काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ३० गते (आज) देखि २७ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको आधारमा १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा वैशाख ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन पेश गर्नुपर्नेछ । यो हकप्रद जेठ १९ गतेसम्म निष्कासनमा रहनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंङ्क लिमिटेड रहेको छ । सम्बन्धित शेयरधनीहरुले विक्री प्रबन्धकसँगै सन नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।
मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनमा ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न हकप्रद शेयर निष्कासन गरेको हो । २७ प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्दछ ।