काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय चारपांग्रे गाडी (ईभी) भित्त्याउने क्रम तीव्र रूपमा बढिरहेको छ । त्यस्ता गाडीको प्रयोगमा सरकारले प्रोत्साहनको नीति लिएपछि प्रयोगकर्तासँगै आयात गर्नेहरूबीच पनि होडबाजी चलेको छ ।
विद्युतीय गाडीहरू धेरैभन्दा धेरै नेपालमा निर्यात गर्न चिनियाँ कम्पनीहरू सफल भइरहेका छन् । भारतीयको अंश कमजोर देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ पहिलो ५ महीनामा नेपालमा ४ हजार ६९७ ओटा चारपांग्रे विद्युतीय गाडी भित्रिएको तथ्यांक छ । यसमा चीनबाट आयातितको संख्या ३ हजार ५८९ छ । यो कुल चारपांग्रे विद्युतीय गाडी आयातको करीब ७६ प्रतिशत हो ।
सोही अवधिमा भारतबाट १ हजार ९६ ओटा विद्युतीय चारपांग्रे भित्रिएको छ । गत आव २०८०/८१ पहिलो ५ महीनामा ३ हजार ६८६ ओटा विद्युतीय गाडी नेपाल भित्रिएका थिए । त्यसमा चीनबाट २ हजार २९७ ओटा र १ हजार ३३८ ओटा भारतबाट ल्याइएको थियो ।
जी मोटर्सका प्रमुख कैलाश गेलालले भारतभन्दा चीनबाट बढी चारपांग्रे गाडी आउनुका कारण राम्रो उत्पादन र स्थापित ब्रान्ड हुनु रहेको बताउँछन् । ‘चीनले ईभीमा राम्रो ग्रोथ गरेको छ, विश्वमाझ उसकै गाडीहरू प्रख्यात भएका छन्,’ उनले भने, ‘त्यसैले पनि भारतबाट भन्दा चीनबाट धेरै गाडी आएका हुन् ।’ नेपालमा ईभीमा आकर्षण बढ्नुको अर्को कारण सडक पूर्वाधारको विकास रहेको उनको भनाइ छ ।
छिमेकी मुलुकहरू चीन र भारतका साथै जर्मनी, अमेरिका, दक्षिण कोरिया र इन्डोनेशियाबाट नेपालमा विद्युतीय चारपांग्रे आयात गरिएको छ । नेपाली बजारमा बीवाईडी, नेटा, एमजी, सेरेस, ओरा जस्ता चिनियाँ ब्रान्डहरूसँगै टाटा, महिन्द्रा जस्ता भारतीय ब्रान्डका विद्युतीय चारपांग्रे गाडी लोकप्रिय छन् । त्यसैगरी कोरियाली ब्रान्ड हुन्डाई र किया पनि नेपाली बजारमा लोकप्रिय छन् ।
भन्सार विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ५ महीनामा मात्र ११ अर्ब २७ करोड २१ लाख रुपैयाँका ४ हजार ६९७ ओटा विद्युतीय कार, जीप र भ्यान आयात भएको देखिन्छ । यसबाट सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
नेपालमा खासगरी ५०–१०० किलोवाट क्षमताका विद्युतीय चारपांग्रेमा उपभोक्ताको आकर्षण उच्च छ । विद्युतीय चारपांग्रेको बढ्दो प्रयोगले पेट्रोल/डिजेलबाट चल्नेको आयातमा पनि असर देखिन थालेको छ । चालू आवको ५ महीनामा १ अर्ब ७२ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरका १ हजार ४३७ पेट्रोल/डिजेलबाट चल्ने चारपांग्रे सवारीसाधन आयात भएको छ । यो संख्या गतवर्षको सोही अवधिको तुलनामा थोरै मात्र बढी हो ।
गत आर्थिक वर्षभरि २ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ मूल्यका २ हजार ४८८ ओटा इन्धनबाट चल्ने चारपांग्रेसवारीसाधन आयात भएका थिए । ती सवारीसाधन आयातबाट सरकारले ७ अर्ब ७ करोड ३३ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको थियो । पूर्वपश्चिम राजमार्गमा अहिले चार्जिङ स्टेशन विस्तारको काम धमाधम भइरहेकाले पनि विद्युतीय सवारीसाधनमा आकर्षण झनै बढेको विक्रेताहरूको भनाइ छ ।