट पेपर ।
(७) पुष्पमाला, फ्लका बोटविरुवा तथा अन्य बोटबिरुवा ।
मेशिनरी, औजार तथा उपकरण
(१) ट्रान्सफर्मर (६३ एमभीएसम्म)
(२) लघु तथा साना जलविद्युत् आयोजना (२ मेगावाटसम्म) को लागि आवश्यक पर्ने वस्तु वा सामग्री ।
(३) कपर वा आल्मुनियम बाइन्डिङ वायर ।
(४) कम्प्युटर सफ्टवेयर ।
(५) सुक्खा ब्याट्री ।
(६) कृषि कार्यमा प्रयोग हुने मेशिन तथा उपकरण ।
(७) एसीएसआर, एएसी आल्मुनियम कन्डक्टर र १.१ केभीसम्मको केबल ।
(८) पिएससी र एसटिपी पोल ।
(९) हेलमेट ।
निर्माण सामग्री
(१) सिमेन्ट, छड, इँटा ।
(२) रङरोगनका वस्तु वा सामग्री ।
(३) एएसी ब्लक (हलुका आधुनिक इँटा) ।
(४) झ्याल ढोकामा प्रयोग हुने आल्मुनियम प्रोफाइल, आल्मुनियमका झ्याल तथा ढोका ।
(५) प्रिफ्याब वाल प्यानल ।
(६) रोजिन तथा तारपिन तेल ।
(७) काठबाट तयार भएका वस्तु वा सामग्री ।
कृषि तथा पशुजन्य उत्पादन र खाद्य तथा पेय पदार्थ
(१) दूध वा दूधजन्य विभिन्न पदार्थ ।
(२) अण्डा, माछामासु र मासुजन्य पदार्थ ।
(३) प्रशोधित तेल, वनस्पति, घिउलगायतका पदार्थ ।
(४) चिया, कफी, अलैंची, अदुवा, मसलाजन्य वस्तु ।
(५) सबै प्रकारका फलफूल र फलफूलबाट तयार भएका खाद्य तथा जुसलगायत पेय पदार्थ ।
(६) मिनरल वाटर, प्रशोधित पिउने पानी (बोतल वा जार) लगायत हल्का पेय पदार्थ ।
(७) सार्वजनिक निकाय, सार्वजनिक विद्यालय, सार्वजनिक सामुदायिक अस्पताल, वृद्धाश्रम, बालगृह, सुधारगृह तथा कारागारमा प्रयोग हुने सातु, पिठो, लिटो, बिस्कुट, विशेष गुणयुक्त बिस्कुट, मह, जडीबुटीजन्य वस्तु, प्लास्टिकका प्याकेजिङ फिल्म तथा सिट (दूध, घ्यू, आदि प्याक गर्न प्रयोग हुने) ।