नेपाली सूचनाप्रविधिज्ञ डा. समीर मास्केले अमेरिकामा स्थापना गरेको र नेपाललगायत विभिन्न देशमा सञ्चालन भइरहेको आईटी कम्पनी फ्युजमसिन्स इन्क अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सूचीकृत हुने भएको छ । नास्डाकमा सूचीकृत सीएसएलएम एक्वीजिशन कर्पबीच हालै मर्जरको सम्झौता भएपछि फ्युजमसिन्स नास्डाकमा सूचीकृत हुने भएको हो । कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा कार्यरत स्टार्टअप फ्युजमसिन्स अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुनु निकै गौरवको विषय हो । यसले नेपालीहरू सूचनाप्रविधिका क्षेत्रमा अब्बल छन् भन्ने त देखाएको छ नै, नेपालको आर्थिक रूपान्तरणमा यो क्षेत्र सबैभन्दा बढी सम्भावना भएको क्षेत्र हो भन्ने पनि प्रमाणित भएको छ ।
फ्युजमसिन्सले नेपालमा झन्डै ५०० जनालाई रोजगारी दिएको छ । अमेरिकाका प्रतिष्ठित कम्पनीहरूको आउट सोर्सिङको काम यसले गरिरहेको छ । यसले नेपालमा विदेशी मुद्रासमेत भित्त्याइरहेको छ । यहाँ काम गर्ने सूचनाप्रविधि क्षेत्रको जनशक्ति विश्वभरिका प्रतिष्ठित कम्पनीमा काम गर्न पुगेका छन् । त्यस्तै यसले नेपालका विद्यालयहरूलाई एआई शिक्षामा आबद्ध गर्न पनि कार्यक्रम ल्याएको छ । यस्तो कम्पनीसँग अमेरिकी कम्पनी मर्ज हुनु यसको ठूलो उपलब्धि हो । कम्पनीका संस्थापक समीर मास्के कोलम्बिया विश्वविद्यालयका एडजन्क्ट प्रोफेशर हुन् । उनले स्थापना गरेको कम्पनी अहिले विभिन्न देशमा काम गरिरहेको छ । यसले सूचनाप्रविधि क्षेत्रमा नेपालीले ठूलै सफलता पाउन सक्छन् भनेर देखाएको छ ।
अहिले नेपालीहरू सूचनाप्रविधि पढाइ हुने विश्वकै उत्कृष्ट विश्वविद्यालयहरूमा प्राध्यापन गरिरहेका भेटिन्छन् । तिनीहरूले नेपालमै केही गर्नुपर्छ भनेर आईटी कम्पनी स्थापना गरेको पनि पाइन्छ । आउट सोर्सिङमात्र होइन, यहीँ सूचनाप्रविधिको उच्च शिक्षा दिलाउनसमेत यस्ता कम्पनी लागिपरेका छन् । अमेरिकामा स्थापना भएर नेपालमा सञ्चालन भइरहेको डियरवाक कम्पनीले पनि सूचनाप्रविधिका क्षेत्रमा ठूलो योगदान दिइरहेको छ । नेपाली युवाहरूलाई रोजगारी पनि दिइरहेको छ । त्यस्तै नेपाली र विदेशीको संयुक्त लगानीमा लीपफ्रग कम्पनीले पनि सयौं युवालाई रोजगारी दिएको छ । त्यस्तै अमेरिकी कम्पनी कोटिभिटीकै सहकार्यमा कोटिभिटी नेपाल कम्पनी पनि सञ्चालनमा रहेको छ । यसले पनि सयौं सूचनाप्रविधिका विद्यार्थीहरूलाई रोजगारी दिएको छ । अफसोर कम्पनीका रूपमा दर्जनभन्दा बढी अमेरिकी कम्पनी नेपालमा दर्ता भएर सूचनाप्रविधिका क्षेत्रमा काम गरिरहेका छन् । यस्तै कम्पनीमध्ये एक फ्युजमसिन्स पनि हो । यस्ता आईटी कम्पनीहरूले नेपाली युवालाई रोजगारी मात्र दिएका होइनन्, सूचनाप्रविधिका क्षेत्रमा विश्वमा आएका नयाँ नयाँ शीप सिकाउने पनि गरेका छन् । त्यसैले नेपालले यस्ता कम्पनीलाई नेपालमै शेयर जारी गर्न प्रोत्साहित गर्नुपर्छ ।
ज्यादै कम लगानीमा सूचनाप्रविधिको जनशक्ति तयार पार्न सकिने र त्यो जनशक्तिले निकै राम्रो आय आर्जन गर्ने हुनाले यस्ता कम्पनीलाई प्रोत्साहित गर्नु जरुरी छ । तर, सूचनाप्रविधिका क्षेत्रमा सरकारको लगानी र चासो निकै कम छ ।
नेपालको शेयरबजारमा अहिलेसम्म सूचनाप्रविधि क्षेत्रको एउटा कम्पनी पनि सूचीकृत भएको छैन । ठूलो लगानी आवश्यक नपर्ने भएकाले उनीहरू शेयरबजारमा आउन अनिच्छुक देखिएका हुन सक्छन् । तर, तिनलाई नेपालको शेयरबजारमा सूचीकृत भएर काम गर्न सहुलियतहरू दिन आवश्यक छ । तर, यी कम्पनीहरूले विदेशी मुद्रा ल्याउनसमेत समस्या भोग्नु परेको गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंकले उनीहरूले ल्याएको पैसामा प्रश्न गरेर विलम्ब गर्दा समस्या भोग्नुपरेको छ । विदेशी मुद्रा आर्जन गर्ने कम्पनीलाई स्वदेशमा बढीभन्दा बढी प्रोत्साहन गर्नु जरुरी छ । उनीहरूलाई नियामक निकायले दु:ख दिने नियतले काम गर्नु हुँदैन, बरु सहजीकरण गरिदिनुपर्छ ।
ज्यादै कम लगानीमा सूचनाप्रविधिको जनशक्ति तयार पार्न सकिने र त्यो जनशक्तिले निकै राम्रो आय आर्जन गर्ने हुनाले यस्ता कम्पनीलाई प्रोत्साहित गर्नु जरुरी छ । तर, सूचनाप्रविधिका क्षेत्रमा सरकारको लगानी र चासो निकै कम छ । सूचनाप्रविधिका कम्पनीलाई आकर्षित गर्न भनेर बनेपामा आईटी पार्क सञ्चालनमा ल्याइयो तर त्यहाँ अहिलेसम्म कम्पनी गइरहेका छैनन् । त्यो प्रयोगमै नआई बिग्रन थालेको छ । कम्पनीहरूलाई आकर्षण गर्न सकेको भए वा विश्वास दिलाउन सकेको भए नेपालको सूचनाप्रविधि उद्योगको आकार नै बदल्न सक्थ्यो । अझै पनि समय घर्किसकेको छैन, यो क्षेत्रलाई उच्च प्राथमिकता दिएर सही रणनीति लिन आवश्यक छ । बंगलादेशले यही क्षेत्रबाट ठूलो प्रगति गर्दै छ । उत्तिकै दक्ष जनशक्ति भएर पनि नेपालको सरकारले सही ढंगले काम गर्न नसक्दा यसले ठूलो परिवर्तन ल्याउन नसकेको हो । त्यसैले फ्युजमसिन्सजस्ता अन्य कम्पनीहरू पनि नेपालमा सञ्चालन रहेकाले यस क्षेत्रको विकासका लागि सरकारले अभियान नै चलाउन सक्नुपर्छ ।