शेयर भनेको लगानीको अंश वा अंशियार बन्नु हो । दीर्घकालीन अवधि १ वर्षभन्दा बढीका लागि लेनदेन गरिने बजारलाई पूँजी बजार वा शेयरबजार भन्ने गरिन्छ । यो २ प्रकारको हुन्छ : प्राथमिक बजार र दोस्रो बजार । प्राथमिक बजारमा कम्पनी वा संस्थाबाट प्रथमपटक निष्कासित शेयर, ऋणपत्र आदि पर्छन् भने दोस्रो बजारमा प्राथमिक बजारबाट जारी भइसकेको शेयरहरूको किनबेच हुने गर्छ । पूँजी बजारको अवस्थाले देशको अर्थतन्त्र कता जाँदै छ भन्ने संकेत गर्छ । दीर्घकालीन पूँजीको परिचालन गरी अर्थतन्त्रलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाह गराई प्रतिफललाई धेरै व्यक्तिले उपभोग गर्न पाउने अवसरको सृजना गर्नु नै धितोपत्र बजारको मूल उद्दश्य हो ।
नेपालको पूूँजी बजारको प्रकृति बेग्लै खालको छ । हामीकहाँ पूँजी बजारले अर्थतन्त्रको प्रतिनिधित्व गर्न सकेको छैन । अर्थतन्त्र नकारात्मक दिशामा हुँदा यहाँ शेयरबजार बढेको र सकारात्मक दिशामा हुँदा शेयरबजार घटेको थुप्रै उदाहरण छन् । नेपालको पूँजी बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको बाहुुल्य छ । कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण योगदान पुुर्याउने उत्पादनमूलक क्षेत्रका कम्पनीको पूूँजीबजारमा न्यून उपस्थिति र वास्तविक क्षेत्रका कम्पनीको सहभागिता कम भएकै कारण शेयरबजारले नेपाली अर्थतन्त्रको पूूर्णरूपमा प्रतिनिधित्व गर्न नसकेको हो । नेपालका अधिकांश ठूूला व्यावसायिक घराना कम्पनीहरू पारिवारिक रूपमा सञ्चालन हुँदै आएका छन् । पूूँजी बजारमा गएपछि परिवारका सदस्यहरूको भूूमिका गुम्ने भयले पनि कम्पनीलाई बजार प्रवेश गराउन हिचकिचाउने प्रवृत्ति छ । सूचीकृत कम्पनीले तोकेको समयमा नियमित रूपमा वित्तीय तथा कारोबार विवरणहरू नियामक निकायलाई बुझाउनुपर्ने भय पनि छँदै छ ।
धितोपत्र बजारमा लगानीकर्ताले ध्यान दिनुपर्ने विषयमा सुदृढ वित्तीय योजना बनाउने, धितोपत्र बजारसम्बन्धी आवश्यक शिक्षा तथा तथा ज्ञान लिने, धितोपत्र उपकरण तथा कम्पनी छनोट, कम्पनीको वासलात अध्ययन गर्ने आदि पर्दछन् ।
हाल लगानीकर्ताको मनोबल कमजोर भएकाले बैंकिङ क्षेत्रको कर्जा प्रवाह एकातर्फ बढ्न सकेको छैन भने अर्कोतर्फ श्ोयरबजार समेत स्थिर हुन सकेको छैन । शेयर धितो कर्जाको औसत ब्याजदर घटेर ४ दशमलव शून्य ९ प्रतिशत पुग्दा पनि बैंकिङ क्षेत्रले दिने लाभांशको दर निकै न्यून हुने आशंकाले शेयर कर्जा लिएर शेयर खरीद गर्न लगानीकर्ता हच्केको देखिन्छ । शेयरमा मात्र नभै बैंकिङ क्षेत्रका अन्य कर्जा लिन पनि लगानीकर्ता हच्केको अवस्था छ । कम्पनीको उत्पादकत्व र नाफाभन्दा पनि सरकार स्थिर हुन्छ कि हुँदैन अनि शेयरबजारप्रिय अर्थमन्त्री एवं नेपाल राष्ट्र बैंकको गर्भनर हुन्छ कि हुँदैन र शेयरबजारप्रिय नीति आउँछ कि आउँदैन, अर्थमन्त्री फेरिन हो कि भन्ने कुराले नेपालको शेयरबजार तलमाथि हुने गरेको छ ।
तल्लो विन्दुबाट २० प्रतिशत बढ्दा बुल र २० प्रतिशत घटेको अवस्थामा बियरिस हुने गर्छ । अहिले बजार अस्थिर हुनुमा नाफा बुक, कमजोर वासलात प्रकाशन, बजारप्रति नकारात्मक धारणा, सरकारलाई स्थिरता हुनबाट वञ्चित गराउन उद्यत केही समूहको सक्रियता र कतै सत्ता परिवर्तन हुने हो कि भन्ने कुराले पनि काम गरेको देखिन्छ । शेयर धितो कर्जा १ खर्बको हाराहारीमा रहेको, ब्याजदर घटिरहेको, बैंकिङ क्षेत्रमा पनि केही सुधारको संकेत देखिएको, नीतिगत सुधार पनि भइरहेको अवस्थामा शेयरबजार घटिहाल्नुपर्ने अवस्था देखिँदैन । शेयरबजारलाई माग र आपूर्तिमा छोडिदिनुपर्छ । बजार घटेका बेलामा पनि कमाउने दोहोरो बजारको जरूरी भइसकेको छ जसलाई सर्र्टशेल पनि भनिन्छ । मार्जिन लेन्डिङ र डे ट्रेडिङको अभ्यासका साथै मार्जिन खाताको व्यवस्था गर्न ढिला भइसकेको छ । साथै इन्डेक्स ट्रेडिङ पनि आवश्यक भइसकेको छ ।
नेपालको सन्दर्भमा विसं १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई शेयर विक्री गरेसँगै पूँजी बजारको थालनी भएको हो । विसं २०३३ मा सेक्युरिटी खरदी विक्री केन्द्रको स्थापना भएसँगै अगाडि बढेको देखिन्छ । विसं २०४९मा धितोपत्र कारोबार ऐन, २०४० मा संशोधन गरी धितोपत्र बजारका लगानीकर्ताको हित संरक्षण तथा बजार विकास तथा सुधार र नियमन एवं सुपरिवेक्षण गर्ने गरी यस क्षेत्रको नियामन निकायका रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना गरेको देखिन्छ । नेपालमा दोस्रो बजारको कारोबार विसं २०५० माघदेखि भएको हो । बजारलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउनका लागि धितोपत्रसम्बन्धी ऐन, २०६३ जारी गरी उक्त ऐनअन्तर्गत व्यवस्था, नियमन तथा सञ्चालनमा रहेको छ । हाल नेपालमा धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको संख्या ३०० भन्दा बढी छ भने डिम्याट खाता खोल्नेको संख्या करीब ६३ लाखको हाराहारीमा छ । तीमध्ये करीब २५ लाख किनबेचमा सक्रिय रहेको अनुमान छ । यो मूलत: काठमाडौं केन्द्रित देखिन्छ ।
विद्युतीय माध्यमबाट कारोबार हुन थालेपछि शेयरको कारोबार ह्वात्तै बढेको छ । कुनै बेला रू. १ अर्बको दैनिक कारोबार पुग्दा उत्सव मनाइएको थियो । केही समयअगाडि झन्डै ३० अर्बसम्मको दैनिक कारोबार भएको थियो । अहिले नेपालको स्टक एक्सचेन्जमा कारोबार गर्ने मान्छेहरूमा करीब ८५ देखि ९० प्रतिशतले नबुझीकन कारोबार गरिराखेको अनुमान गर्न सकिन्छ । शेयर शिक्षा नियमनकारी निकायको एक प्रमुख काम पनि हो । नेप्से तथा सेबोनले शेयर शिक्षाको काम अगाडि बढाइराख्न जरुरी हुन्छ । अब स्टक एक्सचेन्जमा सेयरका अतिरिक्त बण्ड, इन्डेक्स, म्युचुअल फन्ड तथा डेरिभेटिभहरूको पनि कारोबार हुन थाल्नुपर्छ । नेपालमा अझै पनि इन्डेक्स र डेरिभेटिभ्सको कारोबार भएको छैन । शेयरबजारले विगतसँग भन्दा आउने दिनलाई सरोकार राख्छ ।
शेयरबजारलाई माग र आपूर्तिमा छोडिदिनुपर्छ । बजार घटेका बेलामा पनि कमाउने दोहोरो बजारको जरूरी भइसकेको छ जसलाई सर्र्टशेल पनि भनिन्छ । मार्जिन लेन्डिङ र डे ट्रेडिङको अभ्यासका साथै मार्जिन खाताको व्यवस्था गर्न ढिला भइसकेको छ ।
पहिलो त शेयरबजारको प्राथमिक काम नै कुनै बिजनेशका लागि पूँजी जम्मा गर्ने हो । कुनै पनि कम्पनीले आईपीओमार्फत शेयर जारी गरेर पूँजी निर्माण गर्न सक्छ । त्यसरी निर्माण भएको रकमको उपयोग त्यस्ता कम्पनीहरूले व्यवसाय बढाउनमा लगाउँछन् र यसले देशको आर्थिक वृद्धिमा मद्दत गर्छ । छरिएको पूँजीलाई एकत्रित गर्ने यो कामबाट देश विकासमा सहयोग नपुग्ने कुरै भएन । स्टक मार्केटको क्षेत्रमा साना लगानीकर्ता नठगिऊन् भन्नका लागि बलियो नियमनकारी निकायको आवश्यकता पर्छ । कमजोर, खराब वा नबुझेको मान्छेको नेतृत्वमा नियमनकारी निकाय चल्ने अवस्था आयो भने पूरै मार्केट ध्वस्त हुन बेर लाग्दैन ।
नेपालमा अहिले करीब करीब शेयर मार्केटले यो बाटो समात्न खोजेको संकेत गर्दै छ । हरेक क्रियाकलाप नेपालको स्टक मार्केटको स्वस्थ विकासको लागि भन्दा पनि राजनीतिक र व्यवस्थापकीय स्वार्थका लागि हुने गरेको देखिन्छ । यसले नेपालको स्टक मार्केटको विकासमा दीर्घकालीन असर पर्छ । प्रभावकारी नियमन व्यवस्था सहितको धितोपत्र बजारमार्फत देश तथा वैदेशिक रोजगारीमा रहेकाहरूसँग छरिएर रहेको पूँजीलाई लगानीको अवसरमार्फत एकीकृत गरी ठूलो परिमाणमा देशमा विभिन्न उद्योगधन्दालगायत उत्पादनशील गतिविधिहरू तथा सेवा प्रवाहका लागि आवश्यक पूँजी सर्वसुलभ रूपमा परिचालित हुन सक्छ । कुल जनसंख्याको करीब १९ दशमलव ५० प्रतिशत लगानीकर्ताको धितोपत्र बजारमा सहभागिता रहेको देखिन्छ ।
शेयर कारोबारमा संस्थागत लगानीकर्ताको संलग्नता न्यून रहेको, धितोपत्रको मूल्य, बजार परिसूचक तथा कारोबार रकममा बढी उतारचढावको समस्या, अन्तरराष्ट्रिय स्तरको धितोपत्र कारोबार र राफसाफ तथा फछ्र्योट प्रणालीको अभाव रहेको, एकीकृत स्वचालित बजार अनुगमन तथा सुपरिवेक्षण प्रणालीको अभाव, बजार सुपरिवेक्षण र सूचना प्रणाली कमजोर हुँदा भित्री सूचनाको आधारमा हुने कारोबार, कर्नरिङ, मूल्यमा अस्वाभाविक उतारचढाव, जालसाजीयुक्त कारोबारले प्रश्रय पाइरहेको अवस्था छ । बजार पूर्वाधारहरूमा रहेका कमीकमजोरीहरूमा सुधार हुन नसकेको, धितोपत्र बोर्ड रणनीतिक योजना र त्यसको कार्यान्वयनमा चुकेको देखिन्छ । पदाधिकारी नियुक्तिमा ढिलाइ भइरहेको छ । विश्वका धितोपत्र बजारले उचाइ लिइरहेको अवस्थामा विगतमा नेपालको धितोपत्र बजारमा ३० प्रतिशतभन्दा बढीले समग्र बजार मूल्यमा गिरावट आई लगानीकर्ताले खर्बौंको मूल्य गुमाउनुपरेको थियो । हाल शेयरबजारमा सुधार देखिए तापनि पुन: शेयरबजार ओरालो लाग्ने हो कि भन्ने त्रास कायम नै रहेको देखिन्छ ।
धितोपत्र बजारमा लगानीकर्ताले ध्यान दिनुपर्ने विषयमा लगानीकर्ताले सुदृढ वित्तीय योजना बनाउने, धितोपत्र बजारसम्बन्धी आवश्यक शिक्षा तथा तथा ज्ञान लिने, धितोपत्र उपकरण तथा कम्पनी छनोटमा ध्यान दिने, जोखिम पहिचान गर्ने, प्रतिफल किटान गर्ने, लगानी विविधीकरण आदि पर्दछन् । दीर्घकालीन रूपमा लगानी गर्ने, बजार हल्ला र सोसियल मिडियाको पछि नलाग्ने, आत्मविश्वास बलियो बनाउने र जोखिम वहन क्षमता समेत राख्ने र आफ्नो आर्थिक हैसियत हेरेर मात्र बजार प्रवेश गर्ने हो भने बजार केही परिपक्व हुन्छ । शेयरबजार जुवाघर होइन । यो त अर्थतन्त्रको ऐना हो । कति बेला बुल हुन्छ र कति बेला बियरिस हुन्छ भन्ने कुरा यकीन गर्न कठिन हुन्छ । आगामी हरेक गतिविधि अनिश्चित हुँदा आफूले गरेको अनुमान असफल हुन सक्छ । तसर्थ दीर्घकालीन पूँजी परिचालनको महत्त्वपूर्ण संयन्त्रको रूपमा रहेको धितोपत्र बजारको नियमन तथा बजार सञ्चालन पूर्वाधारको सुदृढीकरण र बजार नियमन तथा सुपरिवेक्षणमा प्रभावकारिता ल्याई बजारलाई स्वच्छ, पारदर्शी तथा प्रतिस्पर्धी बनाउनुपर्छ । बजारमा लगानीकर्ताको मनोबल उच्च बनाउने कार्यमा नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारले तत्काल जोड दिनुपर्छ ।
लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी जानकार हुन् ।