काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ३ अर्ब १९ करोडभन्दा बढी नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ९ दशमलव ९१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले रू. २ अर्ब ९० करोड नाफा कमाएको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २३ दशमलव ९७ प्रतिशत र सञ्चालन नाफा ९ दशमलव ८३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै कम्पनीको वितरणयोग्य नाफा रू. ७९ करोड ५७ लाख रहेको छ । यस वितरणयोग्य नाफाको आधारमा कम्पनीको लाभांश क्षमता ५ दशलमव ६४ प्रतिशत छ ।
अघिल्लो आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा, मूल्य आम्दानी अनुपात ११ दशमलव १७ गुणा, तरलता अनुपात ३० दशमलव ९५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८० दशमलव ७३ छ ।
कम्पनीको चुक्ता पूँजी रू. १४ अर्बभन्दा बढी छ । त्यस्तै कम्पनीले जगेडामा रू. १० अर्ब ५७ करोड र रिटेन्ड अर्निङमा रू. ७९ करोड ५७ लाख सञ्चिति गरेको छ ।