काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको यही वैशाख ५ गतेका लागि बोलाइएको विशेष साधारण सभा स्थगित भएको छ । चैत २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने लगायतका प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको थियो ।
नेपाल बीमा प्राधिकरणको नियमन महाशाखाबाट वैशाख २ गतेको पत्रका आधारमा वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा स्थगित गर्ने निर्णय गरेको हो ।
सर्वसाधारणमा आईपीओ निष्कासन तथा बाँडफाँट गरी ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गरिसकेको कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । हकप्रद शेयरमार्फत १ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्ने योजनामा रहेको कम्पनीलाई प्राधिकरणको निर्देशनले बाधा पुगेको हो ।