फलामे ढोका (एसएलसी) पार गरेर कलेज जीवनमा प्रवेश गर्दाको क्षण साच्चै स्मरणीय हुन्छ । अझ शिक्षणसंस्थाले नव प्रवेशिका लागि आयोजना गर्ने वेलकम पार्टीको झल्को त बिर्सनै सकिन्न । त्यसैले होला शिक्षणसंस्थाले स्वागत तथा बिदाइ पार्टीलाई तालिकामै समावेश गरेका छन् । त्यतिमात्र होइन अचेल शहरवासी औपचारिक भेटघाट, पारिवारिक जमघट र खुशीयाली बाँड्न पनि यस्ता कार्यक्रम आयोजना गर्छन् । विगतमा शहरका प्लस टूमा मात्र गरिने यस्ता कार्यक्रम केही वर्षयता गाउँशहर सबैतिर लोकप्रिय भइसकेको छ । समाजका विभिन्न तह र तप्कामा पार्टी मनाउने धुन चढेको छ ।
एक हप्ता अगाडिमात्र कलेज व्यवस्थापन र सहपाठीले फेरवेल पार्टी आयोजना गरेको साउथ एशियन इन्ष्टिच्युट अफ म्यानेजमेण्ट कलेजको तेस्रो सेमेष्टरमा अध्यनरत सन्नी श्रेष्ठले गर्व गर्दै सुनाए । उनका अनुसार कार्यक्रम आयोजनाका लागि कलेजले आधा रकम र विद्यार्थीबाट आधा सङ्कलन गरिएको थियो । कार्यक्रमको आयोजना पनि कलेज र विद्यार्थीको संयुक्त प्रयासमै भयो । ‘राम्रो पक्ष कार्यक्रम व्यवस्थापनको जिम्मा नै हामीलाई दिइयो,’ उनले बताए । तेस्रो सेमका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा पहिलो र दोस्रो सेमका साथीले सहयोगी भूमिका निभाए । कार्यक्रम रमाइलोमा मात्र सीमित थिएन । कार्यक्रम आयोजनका विविध पक्षबारे पनि प्रत्यक्ष बुझ्ने अवसर पाइयो उनले अनुभव सुनाए । कार्यक्रमकै माध्यमबाट नयाँ साथीबीच चिनाजानी र सम्बन्ध पनि गाँसियो । यसले भविष्यका लागि राम्रो सामाजिक सम्बन्ध स्थापित गर्नसमेत सहयोग पुग्ने उनको ठम्याइ छ । कार्यक्रममा विद्यार्थीले आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए । कलेजका डिन विजय केसी र एमबीए सङ्कायका संयोजक सविना तुलाधर पनि कार्यक्रममा सहभागी थिए । विभिन्न क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिएकोसमेत उनले जानकारी दिए ।
यस्ता कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा उजागर गर्न तथा क्षमता प्रदर्शन गर्नसमेत सहयोग पुग्ने थेम्स इण्टरनेशनल कलेजका बीआईएम सङ्कायका सह संयोजक सुमेरु महर्जनको अनुभव छ । उनी भन्छन्, ‘कार्यक्रम आयोजक समितिमा रहेका विद्यार्थीमा नेतृत्वदायी चरित्रको विकास हुन्छ ।’ आर्थिक तथा व्यवस्थापनको अधिकांश जिम्मेवारी विद्यार्थीलाई नै सुम्पिने भएकाले यसले उनीहरूलाई जिम्मेवारी बहन गर्न सिकाउँछ । कलेजले उपलब्ध गराएको तथा आफूले सङ्कलन गरेको सीमित बजेटमै कार्यक्रम आयोजना हुने गरेको छ । यसले विद्यार्थीलाई बजेट व्यवस्थापनको समेत राम्रो अनुभव दिने उनी बताउँछन् । यसले विद्यार्थीको खर्चालु बानीमा सुधार ल्याई बचत गर्ने बानीको विकास गर्ने उनको अनुभव छ । कार्यक्रममा साङ्गीतिक प्रस्तुति, नृत्य, प्रहसनका साथै आफूमा रहेका अन्य प्रतिभा सबै सामु देखाउने समान अवसर प्रदान गरिन्छ ।
वेलकम तथा फेरवेल कार्यक्रमको आयोजना गरिँदा प्रस्तुतिको तयारीका क्रममा विद्यार्थीमा सहकार्य हुँदा गहिरो मित्रतासमेत बस्छ । विद्यालय जीवनको समाप्तिपछि नयाँ मोडमा प्रवेश गर्दा नौलो अनुभव हुन्छ । यस्ता कार्यक्रमले नयाँ तथा पुराना विद्यार्थीको सम्बन्ध विस्तारका लागि सेतुको काम गर्ने महर्जन बताउँछन् ।
कार्यक्रमको सकारात्मक पक्ष सम्बन्ध विस्तार
विद्यार्थी जीवन सिकाइका लागि राम्रो अवसर हो । यस अवस्थामा सिकेको र आर्जन गरेको ज्ञानले करियरलाई फाइदा पुग्छ । विद्यार्थी जीवनको समाप्तिपछि देश तथा विदेशका विभिन्न अङ्गमा परिचालित हुने जनस्रोत तिनै विद्यार्थी हुन् । विद्यार्थी जीवनमा बनेका सम्बन्ध भविष्यका लागि सहयोगी बन्छ । चिनजान र सम्बन्धले करियर बनाउन निकै बल पुग्छ । यस्ता कार्यक्रमले चिनजानको राम्रो अवसर प्रदान गर्ने भएकाले सम्बन्ध विस्तारमा पनि यसले योगदान पुर्याएको छ ।
प्रतिभालाई अवसर
यस्ता कार्यक्रम विद्यार्थीका लागि प्रतिभा देखाउने अवसर रूपमा रहेका छन् । अवसर नपाएर कतिपय प्रतिभा आफैमा गुम्सिएर रहेका हुन्छन् । यस्ता कार्यक्रम प्रतिभा हुनेहरूका लागि राम्रो प्लेटफर्म बनेका छन् । कलेजमा आयोजना हुने यस्ता कार्यक्रमबाट उदाएका केही साङ्गीतिक समूह हाल व्यावसायिक र चर्चित बनेका छन् ।
व्यवस्थापन शैलीको विकास
कलेजमा आयोजना हुने स्वागत तथा बिदाइ कार्यक्रमलाई थप आकर्षक बनाउन आजभोलि विद्यार्थीका विभिन्न समूहबीच प्रतिस्पर्धासमेत हुने गरेको छ । त्यस्ता कार्यक्रम आफूले आयोजना गर्न विद्यार्थीहरूले समूह बनाई प्रस्ताव पेश गर्छन् । र, कलेजले पनि उत्कृष्ट समूहलाई कार्यक्रम आयोजना गर्ने जिम्मा दिन्छ । यसले विद्यार्थीहरूबीच प्रतिस्पर्धाको विकास गराउँछ । साथै, उनीहरूमा व्यवस्थापन र प्रस्ताव बनाउने शीपको विकास गराउँछ ।
व्यावहारिक ज्ञान
किताबी ज्ञानलाई प्रयोगात्मक रूपमा अघि बढाउन समेत यस्ता कार्यक्रमले सहयोग पु¥याउने देखिन्छ । यसबाट इभेण्ट तथा आर्थिक व्यवस्थापन गर्ने अनुभव पनि विद्यार्थीहरूले प्राप्त गर्छन् । यसमा मनोरञ्जनका साथै विद्यार्थीहरूले आफूले कक्षामा पढेका कुरा प्रयोगात्मक रूपमा प्रस्तुत गर्न सक्छन् । साथै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई टीमवर्क र सामाजिकीकरणमा अभ्यस्त बनाउँछ । सधैं किताब मात्र पढनेहरू एकोहोरो हुने गरेको विभिन्न अनुन्धानले पत्ता लगाएको छ । यस्ता कार्यक्रमले विद्यार्थीमा चौतर्फी ज्ञान विकास गर्न सहयोग गर्छ ।
कार्यक्रमका नकारात्मक पक्ष
खर्चको झमेला
सीमित खर्चमा सम्पूर्ण कार्यको व्यवस्थापन गर्नुपर्ने भएकाले विद्यार्थी र व्यवस्थापनबीच कहिलेकाहीँ विवाद पनि हुने गरेको छ । यसले कार्यक्रमको उद्देश्य नै धरापमा पर्न जान्छ । तसर्थ, यसको न्यूनीकरणका लागि व्यवस्थापनका साथै विद्यार्थी स्वयम् पनि सजग हुनु आवश्यक छ ।
विद्यार्थीविद्यार्थीबीच मनमुटाव
भर्खरै युवा अवस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीमा चञ्चलपना तथा जोश हुन्छ । यसैका कारण कहिलेकाहीँ कार्यक्रमको समयमा विद्यार्थीविद्यार्थीबीच केही विषयमा विवादसमेत हुने गरेको पाइन्छ । स्वागत तथा बिदाइजस्तो कार्य हुँदा रमाइलोको सत्ता उल्टै दुखद घटना हुन सक्छ । तसर्थ, कार्यक्रममा यस्तो घटना हुन नदिन आयोजक र व्यवस्थापक सजग हुनु आवश्यक छ ।
भड्किलोपन
कार्यक्रममा विद्यार्थीको पहिरन र प्रस्तुतिलाई लिएर निकै टीकाटिप्पणी हुन्छ । पछिल्ला दिनमा त्यस्ता कार्यक्रम भड्किलो बन्दै भएको कलेज व्यवस्थापन र विद्यार्थीको अनुभव छ । नाचगानमा नेपालीपन तथा रमाइलो हराउँदै गएको उनीहरू बताउँछन् । स्वदेशी तथा विदेशी चलचित्रको सिको गर्दै विद्यार्थी भड्किलो नृत्य, हाउभाउ तथा पोशाकमा केन्द्रित हुँदै गएका छन् । शिक्षण संस्थानमा हुने यस्ता कार्यक्रमको प्रमुख उद्देश्य विशुद्घ मनोरञ्जन प्रदान गर्नु तथा सहकार्य विकास गर्नु हो । तसर्थ, कलेज प्रशासन तथा विद्यार्थीसमेत आफैंमा सजग भई कार्यक्रमलाई हेर्नलायक र उदाहरणीय बनाउन जरुरी देखिन्छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.