कोलम्बो । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नव निर्वाचित राष्ट्रपतिको गोपनीयताको शपथ ग्रहण भइरहँदा श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे भने काठमाडौं अवतरण गरेका छन् । उनी व्यक्तिगत रुपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको बताइएको छ ।
सन् २०२२ मा श्रीलङ्कामा आएको आर्थिक मन्दीलाई लिएर चर्किएको उग्र आन्दोलनका कारण पूर्वराष्ट्रपति गोटाबाया देश छोडेर भागेका थिए । पछि आन्दोलन मथ्थर हुँदै गएपछि पुन: स्वदेश फर्किएका थिए ।
आर्थिक मन्दीका कारण आम श्रीलङ्कावासीले पीडादायी कष्ट भोग्नु परेपछि दिसानायको समर्थन वृद्धि भएको थियो । श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो । शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएका थिए ।
५५ वर्षीय दिसानायकाले सांसदहरू, बौद्ध धर्मगुरुका सदस्यहरू सहभागी समारोहबीच प्रधान न्यायाधीश समक्ष शपथ ग्रहण गरेका छन् ।
विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहेका थिए भने सन् २०२२ को आर्थिक सङ्कटको चरम अवस्थामा पदभार सम्हाल्नुभएका र अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गरेका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहेका थिए ।
सपथ ग्रहणपछि दिसानायकाले भने, 'जनताको राजनीतिज्ञप्रतिको विश्वास लाई पूर्ण रुपमा पुनर्स्थापित गर्न म सक्दो प्रयास गर्नेछु ।' उनले भने, 'म जादुगर होइन। मैले जानेका कुराहरू छन् र मलाई थाहा नभएका कुराहरू पनि छन्, तर म उत्तम सल्लाह लिनेछु र मेरो सर्वोत्तम प्रयास गर्नेछु। त्यसका लागि मलाई सबैको सहयोग चाहिन्छ ।'
प्रधानमन्त्रीद्वारा राजिनामा
श्रीलङ्काको नयाँ राष्ट्रपतिमा अनुरा कुमारा दिसानायका निर्वाचित भएपछि प्रधानमन्त्री दिनेश गुणवर्धनाले सोमबार बिहान राजीनामा दिएका छन् । आफ्नो राजीनामा पत्रमा गुणवर्धनाले श्रीलङ्काको नवौं कार्यकारी राष्ट्रपतिको रूपमा दिसानायके निर्वाचित भएसँगै देशको संविधानअनुसार नयाँ मन्त्रीमण्डल गठनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिन लागेको उल्लेख गरेका छन् । दिसानायकाले चुनावमा विजय हासिल गरेपछि गुणवर्दनाले आइतबार राति नै उनलाई बधाई दिएका थिए । (रासस/एएफपी)