सिरिया । इस्लामवादी नेतृत्वको विद्रोहीले आइतवार दमास्कसलाई नियन्त्रणमा लिएको घोषणा गरेपछि राष्ट्रपति बशर अल असद भाग्न बाध्य भएका छन् । यससँगै सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको छ ।
राजधानी सिरियामा विद्रोही समूहले सडकमा उत्रिएर असदको बहिर्गमनको घोषणा गर्यो ।
दमास्कसबाट एएफपी टिभीले खिचेको तस्वीरमा विद्रोहीहरूले सूर्योदयको समयमा हावामा गोली चलाएको र केहीले विजयको चिह्न चम्काएको देखिन्छ ।
दमास्कसका बासिन्दा आमेर बाथाले एएफपीलाई फोनमा भने, ‘म विश्वास गर्न सक्दिनँ कि म यो क्षण बाँचिरहेको छु।'
इस्लामिक हयात तहरीर अल–शाम (एचटीएस) समूहले असद परिवारको पाँच दशकभन्दा लामो शासनलाई चुनौती दिँदै आफ्नो अभियान शुरु गरेको दुई हप्ता नबित्दै राष्ट्रपतिको कथित बहिर्गमन भएको बताइएको छ ।
‘बाथ शासनमा ५० वर्षको उत्पीडन, १३ वर्षको अपराध र अत्याचार र (जबर्जस्ती) विस्थापनपछि... हामी आज यो अँध्यारो समयको अन्त्य र सिरियाका लागि नयाँ युगको शुरुआतको घोषणा गर्दछौं,' विद्रोही समूहले टेलिग्राममा भनेको छ।
सिरियाली प्रधानमन्त्री मोहम्मद अल जलालीले सिरियाली जनताले रोजेको कुनै पनि नेतृत्वसँग सहकार्य गर्न आफू तयार रहेको बताएका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले एएफपीसँग भने, 'असदले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिरिया छाडेका छन् ।'
एएफपीले तत्काल रिपोर्टको पुष्टि गर्न सकेन, जुन हिजबुल्लाहको नजिकको स्रोतले असदको प्रमुख सहयोगीका लडाकुहरूले दमास्कस वरिपरि आफ्नो स्थान छोडेको बताएको थियो।