काठमाडौं । विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र महत्त्वलाई लक्षित गर्दै सरकारले देशभरका मुख्य राजमार्गहरूमा आगामी ८ वर्षभित्र २२४ ओटा चार्जिङ स्टेशन निर्माण गर्ने गुरुयोजनाको खाका तयार गरेको छ ।
देशमा विद्युतीय सवारीसाधनको विक्री व्यापक भइरहे पनि सरकारले यसको प्रवर्द्धनका लागि चाहिने आवश्यक पूर्वाधार– चार्जिङ स्टेशनसम्बन्धी गुरुयोजना भर्खर तयार गर्न लागेको हो । विद्युतीय सवारीको प्रयोगलाई सहज बनाउन देशभरका मुख्य राजमार्गमा चार्जिङ स्टेशन निर्माण गर्ने गुरुयोजना बनेको जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले जानकारी दिए ।
उक्त गुरुयोजनाअनुसार बाढीपहिरोले असर नगर्ने स्थान हेरेर कम्तीमा २० देखि २५ किलोमीटरको दूरीमा चार्जिङ स्टेशन राखिनेछ । यद्यपि कुन राजमार्गमा कतिओटा चार्जिङ स्टेशन राख्ने भन्नेमा अझै छलफल चलिरहेको उनले बताए ।
‘गुरुयोजनाको अन्तिम खाका अझै तयार नभएकाले सरकारको यातायातसम्बन्धी गुरुयोजनालाई समेत दृष्टिगत गरेर चार्जिङ स्टेशनको संख्या बढाउने विषयमा छलफल भइरहेको छ । त्यसकारण यो संख्या बढ्न पनि सक्छ । निजीक्षेत्र, नेपाल विद्युत् प्राधिकरण र सरकार आफैले कतिओटा निर्माण गर्ने भन्नेमा पनि विस्तृत छलफल हुन बाँकी नै छ,’ उनले भने ।
नेपालले सन् २०३० भित्र दुईपांग्रेसहित सबै निजी गाडी विक्रीको ९० प्रतिशत र चारपांग्रे विक्रीको ६० प्रतिशत विद्युतीय पुर्याउने लक्ष्य लिएको छ । यो प्रतिबद्धता अन्तरराष्ट्रिय मञ्चमै व्यक्त गरिएको हो । विद्युत्को उपलब्धता बढेसँगै विद्युतीय सवारीसाधनको उपयोग नेपालमा बढ्दै गएको छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ८ महीनामा ७ हजार ८९ जिप, कार र भ्यान लगायत चारपांग्रे विद्युतीय सवारीसाधन आयात भएका छन् । अघिल्लो आवको सोही अवधिमा ६ हजार ४३५ ओटा मात्रै चारपांग्रे आयात भएका थिए ।
ऊर्जा विकास मार्गचित्रअनुसार सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य छ । त्यसकारण देशभित्र हालको विद्युत् खपत २ हजार मेगावाटभन्दा कम भएकोमा विद्युतीय सवारीसाधनको व्यापक प्रयोगबाट देशमा उत्पादित बिजुलीको व्यापक उपयोग गर्न सकिने सरोकारवालाको भनाइ छ ।
पूर्वदेखि पश्चिमसम्म र तराईदेखि पहाडसम्म, सबैतिर पर्याप्त मात्रामा चार्जिङ स्टेशन आवश्यक भए पनि हाल सबै ठाउँमा उपलब्ध नभएका कारण आवश्यकताअनुसार पर्याप्त बनाउने गरी गुरुयोजनाको काम भइरहेको भेटुवालले बताए ।
२०८० को भदौमा नेपाल विद्युत् प्राधिकरणले एकैसाथ देशभर ५१ ओटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको थियो । त्यसपछि ११ ओटा थपेर हाल ६२ ओटा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा तयार भएका यी चार्जिङ स्टेशन निर्माण गर्न झन्डै ४० करोड रुपैयाँ खर्च भएको प्राधिकरणले बताएको छ ।
हाल निजीक्षेत्रसमेतको गरी देशभर ४५० हाराहारी चार्जिङ स्टेशन स्थापना भएको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले बताए । राजमार्गहरूमा केही चार्जिङ स्टेशन भए पनि अधिकांश काठमाडौंलगायत शहरी क्षेत्रमा केन्द्रित छन् । उनका अनुसार यसबाट दैनिक ३ लाख युनिट विद्युत् खपत भइरहेको छ । तर, यो पर्याप्त नभएको प्राधिकरणको निष्कर्ष छ ।