काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८६ दशमलव ७८ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवमा रू. १२ करोड ३६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. २३ करोड ९ लाख पुगेको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी रू. ३ अर्ब ३६ करोड रहेकोमा चालू आवमा बढेर रू. ४ अर्ब १८ करोड पुगेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६० पैसा रहेकोमा चालू आवमा बढेर ११ रुपैयाँ ७३ पैसा पुगेको छ ।
त्यस्तै कम्पनीको खुद बीमाशुल्क आर्जन गत आवमा रू.२ अर्ब ५७ करोड रहेकोमा चालू आवमा बढेर रू. ३ अर्ब १८ करोड पुगेको छ । त्यसैगरी गत आवमा कम्पनीको जीवन बीमाकोषमा रू.११ अर्ब ९७ करोड रहेकोमा चालू आवमा बढेर रू. १६ अर्ब ८५ करोड पुगेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी रू.३ अर्ब ९३ करोड छ । कम्पनीको शेयर प्रिमियम रू.१ अर्ब ५५ करोड, रिटेन्ड अर्निङ रू. ८३ करोड ८० लाख र महाविपत्ति कोषमा रू.१९ करोड २८ लाख सञ्चित रहेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१८१ दशमलव ८२ रहेको छ ।