काठमाडौंमा अहिले अनौठो शैक्षिक क्रान्ति भइरहेको छ, नाम हो– शिक्षक आन्दोलन । अब शिक्षक भन्नाले कन्फ्युज्ड नहुनु नि । शिक्षक भन्नाले सरकारबाट तलब खाने काँग्रेस, एमाले र माओवादीका स्थानीय सेल्स एजेण्टहरू बुझ्नुहोला यसपछि । त्यसैले यो आन्दोलनमा पाठ्यक्रम होइन, ‘पाठ्र्यक्रम’ चल्दै छ ।
माइतीघर कला केन्द्र बनेको छ– कोही दोहोरी, कोही र्याप, कोही माइक समाएर जादु देखाउँदै छन् । दर्शकहरू भन्छन्, शंखघोषको तालमा भइरहेको यो आन्दोलन हो कि सांस्कृतिक महोत्सव छुट्ट्याउनै गाह्रो छ ।
अब त ‘नेशनल ड्रामा स्कुल’ले ‘शिक्षक भर्ती फारम’ माग्ला जस्तो छ । यस्तो सृजनशील प्रदर्शन देख्दा लाग्छ– अब शिक्षाले पिरियड होइन, पर्फर्मेन्स माग्छ । कोही माइम एक्टमा, कोही बीटबक्समा, कक्षाकोठा छैन भने केही छैन, जहाँ छ माइक, त्यहीँ कक्षा शुरू, वाह गुरु !
वास्तवमा यस्तो कला त शिक्षकमा चाहिने आवश्यक गुण नै हो । यस्ता शिक्षकले नै हो विद्यार्थीलाई आफूले पढाएको कुरा राम्ररी बुझाउने । तैपनि प्रश्न उठछ, यस्ता क्षमता भएका शिक्षकले पढाएका विद्यार्थीले परीक्षा चैं किन पास गर्न नसकेका होलान् ।
धेरै दर्शक भन्छन्, शिक्षकहरूको संघ त अब ‘गायक संघ’, ‘जादू शिल्प परिषद्’ वा ‘हिपहप नेपाल’ जस्तोे छ । कोही ठ्याक्कै माइकल ज्याक्सन बनेर नाचिरहेका कोही ‘तल पढाउने, माथि नाच्ने’ । नयाँ खालको शैक्षिक पद्धति विकास हुँदैछ जस्तो छ, ‘एडुटेन्मेन्ट इन मोशन’ ।
१२ देखि ३ बजेसम्म दैनिक चल्ने यो शो नि:शुल्क हो, तर शिक्षक छन् र आन्दोलनमा आउनुभएन भने त जरीवाना पक्का ।
ठ्याक्क यही बेला वार्षिक परीक्षा सकिएको छ । कति विद्यार्थीलाई आफ्नो रिजल्ट के भयो थाहा छैन । भर्ना गर्ने बेला छ, तर यसको चालामाला केही छैन । विद्यालयमा ताला छ र गुरुगुरुमाको सडकमा नाचगान गर्ने तालामाला छ ।
केही विद्यार्थी पढ्न चाहन्छन् होला, तर शिक्षकहरू चाहिँ माइक समाएर सडक तताइरहेका छन् । बोर्डिङवालाहरू मालामाल हुने सरकारी माडसापहरूको चालमाल सडकमै देखियो । सरकार चाहिँ सधैंझैं ‘सम्झौता गरौं र बिर्सौं’ भन्ने मोडमै देखिन्छ ।
शिक्षकहरूले गाउँ शहरका स्कुलमा ताला लगाएर काजमा राजधानी आएर नाचगान चालू गरेको यस्तो भक्तियोग देख्दा लाग्छ– भत्तासँगै नृत्ययोग पनि अनिवार्य रहेछ । शिक्षकहरूको मागको सार छ कि संघीयता, विकेन्द्रीकरण र गुणस्तरीय शिक्षाको जिम्मा संघलाई मात्र दिनु, सरुवा र नियुक्तिको जिम्मा पनि केन्द्रमै हुनुपर्छ रे । स्थानीय तहले फोहोर चैं उठाओस्, शिक्षक चैं हल्लाउन नपाओस् । क्या गज्जबको ‘लोकतान्त्रिक अनुशासन’ रहेछ सरहरूको ।
तर शिक्षकरूपी भक्तहरूप्रति सहानुभूति पनि लाग्छ । किनकि, सरुवा, कारबाही सबै वडाध्यक्षको मुडमा निर्भर । रिसाए भने स्कुल होइन, शरण उनैको चाहिन्छ । यस्तोमा आन्दोलन नगरी भो त ?
कोही भन्छन्, विद्यालयमा राजनीति निषेध गर्नुपर्छ ? कसरी सम्भव छ ? शिक्षक महासंघमै झन्डा हल्लाउने नेताहरू छन् । अब नयाँ ऐन बन्यो भने त हरेक पटक नयाँ कमिटी बन्दा ‘ट्रेड युनियन फेयरवेल पार्टी’ गर्नुपर्ने हुन्छ ! सधैं यो कसरी सम्भव हुन्छ र ?
पुराना शिक्षक भन्छन्, ‘खुला प्रतिस्पर्धा हुँदैन, नाम मात्रको प्रक्रिया पूरा गरेर स्थायी हुन पाउनुपर्छ ।’ नयाँ पुस्तालाई सन्देश हो कि क्या हो यो ? ‘हाम्रो आन्दोलन हेरेर अनुभव बटुल, जागीर त हामी भित्रभित्रै बाँडिहाल्छौं नि’ भनेजस्तो ।
हे भगवान् ! संविधान लेखियो, संघीयता आयो, जनप्रतिनिधि आए तर शिक्षकलाइ चाहिँ छुट्टै संविधान चाहियो रे । ‘सरुवा गरे शत्रु, कारबाही गरे आतंक’ भन्ने नयाँ ज्ञान बाँड्ने काम भैरहेको छ । त्यसैले लाग्दैछ कि देशमा अब स्कुल, कलेज हैन, आन्दोलन सिकाउने एकेडेमी नै खोल्नुपर्छ ।
कक्षा १ : हुल जम्मा गर्ने कला
कक्षा २ : मञ्च सजाउने प्रविधि
कक्षा ३ : तलब खाँदै हाजिर नगर्ने विज्ञान
कक्षा ४ : मागको गुणन र गीतको गहिराइमा विद्यावारिधि
रमाइलो के भने यी सबै क्रान्तिकारी शिक्षक सरकारी हुन् । निजी स्कुलका शिक्षक भने शनिवार पनि चिटिक्क परेर स्कुल जान्छन् । आन्दोलन गर्नुभन्दा टिकटक एड बनाउनुपर्छ, विद्यार्थी तान्न ।
शिक्षक आन्दोलन सरकारी स्कुल बन्द गराएर निजीमा विद्यार्थी धपाउने रणनीति त होइन कतै ?
तर सरकारी शिक्षकज्यूहरूलाई केको डर भो र ? स्कुल जाऊ वा नजाऊ, तलब आइहाल्छ, राजनीति गर्न फुल फ्रीडम छँदैछ । दलको भेला, महाधिवेशन, झन्डा बोक्ने अनुमति सबै छँदैछ । अनि भन्ने चंै ‘हामी त निष्पक्ष, नितान्त शिक्षामै केन्द्रित नागरिक ।’
अब विद्यार्थीलाई भन्नुपर्ला जस्तो छ, ‘पढ्न होइन, आन्दोलन हेर्न विद्यालय जानू, परीक्षा पास मन्त्र : शिक्षकको माग कण्ठ गर !’
बरु शिक्षा मन्त्रालय र स्थानीय सरकारलाई मेरो एउटा सानो सुझाव छ, अब ‘शिक्षक आन्दोलन महोत्सव’लाई वार्षिक कार्यक्रम बनाऊँ । नयाँ नारा होस्, ‘विद्यार्थीको पढ्ने अधिकार, शिक्षकको नाच्ने अधिकारभन्दा ठूलो हैन ।’
तर एउटा कुरा मान्नैपर्छ– शिक्षक आन्दोलन भनेको एउटा क्लिन शो हो । सडक सफा भएरै होला बालेन ब्रोले फेसबुकमा ‘स्याबास’ लेखेका ।
तर आन्दोलनको असरले ट्राफिक र अर्थतन्त्र चाहिँ ब्लक जस्तै भएको छ । बिहान डिल्लीबजारबाट टेकु निस्किएको मान्छे साँझ माइतीघरकै ट्राफिक लाइटमा पसिना पुछिरहेको हुन्छ । गुगल म्यापले पनि हार खाएर होला पोखरा चैं जान सुझाउँछ ।
यता, सीडीओ साप र ट्राफिकले भने यसलाई ‘शिक्षक आन्दोलन’ भन्दा पनि कुनै नयाँ जात्रा वा ‘रथयात्रा’ सम्झिएछन् क्यारे, आम सर्वसाधारणलाई असुविधा हुँदाहुँदै पनि शिक्षकहरूलाई सडक कब्जा गर्न सहजै छाडिदिएका छन् ।
सर्वसाधारणले भने शिक्षक आन्दोलन भन्नासाथ ‘शिक्षाको अधिकार’ होइन ‘जामको झमेला’ सम्झन्छन् । जहाँसम्म अर्थतन्त्रमा असर परेकोे कुरा छ, यसबारे त कसलाई के चासो छ र हो ? त्यसैले अर्थतन्त्र पनि आन्दोलनकै सपोर्ट स्टाफ जस्तो भएको छ, काम छैन, दाम छैन, छ त जामको तामझाम मात्र ।
तर जे होस्, शिक्षक आन्दोलनको ‘नाचगान क्रान्ति’ले देशलाई नयाँ सांस्कृतिक स्टारहरू दिएको छ । शिक्षा सुधार नहोला, तर डान्समा धनी बन्ने चान्स भने देखिएको छ । त्यसैले कस्तो पाठ्यक्रम हुनुपर्छ हेर्न त कोरियन, जापानी वा अरबी भाषा प्रशिक्षण केन्द्रहरूतिर पो जानुपर्छ । नौटंकी हेर्नु छ भने मात्र सरकारी स्कुलतिर जानु होला है ।