काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्वदेशमै उत्पादित बाल्ट्रा ब्रान्डका घर तथा भान्सामा प्रयोग हुने सामान र विभिन्न नेपाली ब्रान्डका जुत्ता विक्री गर्न थालेको छ । बीएफ स्पोर्ट्स, स्मार्ट सुज, रन सुज र सुज ल्यान्ड ब्रान्डका नेपाली जुत्ता पनि विक्री गर्न थालेको साल्ट ट्रेडिङले बताएको छ ।
सरकारले २ वर्षअघि ल्याएको ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियानलाई साथ दिँदै कर्पोरेशनले आफ्ना विभिन्न विक्री केन्द्रमार्फत यस्ता वस्तुको विक्री शुरू गरेको हो । यस अभियानअन्तर्गत बाल्ट्रा ब्रान्डको २०० वाटको इन्डक्शन चूल्हो, सोही चूल्होमा प्रयोग हुने ५ लिटरको प्रेसर कुकर, २४ इन्चको कराइ, २६ इन्चको फ्राइड प्यान र १८ इन्चको सस प्यान (चिया पकाउने भाँडो) विक्री गर्न थालिएको साल्ट ट्रेडिङका विभागीय प्रमुख व्रजेशकुमार झाले बताए । ‘त्यसैगरी, विभिन्न चारओटा नेपाली ब्रान्डका जुत्ता विक्री शुरू गरिएको छ,’ उनले भने ।
झाका अनुसार नेपाली ब्रान्डको प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता वस्तुको विक्रीमा साल्ट ट्रेडिङ लागेको हो । यो अभियानले ती वस्तुका उत्पादक र उपभोक्तालाई समेत ठूलो फाइदा हुने कम्पनीको अपेक्षा छ ।
साल्ट ट्रेडिङले काठमाडौं उपत्यकासहित लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा यस्ता वस्तुको विक्री शुरू गरेको हो । अहिले उपत्यकाभित्र केन्द्रीय कार्यालय कालीमाटी, सतुंगल, बालाजु, गौशाला, कपन, कौशलटार, कोटेश्वर, जाउलाखेल, स्वयम्भुसहित १२ स्थानबाट ती वस्तु विक्री भइरहेका छन् ।
उपत्यकाबाहिर बागलुङ, नेपालगञ्ज, सुर्खेत र धनगढीमा विक्री शुरू गरिएको छ । जुत्ता विक्री भने साल्ट ट्रेडिङको कालीमाटी र जडीबुटीस्थित कार्यालय परिसरबाट भइरहेको छ । पर्वलाई लक्ष्य गरेर हरेक ब्रान्डका जुत्तामा कम्तीमा १० देखि ५० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको छ । विस्तारै यसलाई देशभर विस्तार गर्ने योजनामा साल्ट ट्रेडिङ छ ।
‘अहिले हामीकहाँ अधिकांश मान्छेले विदेशबाट आयातित एलपी ग्यासमा खाना पकाउने गरेका छन्, जसले गर्दा नेपाली पैसा विदेश गइरहेको छ । व्यापारघाटा पनि बढ्दो क्रममा छ । हाम्रो मुख्य उद्देश्य भनेको नेपालमै उत्पादित इन्डक्शन चूल्होको प्रयोग बढाई जतिसक्दो विद्युत् खपत बढाउने र एलपी ग्यास आयात कम गर्ने भन्ने हो,’ विभागीय प्रमुख झाले भने ।
इन्डक्शन चूल्होको प्रयोगबाट उपभोक्ताको भान्सा खर्च पनि घट्ने विश्वास साल्ट ट्रडिङको छ । एलपी ग्यास एक सिलिन्डरको मूल्य १ हजार ९१० रुपैयाँ पर्छ । कुनै परिवारलाई एक सिलिन्डर ग्यासले १ महीना मात्र धान्छ भने उसले मासिक १ हजार ९१० रुपैयाँ खाना पकाउने इन्धनका लागि खर्च हुन्छ । तर, इन्डक्शन चूल्हो प्रयोगले १००० रुपैयाँ खर्च घटाउने साल्ट ट्रेडिङको भनाइ छ । कर्पोरेशनका अनुसार इन्डक्शन चूल्होसहित भान्सामा प्रयोग हुने भाँडाकुँडाको कम्बो सेटको मूल्य ९ हजार ५०० मात्रै पर्ने भएकाले कमजोर आर्थिक अवस्था भएकालाई समेत यो सेट किन्न असहज हुँदैन ।
साल्ट ट्रेडिङले चाडपर्वको अवसर पारेर सहुलियत मूल्य पसलसमेत शुरू गरेको छ । मोबाइल भ्यानसहितको सुविधा दिएको कर्पोरेशनले चिनी किलोमा ५, नुनमा २ तथा खानेतेल, चामल, चिउरा र पिठोलगायतमा ७ रुपैयाँको दरले छूट गरेको बताएको छ । कम्पनीले दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादनसहित ५० हजार क्विन्टल खाद्यवस्तु विक्री गर्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका चामल र दालमा प्रतिकिलो ५ रुपैयाँ छूट छ । यस्तै तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णालीका गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतमा प्रतिकिलो ७ रुपैयाँ छूटको व्यवस्था गरेको कर्पोरेशनको भनाइ छ ।