काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ३० प्रतिशत नगद लाभांश शेयरधनीहरूको बैंक खातामा पठाउन शुरु गरेको छ ।
कम्पनीको फागुन १५ गते ३१ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापूँजीको ३० प्रतिशत नगद लाभांश (करसहित) पारित भएको थियो । सोही दिनबाट शेयर रजिस्ट्रार एनएमबि क्यापिटलबाट शेयरधनीहरूको हितग्राही खातामा उपलब्ध बैंक खातामा नगद लाभांश पठाउन शुरु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थ फागुन २ गते बुक क्लोज गरेको थियो । यस आधारमा फागुन १ गतेसम्म कायम शेयरधनीहरू मात्रै कम्पनीको नगद लाभांश पाउनेछन् ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरूलाई आफूलाई पायक पर्ने निक्षेप सदस्य (डीपी)मा डिम्याट खाता खोली शेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ ।
त्यसैगरी डिम्याट खाता अद्यावधिक नगरेका शेयरधनीहरूलाई खाता अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ । बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीले नै व्यहोर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ ।
यसैगरी साविक सिद्धार्थ इन्स्योरेन्स र साविक प्रिमियर इन्स्योरेन्स आपसमा गाभिएको मिति २०७९ फागुन १७ गतेभन्दा अघिल्लो दिनसम्म कायम रहेको साविक सिद्धार्थ इन्स्योरेन्सका शेयरधनीको नगद लाभांशमा करकट्टा नगरिएको र साविक प्रिमियर इन्स्योरेन्सका शेयरधनीहरूले प्राप्त गर्ने नगद लाभांशमा कर कट्टा गरिएको कम्पनीले जानकारी दिएको छ । साथै मर्जर भएको मितिदेखि शेयर खरीद गरेका शेयरधनीहरूको हकमा थप भएको शेयरमा कर कट्टा गरेरमात्र नगद लाभांश भुक्तानी गरेको कम्पनीले जनाएको छ ।