काठमाडौं । जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न बेलैमा पूर्वतयारी गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)ले पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री (पीएचडीसीसीआई), भारत–नेपाल केन्द्रसँगको सहकार्यमा आयोजना गरेको ‘बीएफएसआई समिट–२०२४’ मा उनीहरूले जलवायु परिवर्तनका लागि नेपालको ठूलो भूमिका नभए पनि यसबाट असर पर्ने भएकाले क्षति कम गर्न सबै क्षेत्रले काम गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रम उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण बाढी पहिरो जस्ता प्राकृतिक विपत्ति बढ्न थालेको बताए । ‘गत असोजमा आएको बाढी पहिरोबाट मात्र ४६ अर्बको क्षति भएको छ,’ उनले भने, ‘जलवायु परिवर्तनले ल्याउने यस्ता असर कम गर्न हामीले बेलैमा पूर्वतयारी गर्नुपर्नेछ ।’ सम्मेलनले यसका लागि सरकारलाई पृष्ठपोषण गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले जलवायु परिवर्तनको असरका विषयमा नेपाल र भारतका उस्तै समस्या रहेकाले मिलेर यसको सामना गर्नुपर्नेमा जोड दिएका छन् । बीएफएसआई समिट जलवायु परिवर्तनका असर न्यूनीकरणका विषयमा केन्द्रित गरिएको बिफिनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले बताए ।
‘जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि दिगो वित्तपोषणको गहनता’ मूल नारा रहेको सम्मेलनमा नीतिनिर्माता र वित्तीय विशेषज्ञहरूले बीएफएसआई (बैंकिङ, वित्तीय सेवा र बीमा) क्षेत्रभित्र दिगोपन बढाउन र जलवायु जोखिम सम्बोधन गर्न नवीन रणनीतिहरूबारे छलफल गरेका छन् ।
जलवायु परिवर्तनका कारण बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रको लगानी पनि जोखिममा पर्ने भन्दै कार्यक्रमका सहभागीहरूले यसतर्फ सचेत हुनुपर्ने औंल्याए । यसका लागि बैंकहरूको लगानी जलवायु अनुकूल, हरित तथा दिगो वित्तीय क्षेत्रमा हुनुपर्नेमा जोड दिइएको थियो । बैंक, बीमा, जलविद्युत्लगायत क्षेत्रका गरी २०० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा तीन सत्रमा प्यानल छलफल भएको छ, जसमा पिपुल प्लानेट एण्ड को–अपरेसन, ग्रीन फाइनान्सिङ र सस्टेनेबल फाइनान्सिङ विषय रहेका थिए ।
कार्यक्रममा उठेका विषय समेटिएको प्रतिवेदन सरकार तथा सरोकारवाला निकायलाई बुझाउने र यसले नियम कानून, निर्देशन तय गर्न सहयोग पुग्ने आयोजक संस्था बिफिनका प्रबन्ध निर्देशक आत्रेयले जानकारी दिए ।
‘जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि दिगो वित्तपोषणको गहनता’ मूल नारा रहेको सम्मेलनमा बीएफएसआई (बैंकिङ, वित्तीय सेवा र बीमा) क्षेत्रभित्र दिगोपन बढाउन र जलवायु जोखिम सम्बोधन गर्न नवीन रणनीतिहरूबारे छलफल भएको छ ।