काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को ११ महीनामा रू. ३६ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार १४ बीमा कम्पनीले गत साउनदेखि जेठसम्ममा कुल २६ लाख ८ हजार ७९२ वटा बीमा पोलिसी विक्री गरी रू. ३६ अर्ब ३२ करोड ९९ लाख कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
तीमध्ये शिखर इन्स्योरेन्सले आर्जन गरेको बीमा शुल्क सबैभन्दा बढी छ । यस कम्पनीले जेठ महीनासम्ममा रू. ४ अर्ब ८९ करोड बीमा शुल्क आर्जन गरेको हो । बीमा शुल्क सर्वाधिक आर्जन गर्नेको सूचीमा दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स छ । कम्पनीले रू. ४ अर्ब २९ करोड बीमा शुल्क आर्जन गरेको छ । यो सूचीमा तेस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले रू. ३ अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले रू. ३ अर्ब २३ करोड, आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले रू.३ अर्ब २१ करोड, नेको इन्सुरेन्सले रू.२ अर्ब ८८ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले रू. २ अर्ब ३८ करोड र एनएलजी इन्स्योरेन्स कम्पनीले रू.२ अर्ब २६ करोड बीमा शुल्क आर्जन गरेको छ ।
यी कम्पनीमध्ये नेशनल इन्स्योरेन्सले आर्जन गरेको बीमा शुल्क सबैभन्दा कम छ । यस कम्पनीले जेठ महीनासम्ममा रू. १ अर्ब १ करोड बीमा शुल्क आर्जन गरेको हो । त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीले रू. १ अर्ब ४० करोड, राष्ट्रिय बीमा कम्पनीले रू. १ अर्ब ५३ करोड, प्रभु इन्स्योरेन्सले रू. १ अर्ब ५६ करोड, दि ओरियन्टलले रू. १ अर्ब ७५ करोड र सानिमा जिआईसी इन्स्योरेन्सले रू. २ अर्ब २१ करोड बीमा शुल्क आर्जन गरेको हो ।
स्रोत : नेपाल बीमा प्राधिकरण ।