प्रधानमन्त्री डा. बाबुराम भट्टराईले धनीसँग बढी शुल्क लिन र गरीबलाई सस्तोमा सेवा दिन निजी अस्पतालहरूलाई सुझाव दिएका छन् । सोझो दृष्टिकोणबाट हेर्दा उनको भनाइ उचित नै लाग्छ । तर, ग्रीनसिटी अस्पताल उद्घाटनका क्रममा उनले जे अर्तीउपदेश दिए, त्यो निजी अस्पतालहरूले पहिलेदेखि नै गरिरहेका छन् । ग्रीनसिटीले पनि आगामी दिनमा त्यसो गर्ने आशा गर्न सकिन्छ । तर, उनले भनेजस्तो निजी अस्पतालले गरीबलाई सस्तोमा उपचार सेवा उपलब्ध गराएर मुलुकका सबै जनताको पहुँच सर्वसुलभ स्वास्थ्य सेवामा पुग्ला त ? अवश्य पनि पुग्दैन ।
देशका जनताका लागि सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउने हो भने सबै जनताको स्वास्थ्यबीमा अनिवार्य गर्ने कार्यक्रम ल्याउन धनीबाट बढी शुल्क लिने र त्यसबाट गरीबलाई सेवा पुर्याउने डा. भट्टराईको अर्ती पुरानो सिद्धान्त हो । अर्थमन्त्री हुँदा उनले निजी विद्यालयमा छोराछोरी पढाउने अभिभावकलाई धनीको दायरामा राखे र उनीहरूबाट शिक्षासेवा कर असुल्ने नियम बनाए । एउटा व्यवसायीबाट कर असुल्नेसम्मको कुरा त ठीकै थियो तर अभिभावकबाटै कर लिने नियम लगाएपछि सर्वत्र त्यसको विरोध भयो र विवादकै कारण अहिलेसम्म पनि त्यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन । एउटा निजी अस्पतालको उद्घाटनमा गरीबलाई सस्तोमा सेवा देऊ भन्ने प्रधानमन्त्रीले भोलि निजी अस्पतालमा जाने बिरामीबाट पनि त्यस्तै कर उठाउने व्यवस्था नल्याउलान् भन्न सकिँदैन ।
(सम्पादकीयबाट)
वर्ष ८, अंक १३३, बुधवार, १७ माघ, २०६९