फुङ्लिङ । ताप्लेजुङको हवाई सेवा सञ्चालन हुँदै आएको एकमात्र विमानस्थल सुकेटारको हवाई उडान ठप्प भएको छ ।
चार महीना बन्द भइपछि चैत अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायुसेवा निगमको उडान जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन । निगमका ताप्लेजुङ स्टेशन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम शुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन् ।
प्रत्येक सोमवार र शुक्रवार नियमित हुने काठमाडौँ–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन् । इञ्चार्ज कार्कीले भने, “मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन । भिजिबिलिटी न्यून भएकाले सुरक्षाको दृष्टिकोणले उडान रोक्नुपरेको हो ।”
शुक्रवार ताप्लेजुङ–काठमाडौँ र काठमाडौँ–ताप्लेजुङ उडानका लागि ३/३ जना यात्रुले टिकट लिएका थिए । तर मौसम सुध्रिन नसक्दा उडान रद्द भयो । नियमित उडान नहुँदा जिल्ला आवतजावत गर्ने यात्रुको सङ्ख्या घट्दै गएको छ । टिकट लिएर पनि गन्तव्यमा पुग्न सकिने विश्वास नभएपछि यात्रुहरू सवारीसाधनको भरमा लामो दूरीको यात्रा गर्न बाध्य भएका छन् ।
वर्षायाममा बारम्बार उडान अवरुद्ध हुने समस्या दोहोरिएपछि यात्रुहरू वैकल्पिक र भरपर्दो यातायातको माग गर्दै आएका छन् । ताप्लेजुङको दुर्गम भूगोलमा हवाई सेवा जीवनरेखाजस्तै रहेकाले यस्ता समस्या समाधानका लागि दीर्घकालीन रणनीति आवश्यक देखिएको छ । रासस