सुरेश अधिकारी
अध्यक्ष, सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल
हामीले निर्धारण गरेको आरबीटी मापदण्ड लागू हुनुपर्छ
पहिला स्रष्टाहरूले निमय नभएर दुःख पाएका थिए । अहिले नियम भएर पनि त्यसको पालना नहुँदा समस्या आएको छ । सष्टाले रोयल्टी नपाउनु नै अहिलेको मुख्य समस्या हो । प्रतिलिपि अधिकार–२०५९ ले सृजना कपी तथा प्रयोगबारे व्यवस्था गरेको छ ।
काभ्रे कुशादेवीमा २०२४ सालमा जन्मिएका सुरेश अधिकारीले करीब ५ हजार गीतमा सङ्गीत भरिसकेका छन् । नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका उनले २०३८ सालमा साङ्गीतिक क्षेत्रमा पाइला टेकेका हुन् । तीन दशकदेखि निरन्तर साङ्गीतिक क्षेत्रमा तल्लीन उनी अघिल्लो हप्ता सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालको अध्यक्ष चुनिए । नेपाली सङ्गीतको अवस्था, रोयल्टी सङ्कलनमा हुने झमेला, सष्टाका भोगाइ र समाजका भावी योजनाबारे उनी सँग अभियानका प्रदीप अधिकारीले गरेको संवाद :
भर्खरै रोयल्टी सङ्कलन समाजको अध्यक्षमा निर्वाचित हुनुभएको छ, समाजलाई अघि बढाउने कस्ता योजना छन् ?
नेपाली सङ्गीतमा रोयल्टीको ठूलै समस्या छ । अहिले प्रतिलिपि अधिकार उलङ्घन गर्ने क्रम पनि बढिरहेको छ । यसले गर्दा रोयल्टी सङ्कलनमा निकै समस्या छ । यसको प्रत्यक्ष मार स्रष्टाले खेपिरहेका छन् । त्यसको नियमन र व्यवस्थित गर्ने समाजको मुख्य उद्देश्य रहेको छ । एकातिर श्रोताले पाइरेसी गर्छन् । अर्को तिर कम्पनीले रोयल्टी दिँदैन । सरकारले यसलाई नियमन गर्न सकेको छैन । सरकारले कपी राइट उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउन नसक्दाको परिणाम हो यो । हामी त्यसका लागि लडिरहेका छौं । सरकारद्वारा सञ्चालित नेपाल टेलिभिजन, रेडियो नेपालजस्ता संस्थाले समेत रोयल्टी दिँदैनन् । नेपाल टेलिकम, एनसेल वा यूटीएलजस्ता कम्पनीका साथै एफएम रेडियो, टेलिभिजन च्यानलले समेत रोयल्टी दिन आनाकानी गरिरहेका छन् । सरकारले ती संस्थाबाट रोयल्टी नियमन गर्न कुनै पहल गरेको छैन । त्यसका लागि हामी बारम्बार दबाब दिइरहेका छौं । स्रष्टाको अधिकार सुनिश्चितताका लागि म लड्नेछु । प्रतिलिपि अधिकारबारे व्यापक प्रचारप्रसारको अभावमा पनि यो अवस्था आएकाले त्यसबारे सचेतना फैलाउन पनि समाजले ठोस कदम चाल्नेछ ।
समाजका अहिले मुख्य–मुख्य चुनौती के–के हुन् ?
पहिला स्रष्टाले निमय नभएर दुःख पाएका थिए । अहिले नियम भएर पनि त्यसको पालना नहुँदा समस्या आएको छ । स्रष्टाले रोयल्टी नपाउनु नै अहिलेको मुख्य समस्या हो । प्रतिलिपि अधिकार–२०५९ ले सृजना कपी तथा प्रयोगबारे व्यवस्था गरेको छ । तर, त्यसको पालना नै हुन सकेको छैन । यसको मुख्य दोष सरकारलाई जान्छ । नियम ल्याउने तर कार्यान्वयन नगर्ने परिपाटीले नै यो अवस्था आएको हो । राज्यले बौद्धिक सम्पतिसम्बन्धी अधिकारलाई सुनिश्चित गर्न चाहेको छैन । स्रष्टाका हक अधिकार प्रत्याभूति गराउन कुनै चासो दिएको छैन । प्रतिलिपि अधिकार उल्लङ्घन गर्नेलाई कारबाही गर्नेतर्फ चासो दिएको छैन ।
सर्जकको पक्षमा काम गर्न समाज गठन भएको पनि ५ वर्ष नाघ्यो, त्यस अवधिमा के–कस्ता काम भए ?
रोयल्टी समाज स्थापना हुँदा यसका ७१ जना सदस्य थिए । त्यसमध्ये अधिकाशंलाई समाजले के काम गर्छ भन्नेसमेत थाहा थिएन । स्वयम् म नै समाजको कार्यक्षेत्रबारे अनविज्ञ थिए । तर, यसबीचमा कपी राइट र रोयल्टीबारे धेरै सवाल बहसमा आएका छन् । त्यस्तो सचेतनाका लागि सरोकारवालालाई झकझक्याउने सरकारलाई कानून बनाउन बाध्य पार्नेलगायत कार्य भए । हामी हात बाँधेर बसेका छैनौं । अहिले स्रष्टाहरू आफ्नो अधिकारबारे सचेत भएका छन् यो पनि उपलब्धि हो । अहिले समाजमा करीब ५ सय स्रष्टा सहभागी छन् । यो विस्तार पनि हाम्रा लागि उपलब्धि हो ।
आरबीटीबाट पनि रोयल्टी उठ्न थालेको छ ? यसको अवस्था कस्तो छ ?
आरबीटी सम्बन्धमा समाजको आफ्नै मापदण्ड छ । तर, सो बमोजिम रोयल्टी उठ्न सकेको छैन । नेपाल टेलिकमले सीआरबीटीबाट प्राप्त रकम मध्ये ५० प्रतिशत आपूmले राख्छ । ५० प्रतिशत रकम एजेण्टलाई तिर्छ । त्यो एजेण्टले आफ्नो भाग राखेर बाँकी म्युजिक कम्पनीलाई दिन्छ । म्यूजिक कम्पनीले स्रष्टालाई विरलै रोयल्टी तिर्छन् । केही कम्पनीले रोयल्टी तिर्ने भनेर प्रतिबद्धता गरेका थिए । तर, कम्पनीले स्रष्टालाई दिने भनिएको १ रुपैयाँ ५० पैसा घटाएर ५६ पैसामा सीमित पारियो । त्यो स्रष्टाले बुझ्न मानेका छैनन् । स्रष्टाले सम्झौताबमोजिमकै रकम माग गरिरहेका छन् ।
समाजले अझै पनि स्रष्टा अधिकार संरक्षणका लागि खासै काम गर्न नसकेको एकथरीको आरोप छ ?
जहाँ सरकारले कानून निर्माण गर्छ, तर लागू गर्न सक्दैन,त्यस्तो मुलुकमा निजीक्षेत्र वा सामाजिक संस्थाले अधिकार संरक्षणका लागि कति काम गर्न सक्छन् भन्ने पनि छ । राज्यले नै प्रतिलिपि अधिकार कार्यान्वयनमा ल्याउन नसकेको अवस्थामा हामीले मात्र के गर्न सक्छौं र ? त्यसैले पहिला सरकारले नै तताउनुपर्छ । हामी त्यसका लागि निरन्तर लागि परेका छौं । आरबीटीबाट अहिलेसम्म स्रष्टाले रोयल्टी पाउन सकेका छैनन् । तर, सरकारले ती कम्पनीलाई नियमन गर्न सक्दैन । अब हामी चाँडै नै समाजले निर्धारण गरेको सीआरबीटी मापदण्डको रोयल्टी कार्यान्वयनका लागि कदम चाल्छौं ।
विदेशमा स्रष्टा ठूला सेलिब्रेटी मानिन्छन् । आर्थिक हैसियत पनि त्यही स्तरको हुन्छ, तर नेपालमा किन त्यस्तो हुन सकेको छैन ?
हो, विदेशमा स्रष्टा रेड कार्पेटमा हिँड्छन् । आर्थिक रूपमा पनि उनीहरू निकै माथि हुन्छन् । विश्वकै धनाढ्यको सूचीमा समेत स्रष्टा पर्ने गरेका छन् । सर्जक निजी जेटमा उड्छन् । हामी कहाँ स्रष्टाको न सम्मान छ न त आर्थिक पाटो नै दरिलो छ ।
प्रतिलिपि अधिकार उलङ्घनको मुख्य कारण के हो ?
प्रविधि आफैमा नराम्रो होइन । प्रविधिका खराब पक्ष आफ्नो ठाँउमा छन् । तर, नेपालमा प्रविधि प्रयोगको फाइदा उठाएर स्रष्टालाई अप्ठेरोमा पारिएको छ । गतल तरीकाले गीत, फिल्म, पुस्तकलगायत सृजना चोरी गर्ने प्रविधि बढेको छ । यसको प्रत्यक्ष मार स्रष्टाले खेपिरहेका छन् । सरकारले प्रतिलिपि अधिकार कडाइका साथ लागू गर्न नसक्दा यस्तो अवस्था आएको हो । त्यसैले हामी सरकारसँग प्रतिलिपि अधिकार संरक्षण तथा बौद्धिक सम्पतिको हक प्रत्याभूति गर्न अनुरोध गर्छौं । हामीलाई आशा छ वर्तमान सरकारले स्रष्टा हक अधिकार सुनिश्चितताका लागि पहल गर्नेछ ।