नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी नयाँ नोट सटही गर्ने गरेकोमा यस वर्ष पुराना तर सफा नोट सटही गर्ने भएको छ । दशैंमा नयाँ नोट बजारमा पठाउनु भनेको धेरै नोटलाई फोहोर बनाउनु हो । खासगरी साना नोट टीका लागेर र पानी परेर बिग्रने गरेको पाइन्छ । दशैंमा नोट फोहोर बनाइन्छ । त्यसैले नयाँ नोट साँट्नु गलत हो भन्दै टिप्पणी भए पनि राष्ट्र बैंकले त्यसलाई निरन्तरता दिएको थियो । यस वर्ष भने पुराना तर सफा नोट साट्ने तयारी गरेको छ । यो पनि अनावश्यक काम हो ।
दशैंमा नयाँ चाहिन्छ भन्ने कुनै धार्मिक मान्यता छैन । त्यस्तै सांस्कृतिक परम्परा पनि होइन । केही पहुँचवालाले दक्षिणामा नयाँ नोट दिन थाल्दा बिस्तारै त्यसप्रति आकर्षण बढेको हो र राष्ट्र बैंकले नयाँ नोट सटही गर्न थालेको हो । तर, सफा नोटविपरीत भएकाले यो रोक्नुपथ्र्यो ।
राष्ट्र बैंकले नयाँ नोटलाई संरक्षण गर्न विभिन्न समयमा विभिन्न नीतिगत र कानूनी व्यवस्थाहरू गर्दै आएको छ । तर, चाडबाडका बेलामा नयाँ नोट वितरण गर्दा नोट फोहार हुने गरेको छ । उसले बजारको मागअनुसार कति नोट बजारमा पठाउने त्यसअनुसार मात्रै गर्नु उपयुक्त हुन्छ । पुराना नोट धुल्याउन खर्च लाग्छ । नोट छाप्दा पनि पैसा खर्च हुन्छ । अहिलेसम्म विदेशी कम्पनीलाई छाप्न दिने गरिएको छ जसले गर्दा नेपाली पैसा विदेशिने गरेको छ । राष्ट्र बैंकले नयाँ नोट छपाइ गर्दा आर्थिक रूपमा राज्यले ठूलो धनराशि खर्च गर्नुपर्ने हुन्छ । त्यसैले अब नोटको प्रयोग घटाउँदै जानुपर्छ र विद्युतीय कारोबार बढाउँदै लैजानुपर्छ ।
विद्युतीय भुक्तानीमा भ्याट लगाएर लागत महँगो पारिएको छ । प्रविधिको प्रयोगले कारोबारको लागत कम हुन्छ तर कर लगाएर त्यसलाई महँगो पार्नु भनेको नोटमै कारोबार गर भन्नु हो । त्यसले न सफा नोटको नीति सफल हुन्छ न त विद्युतीय कारोबार नै फस्टाउन सक्छ । राष्ट्र बैंकले डिजिटल करेन्सी ल्याउनका लागि अध्ययन गरिरहेको छ भने सरकार डिजिटल भुक्तानीमा कर लगाइरहेको छ । यस्तो दोधारे नीति सरकारले त्याग्नुपर्छ ।