सिन्धुपाल्चोक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उत्तरी नाका तातोपानीबाट ४५ हजार मतपेटिका भित्रिएका छन् । निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका ल्याउन निर्वाचन आयोगले बोलपत्र आह्वान गरेको थियोे । आयोगले ५५ हजार थान मतपेटिका खरीदका लागि बोलपत्र आह्वान गरेकोमा मुन्डक इन्टरनेसनल प्रालिले जिम्मा पाएको थियो । तातोपानी भन्सार कार्यालयबाट मतपेटिकाको ढुवानी भने सिल्क ग्रूपले गरिरहेको छ ।
‘हामीले अहिलेसम्म ४५ हजार मतपेटिका निर्वाचन आयोगमा पठाइसकेका छौं,’ सिल्क ग्रूपका प्रतिनिधि उमेश श्रेष्ठले भने, ‘चीनबाट नेपाल भित्रनेबित्तिकै छिटोभन्दा छिटो भन्सार जाँचपास गराएर निर्वाचन आयोगम पुर्याउने काम गरिरहेका छौं ।’ बिहीवारसम्ममा ५५ हजार मतपेटिका ढुवानी गरिसक्ने जानकारी उनले थिए ।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनका लागि पनि यही नाकाबाट मतपेटिका ल्याइएको थियो । ‘५५ हजार मतपेटिकामध्ये ४५ हजार मतपेटिका निर्वाचन आयोगमा पुगिसकेको छ,’ तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदय विष्टले भने, ‘थप १० हजार मतपेटिका भन्सारमा आइसकेका छन् । यो पनि ढुवानीको तयारी भइरहेको छ ।’