फागुन १५, काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर ( आईपीओ ) को नतिजा हेर्न नयाँ वेबसाइट निर्माण गरेको छ ।
अब उप्रान्त सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको http://www.iporesult.cdsc.com.np नामक वेबसाइटबाट सजिलै आईपीओको नतिजा हेर्न सकिने बताएको छ ।
यसअघि विभिन्न आर्थिक क्षेत्रसँग सम्वद्ध अनलाइन पोर्टलहरुले आईपीओको नतिजा सार्वजनिक गर्दै आएका थिए ।
ती अनलाइन पोर्टलहरुलाई नतिजा सार्वजनिक गर्न दिएको भन्दै नियामक निकायको सार्वजनिक आलोचना भएपछि सिडिएससीले आईपीओको नतिजा हेर्न सहज पुरयाउने उद्धेष्यले उक्त नयाँ वेबसाइट सञ्चालनमा ल्याउन लागेको हो ।
सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताहरूको गोपनियतालाई ध्यानमा राख्दै अनलाइन सञ्चार माध्यमहरूले नतिजा प्रकाशन गर्न नपाउने नियम यसअघि नै बनाइसकेको छ ।
यो नियम पनि शुक्रवार बाँडफाँट भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओबाट नै लागू भइसकेको छ । धितोपत्र बाँडफाँटको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा विक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको भए पनि ती कम्पनीका वेबसाइटले चाप थाम्न नसक्दा लगानीकर्ताले सहजै नतिजा हेर्न सकेका थिएनन् ।
विभिन्न अनलाइन सञ्चारमाध्यमले शेयर बाँडफाँटको नतिजा हेर्न सक्ने गरी राख्दा लगानीकर्ताको गोपनीयतामा असर गरेको भन्दै सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न सकिने बनाइएको थियो ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बाँडफाँटको नतिजा सो कम्पनीको वेबसाइट तथा उक्त सार्वजनिक निष्कासनको निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिको वेबसाइटमा राखिएकामा लगानीकर्ताको अत्यधिक चापका कारण दुवै वेबसाइटले काम गर्न सकेका थिएनन् । दिनभर जसो उक्त वेबसाइट ‘डाउन’ भएको थियो ।
यो पनि हेर्नुस्:
आईपीओ बाँडफाँटको नतिजा अब अनलाईन सञ्चार माध्यमहरुबाट हेर्न नपाईने