काठमाडौं । हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ ।
सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा अस्तित्वमा रहेकामध्ये त्यस्तो अवस्था देखिएको हो ।
प्रतिवेदनअनुसार अघिल्लो आव २०७८/७९ मा सार्वजनिक संस्थानको कूल सञ्चालन आय रु पाँच खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेकामा गत आव २०७९/८० मा १४ दशमलव ८७ प्रतिशतले वृद्धि भई रु ६ खर्ब ६१ अर्ब एक करोड २९ लाख पुगेको छ ।
‘अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको समग्र खुद नाफामा तीन हजार ४६ दशमलव २० प्रतिशतले वृद्धि भई गत आर्थिक वर्ष २०७९/८० मा रु ४८ अर्ब ५१ करोड ७५ लाख कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसरी नाफा उच्च वृद्धि हुनुमा नेपाल आयल निगममा आव २०७८/७९ मा रु ३८ अर्ब १७ करोड ७८ लाख घाटा रहेकोमा आव २०७९/८० मा रु ११ अर्ब ७२ करोड ३० लाख नाफामा रहनु मुख्य कारण हो ।’
आव २०७९/८० मा नाफामा सञ्चालित २६ संस्थानको गत वर्षको तुलनामा खुद नाफा नौ सय ८१ दशमलव ४० प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १५ संस्थानको गत वर्षको तुलनामा खुद नोक्सानी दुई दशमलव ८१ प्रतिशतले बढेको देखिन्छ । सार्वजनिक संस्थानको प्रशासनीक खर्च २३ दशमलव ७९ प्रतिशतले बढेको छ ।
संस्थानको शेयरधनी कोष (नेटवर्थ) अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले वृद्धि भई रु नौ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ । समीक्षा अवधिमा ३२ वटा संस्थानको शेयरधनीकोष धनात्मक र बाँकी १० वटाको ऋणात्मक छ ।
संस्थानका नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा आठ दशमलव ६२ प्रतिशतले वृद्धि भई रु ६ खर्ब ६१ अर्ब १० करोड ७४ लाख पुगेको छ । गत आवको तुलनामा शेयर लगानी नौ दशमलव १९ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७९ अर्ब ७२ करोड १६ लाख पुगेको छ भने ऋण लगानी सात दशमलव ८६ प्रतिशतले कमी आई रु दुई खर्ब ८१ अर्ब ३८ करोड ५८ लाख पुगेको छ ।
अघिल्लो आवको तुलनामा गत आव २०७९/८० मा कोषमा व्यवस्था नभएको दायित्व ११ दशमलव ६३ प्रतिशतले वृद्धि भई रु ५२ अर्ब ८७ करोड दुई लाख पुगेको छ भने सम्भावित दायित्व ४४ दशमलव ८३ प्रतिशतले बढेको छ ।
सार्वजनिक संस्थानमा आव २०७८/७९ को तुलनामा चुक्ता पूँजी १० दशमलव ६२ प्रतिशतले वृद्धि भई आव २०७९/८० मा रु चार खर्ब १२ अर्ब १२ करोड ८१ लाख पुगेको थियो, जसमा नेपाल सरकारको पूँजी लगानी ९२ दशमलव १३ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको सात दशमलव ८७ प्रतिशत शेयर स्वामित्व छ । आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादन रु ५३ खर्ब ८१ अर्ब ३४ करोडमा सार्वजनिक संस्थानको कुल सञ्चालन आयको अनुपात १२ दशमलव २८ प्रतिशत छ ।
नेपाल सरकारले प्राप्त गरेको कुल आयकरमा आर्थिक वर्ष २०७८/७९ मा संस्थानको योगदान पाँच दशमलव ५९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९/८० मा छ दशमलव ९७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको सञ्चितकोषमा सार्वजनिक संस्थानले कुल रु १७ अर्ब ३९ करोड ४६ लाख आयकर दाखिला गरेका थिए ।
त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानमा ३२ हजार एक सय ८० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । जनोपयोगी क्षेत्रका संस्थानमा सबैभन्दा बढी १३ हजार तीन सय ७७ जना र सामाजिक क्षेत्रका संस्थानमा सबैभन्दा कम एक हजार चार सय आठ जना कार्यरत छन् ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा संस्थानको सञ्चित नाफामा १६ दशमलव ६८ प्रतिशतले वृद्धि भई रु ६१ अर्ब १४ करोड ९६ लाख पुगेको छ । सञ्चालनमा रहेका संस्थानमध्ये सातवटा संस्थान नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत छन् । कुल बजार पूँजीकरणमा सूचीकृत सरकारी संस्थानको हिस्सा विसं २०८० असार मसान्तमा १८ दशमलव ३२ प्रतिशत छ ।
निजीकरण गरिएका १८ वटा सार्वजनिक संस्थानमध्ये १० वटा संस्थान नाफामा छन् । निजीकरण ऐनबमोजिम खारेज भएका १२ संस्थानमध्ये हालसम्म कृषि चुन उद्योग लिमिटेडको मात्र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता खारेजी भई कानुनीरूपमा अस्तित्व समाप्त भएको छ ।
कृषि औजार कारखाना लिमिटेड बन्द रहेकोमा मन्त्रिपरिषद्को विसं २०७९ भदौ ३१ को निर्णयानुसार यसलाई राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिइएको छ भने अन्य खारेजीमा परेका सार्वजनिक संस्थानको कानुनी प्रक्रिया पूरा हुन सकेको छैन ।
सार्वजनिक संस्थानको प्रशासनिक खर्च आर्थिक वर्ष २०७८/७९ मा रू ३५ अर्ब ४६ करोड ४७ लाख रहेकोमा आर्थिक वर्ष २०७९/८० मा २३ दशमलव ७९ प्रतिशतले वृद्धि भई रु ४३ अर्ब ९० करोड १८ लाख छ । २० वटा संस्थानले लेखापरीक्षण गराएका छन् भने अन्य २४ वटा संस्थानले नियमित लेखापरीक्षण गराएका छैनन् । रासस