कुनै कम्पनीका सञ्चालक वा कर्मचारीलाई कम्पनीसँग सम्बद्ध काम, कारोबार तथा सेवा पुर्याएबापत नगदको सट्टा सोही कम्पनीको शेयर प्रदान गर्न सकिने व्यवस्था प्रत्येक देशका कम्पनी ऐनमा गरिएको हुन्छ । यसरी कम्पनीमा सेवा पुर्याए वा कार्य गरेबापत सोही कम्पनीको शेयर दिने व्यवस्थाले गर्दा कम्पनी सञ्चालनमा व्यवधान कम हुन्छ तथा कर्मचारीसमेत कम्पनीका मालिक हुन पुग्छन् । तसर्थ कम्पनीका सञ्चालक वा कर्मचारीलाई कम्पनीको काम तथा सेवा पुर्याएबापत तत्काल कम्पनीले नगद नदिई कम्पनीको शेयर दिने व्यवस्था गरिएको हुन्छ । सेवा करार (स्वीट इक्यूटी) शेयर दिँदा कम्पनीले तत्काल नगद भुक्तानी नगरी शेयर दिँदा त्यस्तो सेवाग्राही कर्मचारीले कम्पनीको श्रीवृद्धिमा अझ सहयोग पुर्याउँछन् भन्ने धारणा रहेको छ ।
सेवा करार (स्वीट इक्यूटी) शेयर निष्कासन गर्दा कम्पनीको चुक्ता पूँजी वृद्धि भई त्यसबापतको रकम सम्बद्ध कम्पनीले भुक्तानी गरी लेखा विवरण राख्नुपर्छ । सेवा करार शेयरमा कम्पनीको कर्मचारी वा सञ्चालकले काम गरेबापत वा कम्पनीमा सेवा गरेबापत नगद भुक्तानी नगरी उक्त नगदको सट्टा शेयर दिने र कम्पनीको चुक्ता पूँजीमा नगद जम्मा गरी शेयर बाँडफाँट वा लेखांकन गरिएको हुन्छ । यसरी शेयर जारी गर्दा कर्मचारी वा सञ्चालकले काम गरेबापत वा कम्पनीमा सेवा गरेबापत नगद भुक्तानी नगरी उक्त नगदको सट्टा शेयर दिने र कम्पनीको चुक्ता पूँजीमा नगद जम्मा गरी शेयर बाँडफाँट वा लेखांकन गरिएको हुन्छ । यसरी शेयर जारी गर्दा कम्पनीले कर्मचारी वा सञ्चालकलाई नगद भुक्तानी नगरी शेयर प्रदान गरेको हुन्छ ।
कम्पनीका शेयरधनी सञ्चालक वा कर्मचारीले जसले कम्पनीमा सेवा गरेबापत उनीहरूको पारिश्रमिकमा थप सुविधा अर्थात् नगद प्रतिफलको सट्टामा कम्पनीको शेयर प्रदान गर्न सकिने व्यवस्था छ ।
कम्पनीको सेवा करार शेयर बाँडफाँट वा लेखांकनमा सम्बन्धमा भएका केही राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानूनका बारेमा विवेचना गर्नु सान्दर्भिक हुन्छ । जस्तो भारतको कम्पनी ऐन, २०१३ (सन्) को दफा ५३ ले कम्पनीले आफ्नो शेयरको निष्कासित अंकित मूल्यमा डिस्काउन्ट (छूट) गरेर शेयर विक्री तथा बाँडफाँट गर्न रोक लगाएको छ । तथापि दफा ५४ मा सेवा करार (स्वीट इक्यूटी) शेयर निष्कासन गर्न सकिने प्रावधान राखिएको छ । जसमा चारओटा शर्त पूरा गर्नुपर्छ । (१) सेवा करार शेयर निष्कासन गर्नका लागि सम्बद्ध कम्पनीको साधारणसभाबाट विशेष प्रस्ताव पारित भएको हुनुपर्छ । (२) कम्पनीको सञ्चालक वा कर्मचारीलाई सेवा करारबापतको केकति शेयर निष्कासन गर्ने भन्ने बारेमा शेयरको बजार मूल्य, तथा प्रतिफलसमेतका आधार तोकिएको संख्यामा मात्र शेयर जारी तथा निष्कासन गर्नुपर्ने । (३) कम्पनीले व्यवसाय शुरू गर्न इजाजत पाएको १ वर्ष अवधि पूरा भएको हुनुपर्ने । (४) कम्पनीको शेयर धितोपत्र बजारमा सूचीकृत भएमा धितोपत्र बजारद्वारा जारी धितोपत्र सम्बद्ध कानून वा धितोपत्र बजारमा सूचीकृत नभएको अवस्थामा धितोपत्र बोर्डबाट जारी कानूनअन्तर्गत रही सेवा करार शेयर जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । भारतीय धितोपत्र बोर्डले सेवा करार शेयरका बारेमा छुट्टै निर्देशन जारी गरी कर्मचारीलाई र कम्पनीको चुक्ता पूँजीको १० प्रतिशतभन्दा कम शेयर स्वामित्व भएका संस्थापक तथा सञ्चालकलाई शेयर दिन सकिने व्यवस्था गरेको छ । १० प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका संस्थापक तथा सञ्चालकलाई सेवा करार शेयर दिन नपाइने गरी कानूनी व्यवस्था बनाएको छ । सेवा करार शेयर निष्कासन गर्दा केही समयका लागि निश्चित शर्तहरू तोक्न सकिने र उक्त समयपश्चात् त्यस्तो शेयरहरू कम्पनीको अन्य साधारण शेयरसरहको अधिकार तथा दायित्व सृजना हुने व्यवस्था गरिएको छ ।
बेलायतको कम्पनी ऐन, २००६ (सन्) को दफा ५८७ को ३ ले पब्लिक कम्पनीले आफ्नो शेयर सर्वसाधारणलाई निष्कासित तथा बाँडफाँट गरेको ५ वर्ष पूरा भएपछि सेवा करार (स्वीट इक्यूटी) शेयर निष्कासन गर्ने व्यवस्था गरेको छ । प्राइभेट कम्पनीको हकमा कम्पनीको नियमावलीमा स्पष्टसाथ उल्लेख भएको अवस्था र उक्त विषय कम्पनीको साधारणसभाबाट प्रस्ताव पारित गरी सञ्चालक तथा कर्मचारीलाई निष्कासन गर्न सकिने व्यवस्था रहेको छ । कम्पनीका शेयरधनी सञ्चालक वा कर्मचारीले कम्पनीमा सेवा गरेबापत उनीहरूको पारिश्रमिकमा थप सुविधा अर्थात् नगद प्रतिफलको सट्टामा कम्पनीको शेयर प्रदान गर्न सकिने व्यवस्था रहेको छ ।
कम्पनी निर्देशिकाबमोजिम कुनै व्यक्तिले सेवा करार गरेबापत उक्त सेवाको प्रतिफलमा शेयर दिन सकिने प्रावधानसमेत उल्लेख गरेको छ । यसरी सेवाप्रदायकसँग भएको सम्झौता र प्रतिफलको मूल्यांकन गरी कम्पनीको प्रबन्धपत्र, नियमावली र कम्पनीको साधारणसभाको निर्णयबमोजिम मात्र शेयर दिनुपर्छ ।
नेपालको कम्पनी ऐन, २०६३ को दफा ३० मा कम्पनीले फरक अधिकार भएका शेयर र शेयरधनीको अधिकारका बारेमा उल्लेख गर्न सक्ने व्यवस्था छ । यसमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था गरी कम्पनीले फरकफरक अधिकार हुने गरी विभिन्न वर्गका शेयरहरू जारी गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै कम्पनी ऐन, २०६३ को दफा १८ को प्रबन्धपत्रमा कम्पनीको शेयरको किसिम त्यस्ता शेयरमा निहित हक, अधिकार प्रत्येक शेयरको मूल्य, शेयर संख्या र शेयरको रकम भुक्तानीका शर्तहरूका बारेमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै संस्थापक वा अन्य कुनै व्यक्तिले नगदबाहेक अरू कुनै किसिमबाट शेयर खरीद गर्ने वा शेयरमा हक पाउने भए उक्त कुरा कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै कम्पनीको नियमावलीमा समेत विभिन्न वर्गका शेयरहरू र शेयरबापतको रकमको भुक्तानीको माग गर्ने तरीकाका बारेमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कम्पनी ऐन २०६३ को दफा ९६ मा कम्पनीको प्रबन्ध सञ्चालक वा कम्पनीको व्यवस्थापनको जिम्मेवारी लिने अन्य सञ्चालकलाई कम्पनीमा नियुक्त गर्दा नियुक्तिको शर्त, पारिश्रमिक तथा सुविधा निर्धारण गरी लिखित सम्झौता गर्नुपर्नेछ र त्यस्तो सम्झौतामा उल्लिखित पारिश्रमिक तथा सुविधा र साधारणसभाले निर्धारण गरेअनुसार पाउने अन्य सुविधाबाहेक अन्य कुनै सुविधा दिन वा भुक्तानी गर्न पाइने छैन भनी उल्लेख गरिएको छ । यसबाट समेत कम्पनीका कर्मचारी तथा सञ्चालकलाई सेवा करार शेयर दिनका लागि कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा स्पष्ट व्यवस्था राख्नुपर्ने तथा सम्बद्ध कम्पनीको साधारणसभाबाट स्वीकृत शर्तबमोजिम प्रदान गर्नुपर्ने देखिन्छ ।
सेवा करारबापतको शेयर प्रदान गर्ने सम्बन्धमा कम्पनी निर्देशिका, २०७२ को दफा ३१ मा केही व्यवस्था उल्लेख गरिएको छ । यसअनुसार कुनै कम्पनीले कुनै व्यक्तिबाट सेवा प्राप्त गरेकोमा उक्त सेवाको प्रतिफलका रूपमा सेवा प्रदान गर्ने व्यक्तिलाई कम्पनीको शेयर प्रदान गर्न सकिन्छ । त्यस्तै परामर्श सेवालगायत कुनै पनि सेवाका प्रतिफल स्वरूप शेयर जारी गरिने भए यसबारेमा लिखित करार भएको हुनुपर्छ र उक्त सेवा करारमा सेवाको प्रतिफल कति हुने र त्यसबापत कति शेयर जारी गर्ने भन्ने बारेमा स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्छ । साथै सेवा करारअनुसार जारी गरिएका शेयरको मूल्य कति हदसम्म चुक्ता भएको मानिने हो उक्त कुरासमेत करारमा स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था रहेको छ ।
कम्पनी ऐन तथा कम्पनी निर्देशिकाबमोजिम कर्मचारी वा सञ्चालकलाई कम्पनीमा सेवा वा कार्य गरेबापत कम्पनीको प्रबन्धपत्र, नियमावली र साधारणसभाको निर्णयबमोजिम शेयर उपलब्ध गराउन सकिन्छ । यसरी कर्मचारी वा सञ्चालकलाई शेयर उपलब्ध गराएबापत कम्पनीले उक्त शेयरको अङ्कित मूल्य चुक्ता भुक्तान गर्नुपर्छ र उक्त रकम सम्बद्ध कर्मचारी तथा सञ्चालकको आयमा गणना गर्नुपर्छ । आयकर ऐन, २०५८ को दफा ८ अनुसार रोजगारी करार वा शर्तमा सहमति जनाएबापत गरिएको शेयर भुक्तानीलाई उक्त शेयरको अंकित मूल्य सम्बद्ध कर्मचारी वा सञ्चालकको रोजगारीबाट भएको आयमा गणना गरी आयकर ऐन, २०४८ को दफा ४ तथा अनुसूची १ बमोजिम सम्बद्ध रोजगारदाता कम्पनीले अग्रिम कर कट्टी गरी सम्बद्ध कर कार्यालयमा करको रकम तोकिएको समयमा दाखिला गर्नुपर्छ । त्यस्तै कम्पनी निर्देशिकाबमोजिम कुनै व्यक्तिले सेवा करार गरेबापत त्यस सेवाको प्रतिफलमा शेयर दिन सकिने प्रावधानसमेत उल्लेख गरेको छ । यसरी सेवाप्रदायकसँग भएको सम्झौता र प्रतिफलको मूल्यांकन गरी कम्पनीको प्रबन्धपत्र, नियमावली र कम्पनीको साधारणसभाको निर्णयबमोजिम मात्र शेयर दिनुपर्छ ।
मूलत: कम्पनीका कर्मचारी तथा सञ्चालकले कम्पनीमा काम गरी कम्पनीको व्यवसाय वृद्धि गर्न सहयोग पुर्याएन र उनीहरूलाई कम्पनीप्रति बढी उत्तरदायी बनाई स्वामित्वमा सहभागी बनाउन शेयर दिने गरिन्छ । यसरी प्रदान गरिएको शेयरमा सम्बद्ध कर्मचारी वा सञ्चालकले कम्पनीबाट लाभांश प्राप्त गर्न सक्छन् र अन्य शेयरधनीसरह साधारणसभामा भाग लिई मतदान प्रक्रियामा सहभागी हुन पाउँछन् । कम्पनीमा सेवा गरेबापत प्राप्त शेयर सम्बद्ध कर्मचारी वा सञ्चालकको चल सम्पत्ति आर्जन भएकाले उक्त शेयरको अंकित मूल्य बराबरका रकम त्यस व्यक्तिको उक्त आय वर्षको आम्दानीमा जनाई तोकिएबमोजिम कर तिर्नुपर्ने दायित्व रहको हुन्छ । यदि कसैले सेवा करार (स्वीट इक्यूटी) शेयर प्राप्तिको दाबी गरेमा सम्बद्ध कर कार्यालयले कर कानूनको पालना गरी लेखांकन भएको हो वा होइन भन्ने विषय हेर्नुपर्छ । तर, नेपालमा पब्लिक कम्पनीको हकमा हालसम्म सेवा करार (स्वीट इक्यूटी) शेयर निष्कासन गरी चुक्ता पूँजी वृद्धि गरेको पाइएको छैन ।
लेखक बैंकिङ अपराधसम्बन्धी विषयमा विद्यावारिधिप्राप्त अधिवक्ता हुन् ।