काठमाडौं । अमेरिकामा बसोवास गर्नेमध्ये १३ दशमलव २ प्रतिशत नेपालीले मात्रै नेपालमा लगानी गरेको पाइएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले हालै सार्वजनिक गरेको प्रतिवेदन ‘नेपाली माइग्रेन्ट ड्रिम्स इन द अमेरिकन ल्यान्डस्केप’ले यो तथ्य बाहिर ल्याएको हो ।
अमेरिकामा रहेका नेपाली डायस्पोराका बारेमा विस्तृत अध्ययन ज्ञगरिएको उक्त प्रतिवेदनले अमेरिकामा रहेका नेपालीमध्ये ९ दशमलव ५ प्रतिशतले अमेरिकामा र शून्य दशमलव ४ प्रतिशतले अन्यत्र लगानी गरेको देखाएको छ ।
- घरजग्गा डायस्पोराका लागि वित्तीय लगानीको सबैभन्दा लोकप्रिय क्षेत्र
- नेपालमा लगानी प्रक्रिया अमेरिकामा जत्तिको सहज नभएको गुनासो
- डायस्पोराबाट हुने लगानीको केन्द्रबिन्दु काठमाडौं उपत्यका वरपर
प्रतिवेदनले ७६ दशमलव ९ प्रतिशत नेपाली डायस्पोराले लगानी नगरेको देखाएको छ । ‘यसले नेपालमा लगानीको ठूलो सम्भावनालाई उजागर गर्छ, साथै डायस्पोरालाई आर्थिक रूपमा संलग्न गर्न थप आकर्षक अवसरहरू वा लगानीमा अवरोधहरू कम गर्नुपर्ने आवश्यकता रहेको छ’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आईआईडीएसले संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदूतावास र एशिया फाउन्डेशनको सहकार्यमा सार्वजनिक गरेको ‘नेपाली माइग्रेन्ट ड्रिम्स इन द अमेरिकन ल्यान्डस्केप’ नेपाली डायस्पोराका जीवनयापनबारेको विस्तृत अध्ययन हो । प्रतिवेदनअनुसार नेपालको घरजग्गा डायस्पोराका लागि वित्तीय लगानीको सबैभन्दा लोकप्रिय क्षेत्र हो । नेपालमा लगानी गरेकामध्ये ५५ दशमलव ६ प्रतिशतले घरजग्गा क्षेत्रमा, ३५ दशमलव २ प्रतिशतले बैंक तथा वित्तीय क्षेत्र, २० दशमलव ४ प्रतिशतले जलविद्युत् तथा स्वच्छ ऊर्जा, ११ प्रतिशतले पर्यटन, ७ दशमलव ४ प्रतिशतले शिक्षा तथा कृषि र ६ दशमलव ५ प्रतिशतले सूचनाप्रविधि एवं मिडिया क्षेत्रमा लगानी गर्ने गरेका छन् ।
नेपालमा लगानी गर्ने डायस्पोरा सदस्यहरूले नेपालमा लगानी प्रक्रिया अमेरिकामा जत्तिको सहज नभएकाले लगानीको वातावरण सुधार गर्नुपर्ने बताएको प्रतिवेदनमा उल्लेख छ । लगानीको वातावरण सुधार गर्नुपर्ने विषय स्वदेशी लगानीकर्ताले पनि बारम्बार उठाउँदै आएका छन् ।
डायस्पोराबाट हुने लगानीको केन्द्रबिन्दु काठमाडौं उपत्यका वरपर रहेको पाइएको छ । तर, यस्तो लगानी उपत्यकाबाहिर गर्न सके शहरी उपयोगितामाथिको दबाब कम गर्न मद्दत पुग्ने र नयाँ शहरी केन्द्र विकास गर्न सकिने प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदनअनुसार अमेरिकामा नेपाली डायस्पोराको जनसंख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । सन् २०२३ को तथ्यांकअनुसार अमेरिकामा नेपालीको संख्या १ लाख ८५ हजारदेखि २ लाख १५ हजार बीचमा पुगेको छ । पछिल्ला १२ वर्षमा अमेरिकामा नेपालीहरूको संख्या भारी मात्रामा बढेको हो । हाल अमेरिकामा रहेकामध्ये ६८ दशमलव ३ प्रतिशत नेपाली डायस्पोरा सन् २०१० पछि त्यहाँ पुगेका हुन् । सन् २०२० को अमेरिकी जनगणनाले पनि यसलाई पुष्टि गरेको छ । उक्त जनगणनाअनुसार करीब २ लाख ८ हजार नेपाली अमेरिकाभर छरिएर बसेका छन् । नेपाली डायस्पोराहरू मुख्य रूपमा अमेरिकाको टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, मेरिल्यान्ड र न्यूयोर्कमा केन्द्रित छन् ।