काठमाडौं । नेपालको पर्यटन तथा पर्यावरण प्रवर्द्धनका लागि दुई देशका व्यवसायीले १० वर्षे योजना बनाएका छन् । नेपाली र चिनियाँ पर्यटन प्रवर्द्धनका साथै काठमाडौं उपत्यकाका खोला तथा फोहोर व्यवस्थापनका लागि यस्तो योजना बनाइएको हो ।
नेपाली हस्तकला व्यवसायीको छाता संस्था र चिनियाँ पर्यटन तथा हस्तकला क्षेत्रमा काम गर्दै आएका संस्थाले यस्तो योजना बनाएको जानकारी दिइएको छ । नेपाल हस्तकला महासंघ र चीनको ओरियन्ट ल्याण्डस्केप एण्ड कम्पनी तथा इष्ट कल्चर टुरिजम एलायन्सको संयुक्त आयोजनामा बुधवार काठमाडौं ‘नेपाल–चीन सांस्कृतिक तथा पर्यटन सम्मेलन–२०२४’ सम्पन्न भएको छ । उक्त सम्मेलनमा अबको १० वर्षमा के के काम गर्ने भन्ने विषयमा चिनियाँ एलायन्सका अधिकारीले जानकारी गराए ।
सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको विकास, विस्तारका लागि चिनियाँ अनुभव अनुकरणीय रहेको र नेपालले त्यसबाट सिक्नुपर्ने धारणा राखे । पर्यटन क्षेत्रको विकासका लागि सरकारले नीतिगत सुधारका लागि काम गर्ने भन्दै उनले भने, ‘यसको विकासका लागि निजीक्षेत्र नै अगाडि आउनुपर्छ ।’
महासंघका अध्यक्ष प्रचण्ड शाक्यले १० वर्षे योजनाअनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाका खोला र फोहोर व्यवस्थापनमा केन्द्रित हुनुका साथै हस्तकला र पर्यटनसम्बन्धी क्षेत्रमा मिलेर काम गरिने बताए । साथै पर्यटन पूर्वाधारका काम गरिने उनको भनाइ छ ।
सम्मेलनमा इष्ट कल्चरल टुरिजम एलायन्सका अध्यक्ष तथा पेचिङ ओरियन्ट ल्याण्डस्केप एण्ड कम्पनीका प्रतिनिधि फंगफ्वा लीले १० वर्षमा दुई चरणमा काम गरिने बताए । बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) फ्रेमवर्कभित्र रहेर काम गरिने उनको भनाइ छ ।
नेपाललाई लामो बिदामा बस्न आउने पर्यटकको केन्द्र बनाउन सकिने उनले बताए । ‘नेपालमा अझै पनि पर्यटन पूर्वाधारको अपुग छ,’ उनले भने, ‘यी पक्ष र पर्यटकको आराम तथा सुविधाका लागि पनि काम गर्नुपर्ने छ, नेपालमा चिनियाँ पर्यटकको आगमन पहिलो स्थानमा ल्याउन प्रयास गर्नेछौं ।’
कार्यक्रममा सहभागीहरूले पर्यटनलाई कलासँग जोड्न आवश्यक भएको बताए । पर्यटन र कला अन्तरसम्बन्धित हुने भन्दै व्यवसायीले काठमाडौं उपत्यकालाई कला पर्यटनको केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘अहिले ललितपुरका पाटनलगायत विभिन्न क्षेत्रलाई हस्तकलासँग सम्बन्धित वस्तु उत्पादनका लागि चिनिने गरी नाम तोकिएको छ,’ महासंघका अध्यक्ष शाक्यले भने, ‘मुलुकको हस्तकलाले पर्यटन क्षेत्रमा योगदान दिएको छ भने कुल निर्यातमा १० प्रतिशत योगदान पुर्याएको छ ।’
नेपाली व्यवसायीले चीनमा मात्र औपचारिक तथा अनौपचारिक रूपमा ७ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामग्री निर्यात गर्दै आएका छन् । महासंघका अनुसार नेपाली हस्तकला वस्तु ६० देशमा निर्यात हुन्छन् । यसको आन्तरिक बजार र विदेश निर्यात गरेर वार्षिक २४ अर्ब रुपैयाँको कारोबार हुने गरेको जानकारी दिइएको छ । हस्तकला क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरेर ११ लाख व्यक्ति संलग्न रहेको महासंघले बताएको छ ।