सहकारी तथा गरीबी निवारण मन्त्रालय स्थापनाको स्वागत
वैशाख २५, काठमाडौं (अस) । गत २३ गतेको मन्त्रिपरिषद् बैठकले सहकारी तथा गरीबी निवारण मन्त्रालय गठन गरेकोमा सहकारी क्षेत्रले यसको स्वागत गरेको छ । राष्ट्रिय सहकारी सङ्घले आइतवार विज्ञप्ति प्रकाशित गरी उक्त निर्णयबाट सङ्घ हर्षित भएको बताएको छ ।
‘सहकारी अभियान र गरीबी निवारणका कार्यक्रमहरू संस्थागत ढङ्गबाट अगाडि बढाउने प्रतिबद्धतास्वरूप भएको उक्त निर्णयमा सङ्घ समर्थन तथा कृतज्ञता व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । त्यसैगरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले पनि छुट्टै सहकारी तथा गरीबी निवारण मन्त्रालय गठन गर्ने मन्त्रिपरिषद्को निर्णयको स्वागत गरेको छ । सङ्घद्वारा जारी विज्ञप्तिअनुसार नयाँ बन्ने संविधानमा सहकारी क्षेत्रलाई विशेष स्थान प्रदान गर्न सरकारसँग अपील गरिएको छ ।
कृषि तथा सहकारी, मौरीपालन र जुनार केन्द्रीय सहकारी सङ्घले पनि उक्त निर्णयको स्वागत गरेका छन् । त्यसैगरी दुग्ध, चिया, उखुलगायतका केन्द्रीय सहकारी सङ्घहरूले पनि मन्त्रिपरिषद्को कदमको प्रशंसा गरेका छन् । सहकारी अभियानले छुट्टै सहकारी मन्त्रालय गठन गर्न लामो समयदेखि माग गर्दै आएको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.