काठमाडौं । सुनको मूल्यमा लगातार सातौं दिन कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रवारयता सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको हो । त्यसयता मात्रै सुनको भाउ तोलामा ४ हजार १०० रुपैयाँ बढिसकेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रवार तोलाको १ लाख ५७ हजार १०० रुपैयाँ रहेको सुनको भाउ आज (शुक्रवार) १ लाख ६१ हजार २०० पुगिसकेको छ ।
मध्यपूर्वका देशसँगै रुस र युक्रेनबीच द्वन्द्व बढ्नु, संयुक्त राज्य अमेरिकाको फेडरल रिजर्भले ब्याजदरमा ०.५ प्रतिशत बिन्दुले कटौती गर्नुलगायत कारणले डलर कमजोर भएर सुनको भाउ बढेको सुनचाँदी व्यवसायीहरूको भनाइ छ ।
यसको प्रभाव स्थानीय बजारमा मात्रै होइन, अन्तरराष्ट्रिय बजारमा समेत परेको छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ ।