भूपरिवेष्टित मुलुकहरूको वरदानका रूपमा मानिने सेवा व्यापारको विश्व व्यापार हरेक वर्ष वृद्धि भइरहेको छ । सन् २००५ मा २५ खर्ब २० अर्ब अमेरिकी डलरमा सीमित रहेको विश्व सेवा व्यापार सन् २०२३ मा ६४ खर्ब ४० अर्ब अमेरिकी डलर पुग्न गएको छ । यसै गरी सन् २००५ मा १ निल ६ खर्ब अमेरिकी डलर बराबर रहेको विश्व वस्तु व्यापार सन् २०२३ मा २ निल ४० खर्ब अमेरिकी डलर पुगेको छ ।
यसरी यस अवधिमा विश्व सेवा व्यापारमा करीब १५५ प्रतिशतले वृद्धि भएको छ जबकि यस अवधिमा वस्तु व्यापारको वृद्धि १२५ प्रतिशतले मात्र भएको पाइन्छ । सन् २०२३ कम कुल विश्व व्यापारमा सेवा व्यापारको अंश करीब २१ प्रतिशत रहेको छ । विश्व सेवा व्यापारमा सबैभन्दा बढी अंश यात्रा सेवाको रहेको छ भने अन्य व्यवसाय सेवा दोस्रो स्थानमा रहेका छन् । दूरसञ्चार, कम्प्युटर र सूचना सेवाको स्थान तेस्रो रहेको छ । बौद्धिक सम्पत्तिको अधिकार प्रयोगको भुक्तानी सेवा विश्व सेवा व्यापारमा सबैभन्दा बढी व्यापार हुने चौथो स्थानको सेवाको रूपमा रहेको छ ।
यस्तै वित्त सेवा, बीमा तथा निवृत्तिभरण सेवा, उत्पादन सेवा, व्यक्तिगत, सांस्कृतिक र अन्य मनोरञ्जन सेवा, मर्मत र सम्भार सेवा, निर्माण सेवा, सरकारी वस्तु तथा सेवा एवम् अन्य सेवाहरू क्रमश: सबैभन्दा बढी व्यापार हुने सेवाभित्र पर्ने गर्छन् ।
नेपालको सन्दर्भमा उत्पादन सेवा, मर्मत सम्भार, यातायात सेवामा बैंकले तथ्यांक प्रकाशित गर्न थालेको छ । यसैगरी भ्रमण सेवाअन्तर्गत व्यवसाय भ्रमण र व्यक्तिगत भ्रमण गरी दुई भागमा वर्गीकृत तथ्यांक बैंकले प्रकाशन गर्न थालेको छ । यसैगरी व्यक्तिगत तथ्यांकलाई पनि स्वास्थ्य सेवा, शिक्षा सेवा तथा अन्य गरी तीनभागमा सेवा व्यापारको तथ्यांक बैंकले प्रकाशन गर्न थालेको छ । यस्तै निर्माण सेवा, बीमा र निवृत्तिभरण सेवा, वित्त सेवा, बौद्धिक सम्पत्तिको भुक्तानी, दूरसञ्चार, कम्प्युटर र सूचना सेवामा दूरसञ्चार सेवा, कम्प्युटर सेवा र सूचना सेवाको विस्तृत तथ्यांक पनि बैंकले प्रकाशन गर्न थालेको छ । यसै गरी अन्य व्यवसाय सेवाभित्र अनुसन्धान र विकास सेवा, पेशागत र व्यवस्थापन सेवा र प्राविधिक, व्यापारसम्बद्ध र अन्य व्यावसायिक सेवा गरी तीनओटा वर्गीकरणमा बैंकले तथ्यांक प्रकाशन थालेको छ । यस्तै व्यक्तिगत, सांस्कृतिक र मनोरञ्जन सेवामा श्रव्यदृृश्य र सम्बद्ध सेवा तथा अन्य व्यक्तिगत, सांस्कृतिक र मनोरञ्जन सेवामा सेवा व्यापारको तथ्यांक उपलब्ध छ भने सरकारी वस्तु तथा सेवाको थप तथ्यांक पनि प्रकाशित हुन थालेको छ । नयाँ वर्गीकरणमा सेवा व्यापारको तथ्यांक प्रकाशन सेवा व्यापारमा नयाँ वर्गीकरणअनुसार नेपाल राष्ट्र बैंकले नियमित तथ्यांक प्रकाशित गर्न थालेपछि नेपालको सेवा व्यापारको तस्वीर स्पष्ट हुन थालेको छ । यसप्रकारका सरकारी तथ्यांकको नियमित प्रकाशनले व्यवसायीहरू तथा नीतिनिर्माताहरूलाई सेवा व्यापारसम्बन्धी नीति, रणनीति र कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने देखिन्छ ।
भारत र चीनका कारण सुरक्षामा ठूलो जोखिम नरहँदा तथा सानो आकारको कर्मचारीतन्त्रबाट पनि सञ्चालन गर्न सकिने भौगोलिक आकार रहँदा नेपाललाई विशिष्टीकृत राज्य सञ्चालन प्रणाली ( करमुक्त शासनप्रणाली) का रूपमा विकास गर्दै नेपाललाई एशियाको अर्को कररहित देशका रूपमा विकास गर्र्दैै सेवा व्यापारको केन्द्रका रूप विकास गर्न आवश्यक देखिन्छ ।
यसरी सेवा व्यापार भूपरिवेष्टित मुलुकहरूका लागि वरदान सावित हुँदै जाँदा नेपाल जस्तो भूपरिवेष्टित मुलुक जहाँ वस्तुको ढुवानी खर्चका कारण वस्तु व्यापार प्रतिस्पर्धी हुन समस्या परिरहेको सन्दर्भमा सेवा व्यापारलाई उच्च प्राथमिकताका साथ विकास गर्नु आवश्यक देखिन्छ ।
यसरी उच्च प्राथमिकता दिने क्रममा केही अवधारणात्मक पक्षहरूमा सुधार हुन जरुरी छ । पर्यावरणमा न्यूनतम असर, उच्च आयसहितको सम्मानजनक रोजगारीको अवसर सृजना, विदेश पलायनमा विश्राम, दीर्घकालीन आय आर्जनको अवसर तथा परिवार र समाजसँग बसेर विदेशी मुद्रा आर्जन गर्ने अवसर प्रदान गर्ने क्षेत्र भएका कारण सेवा व्यापारलाई अन्य व्यापारभन्दा भिन्नै सुविधाहरू दिनु आवश्यक छ । यसका लागि सर्वप्रथम सेवा व्यापारलाई करमुक्त क्षेत्रका रूपमा घोषणा गरिनुपर्छ । सेवा व्यापारलाई करमुक्त क्षेत्र घोषणा गर्दा विदेशी मुद्रा भित्त्याउने शर्तमा सेवा व्यापारबाट हुने निर्यातलाई मात्रै नभई सेवा उद्योगमा आबद्ध विशेषज्ञहरूको तलब सुविधा आदिलाई पनि सबैप्रकारका करकोे दायराबाट उन्मुक्ति दिन आवश्यक छ । सेवाक्षेत्रलाई करमुक्त क्षेत्रका रूपमा घोषणा गर्ने हो भने सूचनाप्रविधि सेवाको निर्यातलाई मात्र आजको तुलनामा कम्तीमा दशगुणा वृद्धि गर्न सकिने यस क्षेत्रका व्यवसायीहरूको विश्वास रहेको देखिन्छ । यस विषयमा नेपाल सरकारबाट उचित पहल हुन आवश्यक देखिन्छ ।
दोस्रो, वस्तु निर्यातले प्राप्त गरिरहेको निर्यातमा नगद अनुदानमा सेवा निर्यातलाई पनि समावेश गरिनु आवश्यक छ ताकि सेवा निर्यात पनि अन्य मुलुकका तुलनामा विश्व बजारमा अझ प्रतिस्पर्धी हुन सकोस् । तेस्रो, सेवा व्यापारको जग बलियो बनाउन सेवा व्यापारका विशेषज्ञहरू उत्पादन गर्ने केन्द्रहरू, शिक्षण संस्थाहरू र तालिम केन्द्रहरूलाई पनि विभिन्न प्रकारका प्रोत्साहनात्मक योजनाहरू (सहुलियतदरमा बैंकको ऋण, भौतिक संरचना निर्माणमा स्थानीय करमा छूट, सहज जग्गाप्राप्तिको व्यवस्था) लागू गर्नुपर्छ ।
चौथो, सेवा निर्यात लक्षित आर्थिक कूटनीतिलाई पनि सोहीअनुसार सक्रिय तुल्याउन आवश्यक छ । विशेष गरी स्वास्थ्य सेवा प्राप्त गर्न विकसित मुलुकमा महँगो हुँदै गएको सन्दर्भमा प्रवासी नेपाली लक्षित स्वास्थ्य सेवाको निर्यात, नेत्रचिकित्सा सम्बन्धी स्वास्थ्य सेवाको निर्यात तथा योग ध्यान, आम्ची, धामीझाँक्री, झारफुक चिकित्सा तथा प्राकृतिक चिकित्सालगायत परम्परागत चिकित्साको निर्यातमा नेपाली आर्थिक कूटनीतिलाई सक्रिय तुल्याउन आवश्यक छ । वर्तमान समयमा ठूलो संख्यामा प्रवासी नेपालीहरू विदेशको महँगो उपचारलाई थेग्न नसकी नेपाल आउने गरेको सन्दर्भमा यस क्षेत्रमा विशेष ध्यान दिन आवश्यक छ । आतेजाते हवाईभाडा र नेपाल बसाइ अवधिको खर्च जोड्दा पनि विदेशमा भन्दा नेपालको उपचार सस्तो पर्न जाने हुँदा यस क्षेत्रमा प्रवासी नेपालीहरू आकर्षित भएको सन्दर्भमा यस पक्षमा नेपालले विशेष ध्यान दिनु आवश्यक देखिन्छ ।
नेपालले ध्यान नदिएको तर नेपालको मात्र विशेष प्रभुत्व रहेको क्षेत्र भनेको व्यक्तिगत सुरक्षा सेवा हो । गोर्खा ब्रान्ड र त्यसको विश्वसनीयतालाई कायम गर्दै व्यक्तिगत सुरक्षा सेवाको व्यवस्थित प्रवर्द्धन गर्न सकेको खण्डमा यो सेवा नेपालको आर्थिक समृद्धिको महत्त्वपूर्ण खम्बाका रूपमा स्थापित हुन निश्चित छ । बेलायती साम्राज्यले प्रचारप्रसार गरिदिएको र विश्वका हरेक समाजले इमानर मार्शल रेसको दर्जा दिएको परिप्रेक्ष्यमा यो साखलाई आयमा रूपान्तरण गर्न जरुरी छ । विश्वका धनाढ्य, कुलीन र सम्भ्रान्त परिवारहरूको व्यक्तिगत सुरक्षा सेवामा नेपालीलाई संलग्न गराउन सकेको खण्डमा यो सेवा आय आर्जनको अतिरिक्त नेपालको मृदुशक्तिको स्रोत बन्ने पनि निश्चित छ ।
हिमालय क्षेत्रमा चलिरहेको विनाशकारी विकासको उन्मादी भष्मासुरे विकासलाई बन्द गरी पर्वत, नदीनालाहरू, फाँट, वनजंगलको पवित्रता, स्वच्छता र प्राकृतिकपनालाई कायम राख्ने गरी पर्वतीय क्षेत्रलाई सडकविहीन, खानीविहीन र ठूला संरचनाविहीन क्षेत्रमा रूपमा विकास गर्ने हो भने गुणस्तरीय पर्यटकको भीड थामिनसक्नु हुने निश्चित छ । यो अवधारणामा जान साहस गर्दासाथ नेपालको पर्यटनले अर्को फड्को मार्ने देखिन्छ जो नेपालको मौलिक पर्यटनसृजित आयको दीर्घप्रकृतिको स्रोतका रूपमा देखिने निश्चित छ ।
सारमा भन्नुपर्दा भारत र चीनका कारण सुरक्षामा ठूलो जोखिम नरहँदा तथा सानो आकारको कर्मचारीतन्त्रबाट पनि सञ्चालन गर्न सकिने भौगोलिक आकार रहँदा नेपाललाई विशिष्टीकृत राज्य सञ्चालन प्रणाली ( करमुक्त शासनप्रणाली) को रूपमा विकास गर्दै नेपाललाई एशियाको अर्को कररहित देशका रूपमा विकास गर्र्दैै सेवा व्यापारको केन्द्रका रूप विकास गर्न आवश्यक देखिन्छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।