काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले निजी क्षेत्रसमेतको सहभागितामा हजारौं उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिने बताउनुभएको छ ।
बुधवार बसेको संघीय संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, 'अहिले सुन्दा अविश्वसनीय लाग्ला तर निजी क्षेत्रसमेतको सहभागितामा हजारौं उद्यमशीलतालाई एकसाथ प्रोत्साहन गरिनेछ ।'
उहाँले हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामैं शुरू हुने सम्मानित संसदलाई विश्वास दिलाउँन चाहेको बताउनुभयो । 'आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ । म सरकारलाई तथ्यांक केन्द्रित गर्नेछु । देशमा महामारीका रुपमा फैलिएको पलायन र निराशा रोक्नेछु । सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुन: स्थापित गरेका छन् । तिनमा गुणात्मक परिवर्तन ल्याइनेछ,' उहाँले थप भन्नुभयो, 'सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइनेछ । सुस्त कर्जा प्रवाह, मध्मवर्गीय उपभोगमा आएको गिरावट र पूँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।'
सत्ता समीकरण फेरिएपछि आज बसेको संघीय संसदको बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ ।
सोही बैठकमा बोल्दै दाहालले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न आफू संसदसँग विश्वासको माग्न आएको बताउनुभयो । उहाँले अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी रहेको दाबी गर्नुभयो ।