काठमाडौं । वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा बुधवार भएको आगलागीको विस्तृत छानविनका लागि नेपाल आयल निगमले समिति गठन गरेको छ । आपूर्ति मन्त्रालयले आपूर्ति विभागका महानिर्देशक कुमारप्रसाद दाहालको नेतृत्वमा नेपाल आयल निगम, उद्योग मन्त्रालय, आपूर्ति मन्त्रालयलगायतका प्रतिनिधि सम्मिलिन ५ सदस्यीय समिति गठन गरेको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
सुपर ग्यास उद्योगमा भएको आगलागीको विस्तृत अनुसन्धान गरी यथार्थ सत्य पत्ता लगाउने उद्देश्यले मन्त्रालयले समिति गठन गरेको गोइतले बताए । उनका अनुसार ग्यास उद्योगमा के कारणले आगलागी भएको हो भन्ने स्पष्ट भएको छैन । दुर्घटनाको केही समयमा नै निगमले यसबारे अध्ययन गरे पनि यथार्थ भने अझै स्पष्ट नभएको उनले बताए ।
बिहीवार गठन गरिएको समितिले विस्तृत अध्ययन अनुसन्धान गर्ने र अध्ययनपछि आगामी दिनमा यस प्रकारको दुर्घटना रोक्नका लागि के–कस्ता सतर्कता अपनाउनु पर्छ भन्नेबारे निष्कर्ष निस्कने प्रवक्ता गोइतले बताए । समितिले चाँडोभन्दा चाँडो अनुसन्धान गरी यथार्थ बाहिर ल्याउने गरी काम थालिसकेको बताइएको छ ।
सुपर ग्यास उद्योगमा भएको आगलागीमा १५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । यसबारे स्पष्ट तथ्याङ्क भने अझै आउन सकेको छैन । उक्त आगलागीमा परी वीरगञ्ज महानगरपालिका वारुणयन्त्रका २ जना कर्मचारीको ज्यान जानुका साथै ३ जना घाइते भएका थिए । मुलुकमा ग्यास उद्योग सञ्चालनमा आएको ४ दशकको अवधिमा पहिलो पटक ग्यास उद्योगमा आगलागी भएको हो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.