असार ८, काठमाडौं । प्राथमिक शेयर (आईपीओ) भर्न आवश्यक पर्ने हितग्राही (डिम्याट) खाताको संख्या करीब साढे ५२ लाख पुगेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार असार ६ गतेसम्म डिम्याट खाताको संख्या ५२ लाख ४४ हजार ४४३ पुगेको छ ।
डिम्याट खाताको संख्या दिनप्रतिदिन बढ्दै गएको भएपनि आईपीओ भर्नेको संख्यामा भने कमी देखिएको छ । गत माघमा खुलेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा परेको आवेदनभन्दा पछिल्लो समय खुलेको आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिनेको संख्या १० लाख भन्दा धेरैले घटेको छ । अझ यो भन्दा अघिल्लो दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा त जाल्पाको भन्दा साढे ११ लाख कम आवेदन परेको थियो ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा २७ लाख ९ हजार जनाले आवेदन दिएका थिए भने आदर्श लघुवित्तको आईपीओमा १८ लाख ७ हजार जनाले आवेदन दिएका छन् । यो बीचको पाँच महीनाको अवधिमा आईपीओ भर्नेको संख्यामा ९ लाख २ हजार कमी आएको छ । तर, पछिल्लो समय आईपीओ भर्न चाहिने डिम्याट खाताको संख्या भने बढ्दै गएको छ ।
बैंक तथा वित्तीय संस्थाले आईपीओ भर्ने वित्तिकै लिने महंगो सी–आस्बा शूल्कका साथै कम्पनीले निष्कासन गर्ने कम कित्ता आईपीओका कारण पनि आईपीओमा आवेदक कम हुँदै गएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूले आईपीओ भर्दा ग्राहकबाट १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था छ ।
शुरूवाति दिनहरूमा अधिकांश बैंक तथा वित्तीय संस्थाले आईपीओ भर्दा निःशूल्क सेवा दिँदै आएका भएपनि पछिल्लो समय बैंकहरूले १० रुपैयाँदेखि १०० रुपैपाँसम्म आस्वा शूल्क लिने गरेका छन् । सबैभन्दा बढी आस्वा शूल्क स्टेण्डर्ड चाटर्ड बैंकले लिने गरेको छ । यो बैंकको खाता नम्बर डिम्याट खातामा लिङ्क गराएका ग्राहकले आईपीओ भर्दा १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । तर, कतिपय बैंकहरूले भने अहिले पनि यो सेवा निःशूल्क दिइरहेका छन् ।
पछिल्लो समय आईपीओ भर्ने वित्तिकै पैसा काट्न थालेपछि आईपीओ भर्नेहरूमा उत्साह पनि घटेको बताइएको छ । शेयर बजार बढेको समयमा सबैको ध्यान बजारप्रति हुने र घट्दै गएको बजारमा धेरैको ध्यान नहुँदा आईपीओमा आवेदन पनि कम पर्ने गएको हो ।
के कारणले आईपीओ भर्ने कम भए त ?
पछिल्लो समय शेयर बजार घट्दो ट्रेण्डमा छ । यसले पनि आईपीओ भर्नेको संख्या दिन प्रतिदिन कम हुँदै गएको छ । बजार बढ्दा सबैको चासो शेयर बजारमा हुने हुँदा आईपीओ खुल्ने वित्तीकै भर्नेको संख्या पनि स्वत बढ्ने गर्दछ । तर, बजार निरन्तर घट्दो ट्रेण्डमा जाँदा कसैले पनि बजारप्रति ध्यान दिएको हुँदैन् । शेयर बजारमा प्रवेश गर्न चाहानेहरूले डिम्याट खाता खोल्ने र तिनीहरूले नै आईपीओ भर्न उत्साह देखाउने गरेका छन् ।
पुराना डिम्याट होल्डरहरूले भने सस्तोमा दोस्रो बजारबाट नै शेयर उठाउँन पाएपछि आस्बा शूल्क जोगाउन भएपनि आईपीओ भर्नतर्फ नलागेको हुन सक्ने सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए ।
‘दोस्रो बजारबाट नै डेढ दुई सयमा शेयर खरीद गर्न सक्ने स्थिति छ । आईपीओ भर्दा चिठ्ठा परेजस्तो सबैलाई पर्दैन । त्यसैले पनि अहिले आईपीओ भर्नेको संख्या कम हुँदै गएको हो ।' उनले भने, 'आईपीओ निष्कासन गरेका कम्पनीको वित्तीय अवस्था भन्दा राम्रो वित्तीय अवस्था भएका कम्पनीको शेयर दोस्रो बजारमा सस्तोमा पाउन सक्ने अवस्था भएकाले अहिले आईपीओ भर्न छोडेका हुन् ।
त्यसैगरी विगत ४ वर्षदेखि आईपीओ भर्दै आएका रमेश केसी पनि सोही कुरालाई सत्य मान्छन् । ‘पहिले मैले आईपीओ भर्दा बैंकले पैसा काट्दैन थियो । तर, पछिल्लो समय मेरो बैंकले पनि आईपीओ भर्ने वित्तिकै २५ रुपैयाँ काट्ने गरेको छ । आईपीओ पनि पर्छ भन्ने ग्यारेन्टी छैन् । २५ रुपैयाँ भएपनि जोगिन्छ । मैले त दोस्रो बजारबाट नै शेयर किन्न थालेको छु,’ केसीले भने ।
पछिल्लो समय आईपीओ भर्ने वित्तिकै बैंकहरूले पैसा काट्ने गरेको र आईपीओ पनि नपर्ने भएकाले आफूसँग भएको थोरै पैसा भए पनि दोस्रो बजारमा लगानी गरेर सस्तो शेयरमूल्य भएका कम्पनीको शेयर किन्ने गरेको उनले जानकारी दिए । अहिले बजार घटेर वित्तीय विवरण राम्रो भएकै कम्पनीको शेयरमूल्य सस्तिएर न्यून विन्दुमा आएको छ । यसले पनि आईपीओमा लगानी गर्नुभन्दा दोस्रो बजारमा नै लगानी गर्न उचित हुने ठानिएको छ ।