काठमाडौं । शुभम पावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद आज अर्थात् आइतवार बैंकिङ्ग समयसम्म रहेको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ ।
कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूमा आईपीओ विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो । सर्वसाधारणका लागि विक्री गरिने शेयरमा पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूमा वितरण नभएको १ लाख ८० हजार ५८० कित्ता शेयरसमेत थप भएको छ ।
कुल कित्ता शेयरमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हजार ६१० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका–९, स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले आयेजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ ।